कपिलवस्तु-३ : अभिषेककाे साथमा कनौडिया र एहसान

पहिलो संविधान सभाताका देशको सबभन्दा कान्छो सांसद जित्ने अभिषेक प्रताप शाह यतिबेला कपिलवस्तुमा फेरि आफ्नो लहर देखाउन कम्मर कसेर लागेका छन्।

शाहको निर्वाचन क्षेत्र कपिलवस्तु क्षेत्र नम्बर ३ हो। नेपाली कांग्रेसका उनी चुनाव जित्न सक्ने आशा लाग्दा अनुहार हुन्।

शाहको क्षेत्र नं. ३ मा उनीसँगै वाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा-१ मा माओवादीबाट एहसान अहमद खाँ छन्। उता शाहकै क्षेत्र नं.३ प्रदेश-२ मा प्रदेश सदस्यका अर्का बलिया उम्मेदवार वीरेन्द्र कनौडिया साथमा छन्।

कनौडियाले २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार जावेद आलम खाँलाई ६ सय ४२ मतान्तरले पराजित गरेका थिए। कनौडियाले ६ हजार ६ सय ७९ मत प्राप्त गरेका थिए।

२०७४ सालमा कांग्रेस प्रवेश गरेका शाहको परिवार राजनीतिमा अब्बल दर्जाको हो। यतिबेला शाहलाई चुनौती दिइरहेका छन्, नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ताले। तर शाह आफूलाई कुनै चुनौती अनुभव नभएको बताउँछन्।

शाह भन्छन्, ‘वाम गठबन्धन हुँदा त उनीहरुले जितेका होइनन्, अब जित्ने कुनै सम्भावना नै छैन। तर म विपक्षीलाई सम्मान गर्छु। चुनाव लड्ने अधिकार संविधानले दिएको छ।’

वी.पी.कोइरालाको वि.सं.२०१५ सालको मन्त्री मण्डलमा अभिषेकका परिवारका सदस्य अर्थ सहायक मन्त्री भएका थिए, शिवप्रसाद शाह। उनको कांग्रेस साइनो पुरानो हो।

कपिलवस्तुबाट लगातार ३ पटक संविधान सभा र प्रतिनिधिसभा चुनाव जितेको रेकर्ड बनाएका शाह फेरि चुनाव जित्ने रेकर्ड सुरक्षित गर्ने प्रयासमा छन्।

आफूलाई समाजवादी आन्दोलनबाट प्रभावित भएको बताउने शाह अर्थ र समाजवादी विषयलाई आफ्नो अध्ययनको रुचिमा राख्दछन्।

शाहलाई उनको निर्वाचन क्षेत्र ३ को १ मा अर्कातर्फ गठबन्धनबाट माओवादीका एहसान अहमद खाँले साथ दिइरहेका छन्। खाँलाई टक्कर दिइरहेका अर्जुन के.सी. २०७४ मा वाम गठबन्धनबाट प्रदेशसभा सदस्य हुन्।

उनी एमालेबाट प्रतिस्पर्धा गरिरहेका छन्। उनी गएको निर्वाचनमा ९ हजार ४३ मत पाएर विजयी भएका थिए। उतिबेलाको राजपाका रविदत्त मिश्रले ८ हजार १ सय ९७ मत पाए पनि पराजित भए।

कुल १ लाख १५ हजार छ सय ४३ मतदाता रहेको कपिलवस्तुको क्षेत्र नं.३ मा यो पटक जित निकाल्ने प्रयासमा गठबन्धनबाट सफलता हासिल गर्ने स्थानीय तहको कांग्रेसको आँकलन छ।

माओवादी र कांग्रेसको साथ लिएर एकिकृत समाजवादीको समेत मत पाउने रणनीतिमा कपिलवस्तु क्षेत्र नं.३ मा चुनावी प्रतिस्पर्धा चलिरहेको छ। कपिलवस्तु क्षेत्र नं. ३ को १ प्रदेशसभामा १९ जना र क्षेत्र नं. ३ कै प्रदेशसभा २ मा २५ जना उम्मेदवार चुनावमा उत्रिएका छन्।

प्रकाशित मिति: : 2022-11-08 15:33:00

प्रतिकृया दिनुहोस्