सानु शेर्पापछि अर्काे टाेली गाङछेँपो हिमालको चुचुरोमा (तस्बिरहरु)

BreaknLinks
BreaknLinks

चर्चित नेपाली पर्वतारोही सानु शेर्पा र लालबहादुर वाइबाले सिन्धुपाल्चोक तर्फबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण गरेको केही दिनमै अरु तीन जनाले पनि साे हिमालकाे चुचुराे चुम्न सफल भएका छन्।

नेपाली माउन्टेन गाइड रामकाजी ‘प्रयास’सहित गरिमा भोयजका अध्यक्ष रवीन्द्र अर्याल र न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसाे ११ बजे गाङछेँपोकाे चुचुराे चुमेका हुन्।

मोगानका महासचिवसमेत रहेका रामकाजीले क्याम्प- १ बाट सजिलैसँग ११ घण्टा लगाएर हिमालको चुचुरोमा पुग्न सफल भएको बिएल नेपाली सेवालाई सेटेलाइट फोनमार्फत् जानकारी गराए। नेपालको पर्वतीय क्षेत्रमा थप सफलता हासिल गरेको र नयाँ आरोहण गन्तव्य थपिएको उनको भनाइ छ।

टोलीद्वारा गाङछेँपो हिमालको रुट पत्ता लगाउँदै केही दिन अगाडि मात्रै आरोही सानु शेर्पा र लाल वाइबाले पहिलो पटक सिन्धुपाल्चोक तर्फबाट चुचुरोमा पुगेका थिए।

‘यसअघि पहिलो क्याम्पबाट करिब १२ घण्टा लगाएर नयाँ रुट खुलाउँदै हाम्रा दुई पर्वातारोही टोलीद्वारा सफतापूर्वक आरोहण गर्न सफल भएको छ,’ सेटेलाईट फोनमार्फत् आरोहण दलका संयोजक तथा मोगानका अध्यक्ष सञ्जीव गुरुङले भने।

‘बाटो सामान्य थियो, हाम्रो आरोही विना कुनै झन्झट सजिलै नयाँ रुट खुलाउँदै, चुचुरो पुग्न सफल भएकाे छ,’ उनले खुसी बाँडे।

इटालीका प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी'एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको एक टोली आरोहणको लागि ओक्टोबर २९ (शनिबार) त्यसतर्फ प्रस्थान गरेका थिए।

आरोहण दललाई सहयोग गर्न विश्वको १४ वटा ८ हजार मिटर हिमालको दोहोरो आरोही विश्वप्रसिद्ध नेपाली माउन्टेन गाइड सानु शेर्पा शेर्पाको साथ  रहेको थियो।

दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्य लिएर उक्त हिमालको रुट खुलाउने र आरोहण गर्ने योजना बनाएका गरिमा भोयज टुर्स एण्ड ट्राभलका संस्थापक रवीन्द्र आर्यालले बताए।

गरिमा भोयज र न्यू भिजन नेपाल संस्थाले संयुक्त रुपले सुरु गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्व सामु ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गर्न लागेको उनले जानकारी गराएका थिए।

गाङछेँपो हिमाल आरोहणको अभियान गरिमा भोयजले गरेका हुन् भने सम्पूर्ण ग्राउन्ड ह्याण्ड्लिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन)ले गरेको छ।

गरिमा भोयजको पहल गरिएको आरोहण अभियानलाई इटालीको एक प्रतिष्ठत मोन्टुरा आउटडोर कम्पनीद्वारा सहयोग गरेको छ।

त्यस्तै, अभियानलाई पाँचपोखरी थाङपाल गाउँपालिका, नेपाल पर्वातोरहण संघ, मोगानलगायत विभिन्न व्यक्ति तथा संघ-संस्थाको साथ रहेको छ।

आरोहण टोलीले काठमाडाैँदेखि मेलेम्ची हुँदै भोटाङसम्म गाडी यात्रा गरेका थिए। त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्याली हुँदै दक्षिण वेसक्याम्पसम्म पैदल यात्रा गरेका थिए।

अरोहण टोली काठमाडाैँबाट ६ दिनमा बेस क्याम्प पुगेका थिए। १० दिनमा बाटो पहिचान र रोप फिक्सिङ गर्दै गाइड सानु शेर्पा र लाल वाइबा चुचुराेमा पगेका थिए। १४ दिनमा चर्चित आरोही तथा नेपाल माउन्टेन गाइड सानु शेर्पाले दोहोर्‍याउँदै अन्य तीन आरोही गाङछेँपो हिमालको चुचुरो सफलतापूर्वक आरोहण गरेका हुन्।

प्रकाशित मिति: : 2022-11-13 13:31:00

प्रतिकृया दिनुहोस्