राजनीतिमा युवा प्रतिनिधित्व बढाउन घण्टी बजाउँदै हिँडेकी छु: विनिता कठायत

BreaknLinks
BreaknLinks

२७ वर्षकी विनिता कठायत जुम्लाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बनेकी छिन्। चुनाव प्रचारप्रसारमा व्यस्त उनी राजनीतिमा युवाहरु आउँदा देश विकास हुने विश्वास राख्छिन्।

'राजनीति समाजसेवा हाे। तर हाम्राे नेतृत्वले सम्पत्ति कमाउनुलाई राजनीति सम्झिरहेकाे छ,' उनले भनिन्, 'हामीले भने अनुसारको राजनीतिलाई स्थापित गर्नका लागि जनताले वैकल्पिक शक्तिलाई मत दिएर सत्तामा पुर्याउन आवश्यक छ।'

उनी यसअघि ग्यालेक्सी फाे के टेलिभिजनकाे बहुचर्चित कार्यक्रम 'सिधा कुरा विथ रवि लामिछाने' टिमकी सदस्य थिइन्। त्यही बीचमा रवि लामिछानेले नयाँ पार्टी गठन गर्ने चर्चा भएपछि युवाहरु राजनीतिमा आउनुपर्ने ध्येयले उनी पार्टीमा लागिन्।

पार्टीकाे समानुपातिक बन्दसूचीमा उनकाे नाम सिफारिस भएपछि प्रचारप्रसारकाे लागि जुम्ला पुगेकी उनले जुम्लाको समग्र विकासका लागि सबै तहकाे शिक्षा र स्वास्थ्य उपचारको बन्दाेबस्त राज्यको दायित्व हुनुपर्ने बताइरहेकी छिन्।

'म जुम्ला आएकै दिनबाट जनताकाे घरदैलोमा गइरहेकी छु। जनताका छाेराछाेरीले राम्राे शिक्षा पाएका छैनन्। कति मान्छेहरु राेगी जस्ता देख्छु,' उनले भनिन्, 'उहाँहरुले नि:शुल्क शिक्षा, उपचार पाएकाे भए विकास आफैँ हुन्थ्यो।'

उनका अनुसार राज्यले शिक्षा नि:शुल्क दियाे भने राेजगारी दिने विषयमा बाध्य भएर साेच्नुपर्छ। उपचार नि:शुल्क भएमा देशकाे जनस्वास्थ्य राम्राे हुन्छ।

राज्यकाे आम्दानीकाे स्राेत नभएकाे अवस्थामा शिक्षा स्वास्थ राेजगारीकाे व्यवस्था राज्यले गर्न कसरी सम्भव हाेला? भन्ने प्रश्नमा उनले भनिन्, 'राजनीतिमा संलग्न नेताहरु धनी छन्। उनीहरु सात पुस्तासम्म पुग्ने सम्पत्ति थुपार्न लागिरहेका छन्। याे देशका जनता धनी छन् तर राज्य गरीब छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यकाे स्राेत बढाउने नीतिसहित अगाडि आएकाे हाे। याे सम्भव कुरा पनि हाे।'

उनले राज्यले औद्याेगिक विकास गर्‍यो, स्थानीय उत्पादन बढाउन प्राविधिक विकासमा ध्यान दियाे भने राज्यकाेष भरिँदै जाने उनकाे विचार छ। 'नेतृत्व जनता र देशप्रति इमान्दार भएकाे खण्डमा कम खर्चमा पनि धेरै कुराकाे व्यवस्थापन गर्न सकिन्छ,' उनले भनिन्।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी देश विकासका लागि राज्यकाे भूमिका बढी हुनुपर्ने, नेपालमा संघीयता उपयुक्त नहुने लगायतका मुद्दा लिएर चुनावी मैदानमा उत्रिएकाे छ।

चुनाव नजिकिँदै गर्दा स्थापना भएकाे पार्टीका सभापति रवि लामिछाने छन्। उनकाे लाेकप्रियता, पार्टीमा लागेका अन्य नेताहरु देश/विदेशमा अध्ययन गरेका, काम गरेर अनुभव बटुलेका छन्। उनीहरुका अनुभव र नेपालकाे आवश्यक अनुसार नीति बनाइने कठायतले बताइन्।

प्रकाशित मिति: : 2022-11-10 14:27:00

प्रतिकृया दिनुहोस्