निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान

File photo
File photo

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आह्ववन गरेका छन्।

शनिवार दिउँसो निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रकारका सुरक्षा प्रबन्ध मिलाइसकेको र कुनै पनि डर, त्रास, धम्कीमुक्त भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका हुन्। उनले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताले मतदान गर्न सक्ने बताए।

उनले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त बनाउन सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी र सर्वसाधारणलाई आग्रह पनि गरेका छन्। निर्वाचन आचार संहिता कार्यान्वयनका लागि पनि आयोगले अनुगमन टोली र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। उनीहरूबाट प्राप्त विवरणमाथि अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ। 

त्यस्तै, निर्वाचनका दिन भोलि आइतबार सञ्चारकर्मी, पर्यटक बोकेको सवारी साधन र अत्यावश्यक सेवाका सवारी साधन चल्न पाउने आयोगको भनाइ छ। साथै ४ र ५ मंसिरमा आयोगको सिफारिसमा सार्वजनिक बिदा भएकाले सबै नागरिक मतदानमा सहभागी हुने आयोगको अपेक्षा छ।

आयुक्त थपलियाले मतदान अधिकृत, मतदानस्थलमा खटिएका कर्मचारी र मतदानमा खटिएका सुरक्षाकर्मीलाई अवान्छित गतिविधि हुन नदिन निर्देशन दिइएको पनि बताए। 

प्रकाशित मिति: : 2022-11-19 14:12:00

प्रतिकृया दिनुहोस्