भूगोलका हिसाबले नेपालकाे सबैभन्दा ठूलो डोल्पा जिल्ला तीन भेगमा बाँडिएको छ। माथिल्लो, मध्य र तल्लो।
माथिल्लो भेग जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ। चीनको स्वसासित क्षेत्र तीब्बतको सीमाक्षेत्रमा पर्ने हुँदा त्यहाँ जीवनशैली तीब्बतसँग मिल्न जान्छ। भाषा, संस्कार–संस्कृति र रहनसहनले कहिकतै प्रभाव पारेकै छ। उपल्लो डोल्पामा चीनसँग जोडिएका 'क्याटो र मोरिम्ला' नाका हुन्।
अर्थ–व्यापारकाे मुख्य स्रोत जडिबुटी र पशुपालनमा निर्भर उपल्लो डोल्पा शैक्षिक हिसाबले मुनि देखिन्छ। सदरमुकाम दुनैदेखि ५–७ दिनसम्म उक्लिँनै लाग्ने उपल्लो डोल्पा राजनीतिक चेतमा पनि नै पछाडि छ।
पञ्चायतकाल देखिनै जिल्लाको राजनीतिक नेतृत्व मध्य र तल्लो डोल्पाले अँगालेकाे छ। आलोपालो 'सिस्टम' चलाउँदा उपल्लो डोल्पाले एउटा पनि मौका पाएकाे छेन। विगतदेखि हालसम्मका सबै निर्वाचनमा उपल्लो डोल्पाका हजाराैँ मतदाताहरू नेतालाई कुर्सीमा पुर्याउने सिँडीको रूपमा मात्रै प्रयोग भइरहेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय ग्याल्बो थापाकाे गुनासो छ।
'उपल्लो डोल्पाले संसदीय निर्वाचनमा कहिल्यै नेतृत्व पाएन। एउटा उम्मेदवारसम्म कुनैपनि पार्टीले पनि बनाएनन्। उपल्लो डोल्पाका जनता सधै नेतृत्वलाई कुर्सीमा पुर्याउने सिँडी बनिरहे,' थापाले भने, 'तल्लो र मध्य डोल्पाजस्तो उपल्लो डोल्पामा पनि राम्रा–राम्रा नागरिकहरू छन्। तर हाम्रो भोट सधैँ तलकै नेताहरूलाई चाहिन्छ। हाम्रो नेतृत्व मन नपर्ने रैछ।'
उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन्। डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ। तीनवटै पालिकामा कूल मतदाता ४ हजार १ सय ९२ छन्। शे–फोक्सुण्डा प्रदेश निर्वाचन क्षेत्र 'ख'मा पर्छ। डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिका 'क'मा पर्छ।
हरेक पाँच वर्षमा देशभर निर्वाचनकाे उत्साह छाउँछ। तर यहाँका उम्मेदवारहरू तल्लो र मध्ये डोल्पाका घरघरमा पुगेर मत माग्ने गर्छन्। आ–आफ्ना एजेण्डा प्रस्तुत गर्दै जनताका समस्या सुन्ने गर्छन्। तर उपल्लो डोल्पाका नागरिकले त्यो सौभाग्य प्राप्त गर्न सकेका छैनन्। निर्वाचन आउँछ, जान्छ। उम्मेदवार कहिल्यै पुग्दैनन्, भोट हाल्ने रैवार मात्रै पुर्याउँछन्।
'उपल्लो डोल्पामा थुप्रै समस्या छन्। खाद्यान्न उत्पादन हुँदैन। पुल–बाटाेघाटोको समस्या छ। सञ्चारको समस्या छ। विद्यालय–अस्पताल छैनन्। हामीहरूसँग भगवान्–भरोसामा जिउनुपर्ने बाध्यता छ। सामान ढुवानी गर्न सडक छैन। तीस किलो चामलको ९ हजारभन्दा धेरै रकम तिर्नुपर्छ। बिरामी हुँदा भाग्यले बचाउने हो। स्वास्थ्य चौकीमा सिटामोलसम्म पाईँदैन। नागरिक धेरै पीडामा बाँचिरहेका छन्,' माथिल्लाे डाेल्पाका स्थानीयहरू भन्छन्।
आफूलाई थाहा भएदेखि अहिलेसम्म कुनैपनि उम्मेदवारहरू घरदैलो अभियानमा नआएको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने रिग्मोका स्थानीय निमा गुरूङ्गले बताएका छन्। 'चुनावका बेला तल्लो डोल्पामा चुनावी चहलपहल छ। उपल्लो डोल्पामा न उम्मेदवार आउँछन्, न प्रचार सामग्री। न जनताको माग सुन्ने आफ्ना एजेण्डा प्रस्तुत गर्ने प्रतिनिधि आउँछन्,' गुरूङ्गले भने, 'तीन गाउँपालिकाका जनता उम्मेदवारका लागि पुल बने तर पुलमा हिँड्ने मौका कहिल्यै पाएनन्।'
डाेल्पामा एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्। हाल १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तर अहिलेसम्म उनीहरू उपल्लो डोल्पा नआएको छार्काताङ्सोङ गाउँपालिका–१ का वडाध्यक्ष धावा लाभाङ्गले बताएका छन्। 'घरदैलो अभियान सुरू भएर सकिने बेला भइसक्यो। गाउँघर सुनसान छ. स्थानीय पुजापाठ, विवाह, ब्रतबन्धन गर्दैछन्। उवा रोप्न, खेतबारी जोत्ने चाँजोपाँजो मिलाउँदै छन्। चुनाव आएको कुनै महसुस छैन, 'उनले भने।
धेरै दिन हिँड्नुपर्ने, अत्याधिक चिसो र ज्यान जोखिममा पर्ने समस्याले उम्मेदवाहरू उपल्लो डोल्पा नजाने गरेको जानकारहरू बताउँछन्। उपल्लो डाेल्पामा उम्मेदवार नपुगेकाे गुनासाे आइरहँदा प्रदेश 'ख'मा एमाले उम्मेदवार धनचन्द्र बैजी शे-फाेक्सुन्डाे गाउँपालिकामा पुगेका छन्। उनी भाेट माग्दै त्यहाँ पुगेका हुन्। यसअघि कुनैपनि पार्टीका उम्मेदवारहरू पुगेका छैनन्।
No candidates in these election constituency have visions and agendas from personal level but all form parties which seem unpractical, unsustainable , unproductive and unidirectional.