निर्वाचनकाे १५ दिनअघि र मतगणना नसकिएसम्म मदिरा किनबेचमा राेक

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा राेक लगाइएकाे छ।

निर्वाचन आचारसंहिताकाे विषयबारे छलफल गर्न बसेकाे सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा राेक लगाउने निर्णय गरेकाे हाे।

शान्ति सुरक्षा कायम गर्न यस अवधिभर मदिरा बेचबिखन तथा सेवनमा रोक्ने लगाउने  निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन्।

यस्तै, चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासमा आमसभा, नारा जुलुस, भीडभाड नगर्ने नगराउनेलगायत विषयमा निर्णय भएकाे छ।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद गौतमको उपस्थितिमा बसेको बैठकले निर्वाचनमा समन्वय सहकार्य गर्नेदेखि विभिन्न निर्णय गरेको छ। बैठकमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताको बिषयमा जानकारी दिए।

यसैगरी १८ कात्तिकदेखि १ मंसिरसम्म प्रचारप्रसार र विभिन्न कार्यक्रम गर्न पाइने निर्वाचन आयोगको निर्देशन रहेकाे निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ। त्यस अवधिमा आमसभा, कोणसभा, जुलुस गर्न पाए पनि १ मंसिरपछि गर्न पाइने छैन्। यसैगरी २५ भन्दा बढी मानिस भेला हुन नपाउने आचार संहितादेखि  मतदान केन्द्र, कर्मचारी खटनपटनको विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: : 2022-11-01 15:59:00

प्रतिकृया दिनुहोस्