नेकपा (एकीकृत समाजवादी)का जुम्ला जिल्ला सह इन्चार्ज तीर्थ बुढाले तत्कालीन जिल्ला इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकट नपाएकाे झाेकमा पार्टी छाडेको बताएका छन्।
मंगलबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ति जारी गर्दै बुढाले भने, 'टिकटका लागि तत्कालीन इन्चार्ज देविलाल थापाले आफू हुनुपर्ने माग राखेका थिए। टिकट नपाउँदा स्खलित हुनुभएको हाे।' समाजवादी केपी ओलीकाे प्रतिगामी शैली र संविधान विराेधी प्रवृत्तिकाे विरुद्धमा विद्राेह स्वरुप निर्मित पार्टी भएको बताउँदै उनले भने, 'पार्टी एमालेमा समायोजन हुनकाे लागि जिल्ला समितिकाे बैठक हुनु पर्दैन? कुन आधारमा समायोजन भएकाे भन्ने?' हिजो केपी ओपीलाई प्रतिगमनकारी भन्नेहरु नै एमाले पार्टीमा प्रवेश गरेको बुढाकाे आरोप छ।
उनले कार्यकताहरुलाई विचलित नभई वैचारिक रुपमा स्पष्ट समाजवादी पार्टीको विचार र सिद्धान्तमा अडिक रहन अपिल गरेका छन्। कर्णाली प्रदेशका भाैतिक पुर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर राेकायाले वर्तमान समयमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउनकाे लागि सम्पूर्ण कमिटीलाई लामबद्ध भएर लाग्न अनुरोध गरे। 'एमालेबाट विद्रोह गरेर समाजवादी पार्टी निर्माण गर्दा बहुमत थियौं,' उनले भने, 'अहिले दुई चार जना विचलित भएरका मात्रै हुन। समग्रमा हामी बहुमतमै छौं।'