राप्रपाको घाेषणापत्र : राजादेखि गाँजासम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य र न्याय निःशुल्क गर्ने देखि चिकित्सकीय प्रयोजनका लागि गाँजाको उत्पादन तथा प्रयोग सम्बन्धी आवश्यक कानून निर्माण गर्ने सम्मकाे घाेषणा गरेकाे छ।

राप्रपाले नेपाललाई वि.सं. २०८७ सम्ममा मध्यम आयस्तर भएको मुलूकमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।

त्यस्तै शासकीय स्वरुपमा अभिभावकीय रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी गरी केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना, पूर्ण समानुपातिक संसद र नेपाललाई वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र बनाउने एजेण्डा अघि सारेको छ।

सुशासनका लागि ‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने नारा तय गरेको राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ साल पछिका उच्चपदस्थ नेता तथा  कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानून बनाउने प्रतिबद्धता गरेको छ।

सबै प्रकारका असमान सन्धि सम्झौताहरुको संसोधन तथा खारेजीका लागि आवश्यक कुटनीतिक प्रयास गर्ने, एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने, राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने, नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पूनर्जीवित गर्नेजस्ता विषयलाई राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा समेटेको छ।

राप्रपाको घोषणापत्रमा पाँच वर्षभित्र आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा धेरै पुर्‍याउने, ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्ने, वार्षिक २५ लाख पर्यटक भित्र्याउने, थप ३५०० किलो मिटर ४ लेनको राजमार्ग निर्माण गर्ने, महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गर्ने, ‘एक परिवार एक रोजगार’ अवधारणा कार्यान्वयन गरिने, न्यून आय भएका सुत्केरीलाई तिन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने सम्मका आश्वासन छन।

त्यस्तै ‘एक पटकको नेपाली सँधैको नेपाली’ भन्दै गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने आश्वासन समेत दिएको छ।

सबै जिल्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोडने र विद्युत उपयोग बढाउन उद्योग, विद्युतीय सवारी साधन, खाना पकाउने र सिँचाइ प्रयोजनमा सहुलीयत दरमा विद्युत उपलब्ध गराउने राप्रपाको घोषणापत्रमा उल्लेख छ।

राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पूनर्जीवित गर्ने, असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणा गरेको छ।

राप्रपाले काठमाडौँको बानेश्वर ब्याङ्केटमा गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए।

प्रकाशित मिति: : 2022-10-31 19:05:00

प्रतिकृया दिनुहोस्