प्रदेशको नामाकरण र राजधानीका विषयमा भएको मतदानपछि २०७७ साल असोज २१ गते प्रदेशसभा बैठकमा आफ्ना भनाइ राख्दै वीरेन्द्र कनौडियाले भनेका थिए, ‘सरकारले जर्वजस्ती गर्यो, हामी दुःखी छौं।’
कनौडियाले प्रदेशसभामा आफ्नो भनाइ राख्दै थपेका थिए, ‘प्रदेशसभामा उत्पन्न परिस्थिति संसदीय मर्यादाविपरीत थिए।’ उनको यो भनाइ त्यतिबेला आएको थियो, जतिबेला प्रदेशको राजधानी र प्रदेशको नामाकरण भइरहेको थियो।
यतिबेला उनै कनौडिया प्रदेशसभाबाट जनताका हितमा कानुन बन्नुपर्ने मुद्धालाई स्थापित गर्न कपिलवस्तु क्षेत्र नं.३ प्रदेशसभा ‘ख’ बाट दोस्राे पटक प्रदेशसभा सदस्यका उम्मेदवार छन्।
वीरेन्द्र कनाैडियाको ५ वर्षको कार्यकालको हिसाबकिताब यस क्षेत्रका मतदाताहरु उनले गरेको कार्य प्रगति तथा आगामी वर्षहरुमा लागु गरिने कार्यक्रमहरुलाई लिएर नुक्कड सभामा चर्चा गरिरहेका भेटिन्छन्।
कांग्रेसका संसदीय दलका नेता बलदेव शर्माको निधनपछि २०७७ सालमा कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेताका रुपमा कनौडियाले काम सुरु गरेका थिए। उतिबेला प्रमुख विपक्षी दलको नेताको तहमा प्रदेशसभामा जन सरोकारका विषयमा उनले काम गरे।
चुनावी भेटघाट तथा छलफलमा उम्मेदवार कनौडियाले आफू किसान वर्गलाई कृषि उत्पादन र जीवनयापन गर्न सहज हुने कानुन निर्माण गर्ने विषयमा सधैँ केन्द्रित रहेको बताउँछन्।
कृष्णनगर नगरपालिकाकी दलित महिला सदस्य तिर्था देवी धरिकर भन्छिन् ‘कनौडियाजी यहाँका जनतालाई जसरी भएपनि सजिलो होस् भन्ने सोचेर काम गर्नुहुन्छ।’
कपिलवस्तु क्षेत्र नं.३ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका नेता गठबन्धनका उम्मेदवार कनौडियाको चुनावी रथ यतिबेला टोल टोलका नुक्कड सभा, चिया पसल र खेतबारीमा चर्चाको विषय बनिरहेको छ।