उदयपुरमा नमुना मतदान, ११५ मत खस्दा १४ बदर

आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उदयपुरमा नमुना मतदान गरिएको छ।

निर्वाचनमा मत बदर हुन नदिन बुधबार चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान गरिएको हो।

निर्वाचन आयोगको निर्देशन र कार्यतालिकामा विभिन्न स्थानीय तहमा छुट्टाछुट्टै नमुना मतदान कार्यक्रम गर्नुपर्ने निर्णयअनुसार पालिकाहरुमा नमुना मतदान कार्यक्रम गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए।

नमुना मतदानमा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, पालिकाका प्रमखु-उपप्रमुख, वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे अभ्यास गराइएको कोइरालाले बताए।

नमुना मतदानमा चौदण्डीगढीमा ५७ र बेलाका नगरपालिकामा ५८ जनाले मतदान गरेका थिए। जसमा चौदण्डीगढी ६ र बेलकामा ८ मत बदर भएको प्रमुख कोइरालाले जानकारी दिए।

दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेको उदयपुरमा २ लाख २८ हजार ९ सय ४६ मतदाता छन्। जिल्लामा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-03 11:19:00

प्रतिकृया दिनुहोस्