सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर–२ को घोषणापत्र सार्वजनिक गरेको छ।
काठमाडौं–२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले मंगलबार घोषणापत्र सार्वजनिक गरेकी हुन्।
स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर घोषणापत्र सार्वजनिक गरिएकाे छ।
घोषणापत्रमा पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने उल्लेख गरिएकाे छ।
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावत व्यवस्था मिलाउने घर्तीले बाचा गरेकी छन्।
'तीनकुने मुआब्जा समस्या समाधान गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने। स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वयनकर्ताको भूमिका निर्वाह गरी फोहर र ढल व्यवस्थापन गर्ने,' उनको घोषणापत्रमा लेखिएको छ, 'साँखु –फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने। साँखु–बज्रयोगिनी–घुमारचोक– डाँडाकटेरी–चौकी भज्याङ–धारापानी–पटाप–कुण्डेश्वर–सिन्धुपाल्चोक सडक निर्माणलाई पूर्णता दिने। इन्द्रायणीसाना गाउँ–भुल्बु–घुमारचोक–मणिचूड–चिसापानी सडक स्तरोन्नती गर्न पहल गर्ने। यस क्षेत्रका बाटो नपुगेको ठाउँमा नयाँ बाटो र पुगेको ठाउँमा मर्मत सम्भार तथा पिच गर्ने।'
यसैगरी जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने उनले प्रतिबद्धता गरेकी छन्।