मोरङ-६ : सदन प्रवेशकाे कसरतमा शेखर

BreaknLinks
BreaknLinks

अरुबेला सुनसान जस्तै रहने ऐतिहासिक कोइराला निवास हिजोआज व्यस्त छ। आस्थाको शिर झुकाएर कोइराला निवास प्रवेश गर्नेहरुको लर्को छ। कोशी अञ्चल अस्पतालको पश्चिमपट्टी साक्षात ठडिएको यो निवासमा डा. शेखर कोइरालाको चुनावी रणनीति बनिरहेको छ।

पहिलो पटक कोइराला निवासको आँगनमा टेक्नेहरु आफ्नो पैताला मुनिको माटो उठाएर शिरमा लगाउँदै भित्ताभरी टाँगिएका तस्बिरहरुमा ढोगिरहेका छन्। साथै डा. कोइरालाको विजयीको कामना गरिरहेका छन्।

नेविसंघ पूर्वअध्यक्ष रंजित कर्ण भन्छन्, ‘यो निवास प्रजातन्त्रको जग हो। पवित्र मन्दिर हो। कृष्णप्रसाद, वीपी, जीपी र अब डा. शेखर, डा. शंशाक र सुजाता दिदीले यसको विरासत धान्नुहुन्छ। इतिहास जोगाउनु हुन्छ। यसपालि जनमत उहाँहरुको पक्षमा आउनेमा हामी ढुक्क छौं।’

डा.शेखरले यही निवासको आँगनमा टेन्ट टाँगेर सचिवालय बनाएका छन्। कार्यकर्ता यहीँ बसेर चुनावी कार्यक्रमहरु तयार गरिरहेका छन्।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. कोइराला र एमालेबाट लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी हुन्। कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयलाई निरन्तरता दिने मोडमा छन्। तर उनी ढुक्क भने देखिएनन्।

किनकि, २०७४ को चुनावमा कोइरालालाई ६७५ मतान्तरले मात्र पराजित गरेका थिए। वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाउँदा डा. कोइरालाले भने ३३ हजार २६६ मत पाएका थिए। 

सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेशसभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए। यस पटक डा. कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित सशंकित देखिन्छन्।

मुलुकको तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा. शेखर भावी प्रधानमन्त्रीको दौडमा नभइ सदन प्रवेशको कसरतमा रहेको बताउँछन्।

‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु। मोरङबासी मात्र नभइ मुलुककै समृद्धिको पक्षमा छु। राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प छ’, डा.कोइरालाले भने, ‘यस पटक हामी एक छौं। गठबन्धन एकढिक्का छ। मोरङबासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ। अवसर प्रदान गरेर आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न मंसिर ४ कुरिरहेका छन्। मलाई रोज्न आतुर छन्।’

आफ्नाको डर र भर

उम्मेदवारको टिकट वितरणमा भएको विभेद र भागबन्डाको असर तल्लो तहका कार्यकर्तासम्म पुगेको छ। नेपाली कांग्रेस, नेकपा एमालेलगायतका शीर्ष दलभित्र असन्तुष्टि छ। मोरङ क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पण्डितप्रति एमालेको शीर्ष नेतृत्व नै सन्तुष्ट छैन।

पण्डितले टिकट पाएपछि कार्यकर्ता विभाजित अवस्थामा छन्। तर पण्डित यसलाई स्विकार्दैनन्। ‘पार्टीभित्र कुनै विवाद छैन। असन्तुष्टि छैन। सबै एक भएर भोट मागिरहेका छौं। बाहिरको हल्लामा सत्यता छैन,’ उनले प्रष्ट पार्दै भने।

यता नेपाली कांग्रेसमा टिकट वितरणका बेला केही रस्साकस्सी र विवाद देखिएको थियो। अन्यभन्दा बलिया र सक्रिय देखिएका डा. कोइराला निर्विकल्प क्षेत्र नम्बर ६ को उम्मेदवार भएकाले आकांक्षीहरुले धेरै कसरत नै गरेनन्।

सत्ता गठबन्धनका तर्फबाट मोरङमा निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी पाएका नागेश कोइराला भन्छन्, ‘सुरुआतीमा केही असन्तोष पैदा भएको हो। अहिले सबै व्यवस्थित भइसक्यो। सबै एक भएर घर दैलो गरिरहेका छौं। गठबन्धनभित्रका दलका नेता/कार्यकर्ता पनि कोही विभक्त हुनुहुन्न। सशक्त भएर अघि बढेका छौं।’

