सुदिप बराल
भर्खरै सम्पन्न आम निर्वाचनको मतपरिणाम करिब करिब अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म प्राप्त मतपरिणाम हेर्दा शीर्ष दलका हेभिवेट भनिएका धेरै नेताले अप्रत्यासित पराजय भोगेका छन्।
त्यस्तै अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दा बढी निवर्तमान सांसदहरू पनि यस प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन्।
यो निर्वाचनमा पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीदेखि बहालवाला मन्त्रीहरूलाई समेत जनताले अनुमोदनमा रूची देखाएनन्। पूर्व प्रधानमन्त्री झलनाथ खनालदेखि बहालवाला गृह मन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठसम्मले हार बेहोरिसकेका छन्।
यस्तोमा ठुला भनिएका दलका सुप्रिमोका मुख्य विश्वासपात्रहरूसमेत सुरक्षित रहन सकेनन्। काँग्रेस सभापति शेरबहादुर देउवाका दाहिने हातका रूपमा लिइने देउवाका प्रियपात्र बालकृष्ण खाँण, एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महासचिव शङ्कर पोख्रेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र पार्टी महासचिव देव गुरूङलाई समेत जनताले पत्याएनन्।
देउवाका विश्वासिला खाँणलाई जनताको अविश्वास
सभापति देउवाका विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँण लामो समयदेखि देउवानिकट छन्। २०५९ सालमा नेपाली कांग्रेस फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेका देउवालाई खाँणले दरिलो साथ दिएका थिए। त्यो बेला तरूण दलका अध्यक्ष खाँणले सिंगो तरूण दललाई कांग्रेस प्रजातान्त्रिकमा ल्याएका थिए। देउवाले पनि खाँणलाई पार्टीमा केन्द्रीय सदस्य बनाएका थिए।
खाँणले देउवाको आदेश पालनामा कुनै विश्वास घात गरेका छैनन्। कांग्रेसको गत १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने निर्णय गरेका खाँणले देउवाको आग्रहमा उम्मेदवारी समेत दिएनन्। देउवाले कृष्णप्रसाद सिटौला गुटका प्रदीप पौडेललाई भागवण्डामा महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका थिए। खाँणले देउवाको आग्रह सहर्ष स्वीकारे।
पार्टी फुटदेखि एकीकरणसम्म देउवाको दाहिने हात भई इमान्दारिताका साथ देउवालाई साथ सहयोग गरिरहेका खाँणलाई देउवाले पनि खुसी बनाउन कुनै कसर बाँकी राखेका छैनन्। सधैं देउवाको पहिलो रोजाइमा पर्छन्।
२०७४ सालमा चौंंथो पटक प्रधानमन्त्री बन्दा रक्षा मन्त्री बनाएका देउवाले हालको मन्त्रीमण्डलमा खाँणलाई गृहमन्त्री समेत बनाए। देउवा सरकारलाई आम निर्वाचन गराउने जिम्मेवारीसमेत रहेकाले खाँणलाई गृहमन्त्री बनाउँदा विश्वसनीय हुने देउवाको सोचाइ थियो।
तर, देउवाले विश्वास गरेका खाँणलाई जनता विश्वास गरेनन्। प्रतिनिधिसभा सदस्यमा रूपन्देही क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गरेका बालकृष्ण खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरासँग २ हजार ६ सय ८१ को मतान्तरले पराजित भए।
ओलीका विश्वासपात्रलाई जनताको नकआउट
एमाले महासचिव शंकर पोखरेल अध्यक्ष ओलीका प्रियपात्र हुन्। पार्टीभित्र अरू नेताले ओलीको आलोचना गर्दा पनि ओलीको पक्षमा डटेर वकालत गर्ने नेता हुन् उनी।
पोख्रेल केपी गुटका प्रभावशाली नेता हुन्। यतिसम्म कि ओलीले दुई–दुई पटक संसद विघटन गर्दै संविधान कुल्चिँदा पनि पोखरेलले बलियो साथ दिएका थिए। जसको उपहारस्वरूप ओलीको कृपाले पार्टीका अरू वरिष्ठ नेताहरूलाई पन्छाउँदै पार्टी महासचिवसम्म बन्न पाए उनी।
एमालेको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका पोखरेललाई ओलीले दशौं महाधिवेशनमा कोटको खल्तीबाट महासचिव बनाइदिए। अध्यक्ष पछिको शक्तिशाली मानिने महासचिव बनाएर ओलीले अर्को महाधिवेशनबाट उनलाई अध्यक्षको जिम्मेवारी सुम्पिन खोजेको समेत चर्चा चलेको छ।
ओलीको विश्वास जितेकै कारण मुख्यमन्त्री भएका थिए उनी। नेकपा विभाजनको बेला राजधानीमै सक्रिय रहँदै ओलीलाई साथ दिइरहेका थिए। जस्तोसुकै परिस्थितिमा पनि साथ नछाडेका हुनाले उनी ओलीको सबैभन्दा विश्वासिलो बन्न सफल भए।
ओलीको मन जितेर राजनीतिक लाभ लिइरहेका उनले जनताको मन भने जित्न सकेनन्। दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी रेखा शर्मासँग १ सय ९६ को मतान्तरले पराजित भए।
प्रचण्डका विश्वासपात्रलाई जनताको अविश्वास
कुनै बेला माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरोधी खेमामा रहेका देव गुरूङ पार्टी विभाजनपछि मोहन बैद्य कित्तामा पुगे। दोस्रो संविधानसभा निर्वाचनमा गुरूङ प्रचण्डलाई हराउन लागिपरेका थिए। तर, उनै गुरूङ अहिले उही प्रचण्डको विश्वासपात्र बनेका छन्।
इमान्दार छवि भएका गुरूङ माओवादीमा फिर्तीपछि प्रचण्डको प्रियपात्र बन्न सफल भएका छन्। हाल उनले माओवादी केन्द्रको महासचिव बन्दै पूर्व महासचिव रामबहादुर थापा ‘बादल’को स्थान ओगट्न सफल भएका छन्।
कुनै गुट नबनाउने र गुटबन्दी नगर्ने स्वभावका गुरूङले आफूलाई धोका नदिने ठानेका प्रचण्डले गुटगत राजनीतिमा लिप्त भएका नेता जनार्दन शर्मा र वर्षमान पुनलाई साइड लगाउँदै पार्टी महासचिवको जिम्मेवारी थमाइदिए।
तर, प्रचण्डले विश्वास गरेता पनि गुरूङलाई जनताले विश्वास गरेनन्। प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवारी दिएका देवप्रसाद गुरूङ एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरूङसँग ३ हजार १ सय ९४ मतान्तरले पराजित भए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया