प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज (साेमबार) सत्ता गठबन्धनको बैठक बस्दैछ।
दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जित निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । चुनावी नतिजामा गठबन्धनका दलहरू सन्तुष्ट छैनन्।