भिडियाे कल गरेर अश्लीलता देखाउनेहरुबाट सचेत बनाैँ: साइबर ब्युराे

File photo
File photo

नेपाल प्रहरीकाे साइबर ब्युराेले पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमार्फत अश्लील क्रियाकलाप सँगै अपराधजन्य घटनाहरू बढ्दै गइरहेकाेले सेचत हुन आग्रह गरेकाे छ। ब्युराेले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रयाेग गर्दा सचेत हुन आग्रह गरेकाे हाे।

केही व्यक्ति तथा आपराधिक समूहले सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुलाई फ्रेण्ड रिक्वेट पठाएर भिडियाे कल गरी अश्लील क्रियाकलाप देखाउँदै अश्लील क्रियाकलाप गर्ने प्राेत्साहन गरी झुक्याएर भिडियाे रेकर्ड गर्ने र फसाउने गरेकाे पाइएकाे ब्युराेले बताएकाे छ।

‘फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी अपरिचित व्यक्ति आफैंले अश्लिल क्रियाकलाप देखाइ सम्बन्धित व्यक्तिलाई झुक्यानमा पारी उक्साई अश्लिल क्रियाकलापमा संलग्न हुने वातावरण बनाई भिडियो कलको रेकर्ड गरी तत्पश्चात साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु पछिल्लो समय धेरै नै बढ्दै गइरहेका छन्,’ ब्युराेले विज्ञप्तिमा भनेकाे छ।

त्यस्ता अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा आत्मीय साथी बन्ने र लाेभ लालच देखाउँदै बैंक खाता खाेल्न लगाउने र अपराधिक गतिबिधिमा प्रयाेग गरेकाे पाइएकाेले सचेत हुन प्रहरीले आग्रह गरेकाे छ।

‘सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो क्रियाकलापप्रति सजग रहन तथा अपरिचित आईडी वा ह्वाट्सएप, भाइबरलगायतका नम्बरबाट कुनै पनि कल आएमा त्यस्ता आईडी र अपरिचित कलहरु एक्सेप्ट वा रिभ्यु नगर्न हुन जनचेतनाको लागि सबैमा अनुरोध गरिएको छ,’ ब्युराेकाे विज्ञप्तिमा भनिएकाे छ।

ब्युराेले यस्ता गतिबिधिहरूमा काेही संलग्न भएकाे पाइएका प्रहरीलाई खबर गर्न भनेकाे छ।

प्रकाशित मिति: : 2022-11-09 17:34:00

प्रतिकृया दिनुहोस्