‘नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व’

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व भएको बताएका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा समुद्घाटन समाराहोमा  बिहिबार उनले राष्ट्रिय सम्पदालाई अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सबै निकाय लाग्नुपर्नेमा जोड दिए।

कला, संस्कृतिको अध्ययन, अनुसन्धान र अन्वेषणमा कम खर्च रहेकाले अब बजेटको कम्तीमा पनि तीन प्रतिशत यस क्षेत्रको अध्ययन, अनुसन्धान र अन्वेषणमा खर्च गर्ने गरी व्यवस्था गर्न लागिएको सदस्य फुयाँलले जानकारी दिए। 

विगत वर्षमा कोरोना महामारीका कारण पनि यस क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्नुहुँदै उनले सांस्कृतिक क्षेत्रको विकासमा ठूलो बजेट चाहिने आवश्यकता महसुस गरिदिन सरकार तयार रहेको बताए। स्रष्टाको अनुभव र ज्ञानलाई पूँजीकृत गर्ने गरी कार्यक्रम ल्याउनुपर्नेमा पनि उनले जोड दिए। नेपाली मौलिक सभ्यताको पहिचान प्रवद्र्धनका लागि पनि अब कार्यक्रम बनाइने आयोगका सदस्य फुयाँलले बताए। 

प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले आधुनिक कला ग्यालरीको स्थापना गर्न लागिएको जानकारी दिए। नक्सालस्थित सीताभवन दरबारको नौ रोपनी चार आना तीन पैसा तीन दाम जग्गामा अत्याधुनिक ग्यालरी बनाउन लागिएको उनले बताए। 

 राष्ट्रिय विभूति अरनिकोको १७ फिट अग्लो पूर्ण कदको सालिक निर्माणका लागि बजेट अभाव भएर ७५ प्रतिशत काम सकिएर रोकिएको पनि कुलपति कर्माचार्यले जानकारी गराए। भूकम्पले क्षतिग्रस्त भवनको पुनःनिर्माण नसकिनु, कार्यालयमा आवश्यक मात्रामा कर्मचारी अभाव हुनु, प्रतिष्ठानका नियमावली समसामयिक संशोधन नहुनुजस्ता कारणले काममा प्रभाव परेको उनको भनाइ थियो।
 
नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले साहित्य र कलामा भेद नभएको बताए। प्रतिष्ठानका क्रियाकलापमा विज्ञान तथा प्रविधिलाई पनि मिसाउनुपर्ने धारणा उनले राखे। प्रज्ञा प्रतिष्ठानले पनि चालु आर्थिक वर्षमा धेरै पुस्तक प्रकाशन गरेको उल्लेख गर्दै कुलपति गुरुङले प्रतिष्ठानले आजैदेखि ती पुस्तकको प्रदर्शनी सुरु गरेको जानकारी दिए।

ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले यस क्षेत्रको प्रवद्र्धनका लागि काम गरिरहेको प्रतिष्ठानले प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्रीलाई चार वर्षपछि मात्र कार्यक्रममा पाएकामा खुसी व्यक्त गरे।  

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नाटक, नृत्य र वादन पनि ललितकला नै भएकाले ललितकला प्रज्ञा प्रतिष्ठानको छिमेकी बनेको बताए। अचल सम्पत्तिलाई उपयोग गरेर आंशिकरूपमा भए पनि आत्मनिर्भर बन्न तीन वटै प्रतिष्ठान लाग्नुपर्नेमा उनले जोड दिए। आत्मनिर्भर भएपछि ऐनअनुसार स्वायत्त पनि भइने उपकुलपति शर्माको भनाइ थियो। 
 
ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले आर्थिक वर्ष २०७८/२०७९ मा चालुतर्फ ९९.०८, पूँजीगततर्फ ८७.५६ र कार्यक्रमतर्फ ९९.३६ प्रतिशत गरी कुल ९७.२२ प्रतिशत प्रगति भएको जानकारी दिए। भूकम्पपछि प्रि–फ्याब भवनमा बसेर कार्यालय सञ्चालन गर्नुपर्दा केही कठिनाइ भएको उनले सुनाए।

प्रकाशित मिति: : 2022-12-01 17:32:00

प्रतिकृया दिनुहोस्