एजेन्डाका कुरा

६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा क्षेत्र रहेको मोरङमा विकासका ठूला योजनाहरु अधुरै छन्। भूमिहीन र सुकुम्बासीका समस्या विकराल देखिन्छन्। मोरङबासीका आधारभूत आवश्यकता र विकासका योजनासहित उम्मेदवारहरु चुनावी मैदानमा छन्। डा. कोइरालाले संकल्प पत्र सार्वजनिक गरिसकेका छन्। 

पण्डित पनि बितेका वर्षहरुमा सबैभन्दा धेरै आफूले काम गरेको दाबी गरिरहेका छन्। उनी भन्छन्, ‘विगतमा गरिएका ठुला काम जारी छन्। धेरैवटा सम्पन्न भएका छन्। कतिपय कोरोनाका कारण बजेट फ्रिज भएर गए।’

डा. कोइरालाले मोरङको मात्र नभइ सिंगो मुलुकको समृद्धि र विकाससहितको खाका अघि बढाएका छन्। उनले संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प’ सार्वजनिक गरेका छन्।

उनले क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। युवा बेरोजगारीको समस्या समाधान साथै ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउने डा. कोइरालाको संकल्प छ।

आफ्नो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको उल्लेख गर्दै उनले अब विविधताबीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सद्भावलाई संरक्षण गर्दै क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउने बताएका छन्।

डा. कोइरालाले गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने, विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र संचालनमा ल्याइने साथै विराटनगर चक्रपथको काम सम्पन्न गरी यथासक्य छिटो संचालनमा ल्याउने संकल्प गरेका छन्।

मतभारको अन्तर

मोरङका ६ वटै निर्वाचन क्षेत्र विगतदेखि नै नेपाली कांग्रेसको एकछत्र थियो। तर राजनीतिक परिवर्तन र दलहरुमा देखिएको अन्तरकलहले कतिपय स्थानमा ठूला दलहरु कमजोर बन्दै गए र नयाँ दलहरुले हिस्सा ओगट्दै गए।

तर २०७९ मा आइपुग्दा कांग्रेले पुरानो विरासत जोगाउन सक्ने संकेत गरेको छ। २०७० सालको संविधानसभा चुनावमा मोरङ नौवटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सिट मात्रै विजयी भएको थियो।

यसपालि कांग्रेसले लिएका चार निर्वाचन क्षेत्रमा सशक्त प्रदर्शन गरिरहेको छ। मतदाताहरुमाझ बलियो उपस्थिति जनाइरहेको छ। एमालेले पनि बेग्लै माहोल ल्याएको छ। उसले आफूलाई बलियो दाबी गरिरहेको छ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं. ६ अन्तर्गत रहेका सुन्दरहरैँचा, बुढीगंगा र विराटनगरका २० वटा वडामा नेपाली कांग्रेसले १२ वटामा जित हासिल गरेको छ।

एमाले पाँच वटामा खुम्चिएको छ भने माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक वडामा विजयी हासिल गरेका छन्। यहाँ एमालेलाई जसपाको समर्थन छ भने कोइरालालाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपालगायतको समर्थन छ।

वडागत रुपमा कांग्रेसले २८ हजार ४३८, एमालेले २५ हजार २३६, माओवादी केन्द्रको ५ हजार ३५६, एकीकृत समाजवादीले २ हजार ३६९, जसपाले ३ हजार ९४९ मत ल्याएका थिए।

एमाले–जसपाको मत २९ हजार १८५ हुँदा कांग्रेस–माओवादी र एकीकृत समाजवादीको मत ३६ हजार १६३ हुन्छ। सत्तारुढ गठबन्धन ६ हजार ९७८ मतले अघि देखिएको छ।

गठबन्धनभित्र इमानदारी र कांग्रेसभित्र अनुशासन कायम रहे कांग्रेसका डा. शेखर कोइरालाले बाजी मार्ने निश्चित जस्तै छ। अर्कातर्फ पंडितलाई पनि एमाले–जसपा गठबन्धनको पूरै भोट जाने सम्भावना पनि कमै छ। आन्तरिक विवादसँगै अन्तर्घातको बाछिटा यो गठबन्धनमा पनि छ।

एमाले मोरङ ६ को प्रदेश सभामा पर्शुराम बस्नेत (कृष्ण) र रिता न्यौपाने उम्मेदवार छन्। सत्ता गठबन्धनले भने ’क’ मा जीवन आचार्य र ’ख’ मा प्रदेश मन्त्री कांग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: : 2022-11-08 11:59:00

प्रतिकृया दिनुहोस्