ओलीले कार्यकर्तालाई भने : गच्छदारले बाकस साट्न सक्छन्, आँखा झिमिक नपार्नुस्

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका विजयकुमार गच्छदारको अब धाँधली गरेर चुनाव जित्ने दिनको अन्त्य भएको बताएका छन्। 

बुधबार सुनसुरीको दुहबीमा आयोजित एमालेको चुनावी सभामा सम्बोधन गर्दै ओलीले यसअघिका निर्वाचनमा गच्छदारले पटकपटक बाकस साटेर जितेको आरोप लगाउँदै अब त्यसो हुन नदिने बताए। 

गच्छदारले २०४८ को चुनावदेखि पटक पटक धाँधली गरेर सांसद बनेको उनले आरोप लगाएका छन्। 

‘गच्छदार २०४८ देखि बाकस साटेर चुनाव जित्दै आइरहेका छन्’, ओलीले भने, ‘यसपटक एक सेकेन्ड पनि बाकसलाई आफ्नो नजरबाट टाढा नबनाउनुस्, आँखा झिमिक नपार्नुस्, एउटा आँखा झिम्कियो भने अर्को खुल्ला राख्नुस्।’ 

राणा शासन, पन्चायत र राजा फालेर व्यवस्था परिवर्तन आफूहरु सधैँ लडिरहेको बताउँदै ओलीले भने, ‘अब सधैँजस्तो बाकस साटेर चुनाव जित्ने सपना गच्छदारले नदेखे हुन्छ, हामी त्यस्तो हुन दिँदैनौँ।’

गठबन्धनलाई लक्षित गर्दै ओलीले नेपाली कांग्रेसले सनपाटको लौरो टेकेर चुनावको बाढी तर्न खोजेको बताए। 

यस्तै उनले नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री हुँदा गरेको एउटा लोकप्रिय काम देखाउन चुनौती दिएका छन्। 

‘पाँच पटक प्रधानमन्त्री हुँदा एउटा काम देखाउनुस् शेरबहादुर जि, देश र जनताका लागि के गर्नुभयो ?’ ओलीले भने, ‘आफ्ना लागि गर्नुभयो होला, आफन्तका लागि गर्नुभयो होला तर एउटा देशका लागि गरेको काम देखाउनुहोस्।’

सुरक्षाकर्मीहरु राष्ट्रका सेवक भएको बताउँदै उनले सुरक्षाकर्मीहरू देशको सेवामा लाग्नुपर्ने बताए। निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने दायित्व सुरक्षाकर्मीको भएको उनले बताए।

प्रकाशित मिति: : 2022-11-16 16:50:00

प्रतिकृया दिनुहोस्