जनता समाजवादी पार्टी (जसपा) बाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएका अधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्।
आर्य सेवा समाजले नेपालगन्जमा आयोजना गरेको चुनावी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई जोगाउनका लागि यसपालिको मतदान निकै महत्वपूर्ण रहेको बताए।
‘अहिले हामी जे जति भएका छौं। जसरी हामीले राज्यका निर्णायक तहमा सहभागी हुने अवसर पाएका छौं ती सब हामीले गरेको मधेस आन्दोलनका उपलब्धि हुन्’, उनले भने, ‘एकथरि छन् हाम्रा यी उपलब्धिहरूलाई फेरि मेटाउनका लागि अहिले चुनावमा खडा भएका छन्। जसले हामीलाई फेरि उही दास बनाउन चाहन्छन् र आफू राजाको हैसियतमा रहन खोजिरहेका छन्।’
उनले समाजमा फेरि विभाजन ल्याउन र सामाजिक सद्भाव खलबल्याउने खालका मुद्दाहरू उठाएर प्रतिस्पर्धीहरूले मतदातालाई भ्रमित पार्न खोजेको भन्दै त्यस्ता भ्रमका पछि नलाग्न पनि मतदातालाई सम्झाए।
हरेक निर्वाचनले उम्मेदवारको मात्रै नभएर मतदाताको समेत विवेकको परीक्षा लिने भन्दै राईले यो निर्वाचनमा कस्ता उम्मेदवारलाई जिताउने निर्णय जनताकै हातमा रहेको पनि बताए।
‘यो तपाईं हामी सबैको विवेकको परीक्षा पनि हो। यो निर्वाचनको परीक्षामा हामीलाई कुनै पनि भुल गर्न छुट छैन’, उनले भने ‘हामीले सही विवेक गर्न भुल्यौं भने त्यसको परिणाम हामीले मात्रै होइन फेरि हाम्रा कैयौं पुस्ताले भुक्तान गर्नुपर्नेछ। पहिलो त हाम्रा अधिकारहरू फेरि खोसिनेछन्। र फेरि हामीमाथि शासन गर्नेहरू राजा हुनेछन्। अनि यहाँको विकास पनि वर्षौंपछि धकेलिनेछ।’
आर्य सेवा समाजका उपाध्यक्ष स्वामीदयाल कनोजियाको अध्यक्षतामा भएको उक्त अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले कैयौं दलित समुदायलाई राज्यले अझै सूचितकृत नगरेको भन्दै त्यसका लागि पहल गरिदिन उम्मेदवार राईसँग आग्रह गरेका थिए।
जवाफमा उम्मेदवार राईले आफू राज्यबाट पछि पारिएका यस्तै समुदायको पहिचान र अधिकारका लागि लडिरहेको भन्दै त्यसका लागि राज्यसँग फेरि पनि आवाज उठाउने बताए।
‘मैले त्यही हाम्रो पहिचान र अधिकार फेरि नखोसियोस् र अझ हामीले पाउनुपर्ने अधिकारहरूका लागि लड्न नै भोट मागिरहेको छु’, उनले भने, ‘आफ्ना वर्ग र समुदायको पहिचानमाथि हाम्रा पुस्ताले गर्व गर्नसक्ने र यहाँको समग्र विकासका लागि यसपालि हामीलाई भोट दिनुहोस् भनिरहेका छौं।’