आम निर्वाचन : जुम्लामा कतै उत्साह, कतै निराशा

जुम्लाकाे चन्दननाथ-१० स्थिति कार्तिक स्वामी आधारभूत विद्यालयमा मतदान गर्न जाँदै गर्दा केही महिला दाउराकाे भारी बाेकेर घर फर्किँदै थिए।

उनी सबैलाई मंसिर ४ गते मतदान गर्ने दिन हाे भन्ने थाहा थियाे। तर मतदानभन्दा प्याराे काम भएपछि विस्तारै मत खसाल्न जाने उनीहरुकाे प्रतिक्रिया थियाे।

स्थानीय चुनाव जस्ताे मतदान स्थलमा भिडभाड नदेखेपछि चन्दननाथ-१० बाेहरा गाउँका हरिबहादुर नेपालीले खासै उत्साह नदेखिएकाे बताए। 'स्थानीय तहकाे निर्वाचनकाे बेला मतदाताहरुकाे लाइन ठुलाे थियाे। यतिबेला खासै छैन,' उनले भने।

दिउँसोकाे तीन बजेसम्म बारीमा हलाे जाेतिरहेका गुठीचाैर गाउँपालिका-५ देपालगाउँका पदमलाल नेपाली र उनकी श्रीमती पदमशिला नेपाली भाेट खसाल्नु भन्दा पनि घरकाे काम प्याराे भएकाे बताउँछन्।

घर नजिकै मतदान स्थल भएकाे हुनाले उस्ताे हतार नगरेका उनीहरुले भने, 'बारीमा जाै छर्ने काम भएकाे हुनाले हतार गरेनाैं। यहाँ सबैजसो मान्छे काम गर्दैछन्। काेही काम सकिएपछि हाल्न जाने र काेही मत हालेर काममा लागेका छन्।'

हामीले निरिक्षण गरेका अधिकांश मतदान स्थलमा मतदाताहरुकाे उत्साहजनक सहभागिता नभएपनि मतदातामा भने उत्साह छ।

उत्साहित मतदाता मध्येका एक हुन्, चन्दननाथ-३ खाेलीकाेटका लंक खत्री। भैंसी पालेर गुजारा गरिरहेका उनले सबै काम सकेर मतदान गर्न आएकाे बताए।

'याे हाम्रा लागि असल प्रतिनिधि चयन गर्ने समय हाे। धेरै पटक धेरै पार्टीका चुनाव चिन्हमा मतदान गरियाे। यतिबेला नयाँ अनुहार र युवा जनप्रतिनिधि चुन्ने गरी मत हाल्ने याेजना बनाएकाे छु,' उनले भने, 'काम गर्न सक्ने नयाँ मान्छेलाई मत दिने भनेर धेरैजसो मतदाताले भनेकाे सुनिन्छ।'

स्थानीय तहकाे निर्वाचनकाे बेला झडप भएर स्थगित भएकाे मतदान स्थल शंकर बहुउद्देश्यीय मावि गर्ज्रयाङ्काेटमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको वडा नम्बर तीनका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए।

'हाम्रो मतदान केन्द्रलाई संवेदनशील मानिएकाे थियाे। तर यतिबेला मतदाताहरु शान्तिपूर्ण रुपमा मत हालिरहेकाे देखिन्छ,' उनले भने, 'अहिले देशमा असल प्रतिनिधि चुन्ने लहर आएकाे छ। काम नगरेकाहरु नदाेहाेरिने र गर्न सक्नेले अवसर पाउनुपर्छ भन्ने खालकाे बहस चलेकाे छ।'

कनकासुन्दरी गाउँपालिकाका महेन्द्र हमालले सिंजामा उत्सापूर्ण मतदान भइरहेकाे बताए। सिंजा गाउँपालिका-६ काँडा गाउँका विवेन्द्र नेपालीले शान्तिपूर्ण रुपमा मतदान भइरहेको बिएल नेपाली सेवालाई जानकारी दिए।

तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा मतदाताहरु उत्साहित भएर मतदान स्थल पुगेकाे पत्रकारद्वय विजय रावत र सागर परियारले जानकारी दिए।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेकाे मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिए। उनका उनुसार हालसम्म जुम्लामा ५४ प्रतिशत मत खसिसकेकाे छ।

निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता रहेका छन्। जसमा निर्वाचन क्षेत्र (क) मा पुरुष १८ हजार ८ सय ७८  र महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार ७ सय ८३ जना रहेका छन्। यस निर्वाचन क्षेत्रमा चन्दनाथ नगरपालिकासहित तातोपानी, गुठिचौर र पातारासी गाउँपालिका रहेका छन्।

त्यस्तै निर्वाचन क्षेत्र (ख) मा पुरुष १६ हजार ८ सय २२ र महिला १५ हजार ३३ जना गरी जम्मा ३१ हजार ८ सय ५५ जना मतादाता रहेका छन्। जहाँ कनकासुन्दरी, सिंजा, हिमा र तिला गरि चार वटा गाउँपालिका रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार प्रदेश निर्वाचन क्षेत्र (ख) भन्दा (क) मा ४ हजार ९ सय २८ जना मतदाता बढी छन्।

प्रकाशित मिति: : 2022-11-20 16:32:00

प्रतिकृया दिनुहोस्