इतिहासमा पहिलाेपल्ट सिंजा वा पान सय दरामध्ये एकलाई पहिलो हुने अवसर

BreaknLinks
BreaknLinks

पञ्चायतकालमा हरिश्चन्द्र महत र अदनसिंह कठायतकाे राजनीति फाप्याे। उनीहरु कहिले कट्टर प्रतिस्पर्धी जस्ता देखिन्थे भने कहिले आपसमा मिल्थे। जे हाेस् पञ्चायत खाने नेता थिए, उनीहरु।

लामाे समय जुम्लाकाे राजनीतिमा आफ्नाे दबदबा कायम राखेका उनीहरुमध्ये कठायत बजार र साविककाे महत गाविसका थिए। जुम्लाकाे राजनीतिलाई सदैव खलंगा बजार र महत गाविसले नै नियन्त्रण गर्‍यो। जनता उनीहरुका बगलीका जस्ता थिए।

२०१५ सालमा जुम्ला क्षेत्र नं. ७३ मा भिमप्रसाद श्रेष्ठ र क्षेत्र नं. ७४ मा जयबहादुर महत दुवै स्वतन्त्र भएर चुनाव जिते। पछि भिमप्रसाद श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरे। पहिलो संसदमा प्रतिनिधित्व गर्ने उनीहरुमा श्रेष्ठ खलंगा बजार र जयबहादुर महत गाविसका थिए।

हरेक निर्वाचनमा खलंगा बजार र साविककाे महत गाविस छुटेनन्। कुनै न कुनै काेणबाट यी दुई ठाउँकाे प्रतिनिधित्व भइरह्यो। जसकाे लामाे शृङ्खला छ।

लामाे समय बहुदल निर्दल गर्दै समय गयाे। पञ्चायतमा भएकाे निर्वाचनका उम्मेदवार पनि खलंगा र महत गाविसकै भए। २०४८ सालकाे निर्वाचनमा डिल्ली महत इतिहासमा लाेकप्रिय मतका साथ विजयी भए। नेमकिपाबाट विजयी उनी पछि एमाले प्रवेश गरे। बहुदलीय व्यवस्था प्राप्तिकाे लडाइँ जितेपछि जुम्लामा कम्युनिष्ट पार्टीकाे किल्ला भनेर चिनियाे।

पञ्च, कम्युनिष्ट, कांग्रेस जाे भएपनि खलंगा र महत गाविस छुटेन। उसाे त हरेक क्षेत्रमा बजार र बजार आसपास नै हावी हुन्छ। कर्मचारीतन्त्रमा राम्राे पकट र बजार आसपास भइकन पनि साविककाे कार्तिस्वामी गाविसकाे राजनीतिमा हालसम्म पहुँच हुन सकेकाे छैन।

डिल्ली महत पछि भन्नु र प्रजातन्त्र प्राप्ति पछि भन्नु उस्तै हाे। त्यसयता २०७४ सम्मकाे चुनावी शृङ्खला हेर्दा उम्मेदवार हुने तथा चुनिने खलंगा र महत गाविसकै देखिन्छन्।

२०५१ सालमा महत गाविसका भक्तबहादुर राेकाया निर्वाचित भए। उनी नेमकिपाका थिए। नेमकिपाले लगातार दाेस्राे पटक चुनाव जितेर इतिहास रच्याे। त्यसपछि कुनै पनि पार्टीले लगातार दुई पटक चुनाव जितेकाे इतिहास छैन।

नेमकिपाले इतिहास रच्ने चुनावमा कांग्रेसले इतिहासमा पहिलो पटक सिंजाका लाल हमाललाई टिकट दिएकाे थियाे। नेमकिपा घट्दाे शक्ति भएकाे बेला सिंजाली जनता उनकाे पक्षमा भएनन्। त्यसमाथि कांग्रेसकै वरिष्ठ नेताहरु मिलेर ललिजंग शाहीलाई बागी उम्मेदवार बनाए। परिणाम कांग्रेसका दुबै उम्मेदवारले हार्नुपर्‍यो।

त्यसबेला विपक्षीले एउटा नारा लगाए। नाराकाे अनुप्रास यस्ताे थियाे: लिलित र लाल, कांग्रेसका काल!

२०५६ सालमा महत गाविसकै देवीलाल थापाले चुनाव जिते। उनी नेकपा एमालेका थिए। इतिहासमा दाेस्राे पटक सिंजाकाे दाेस्राे उम्मेदवारकाे रुपमा नेमकिपाका डिल्ली काफ्ले चुनावी मैदानमा उत्रिए। लाल हमाललाई भाेट दिन नसकेकाे सिंजाले काफ्लेलाई पनि भाेट दिएन। सांगठनिक स्थिति मजबुत भएकाे कांग्रेसलाई बागी उम्मेदवार गलपासाे बन्याे। लाल हमालका बागी बनेका ललितजंङ शाही दिनबन्धु श्रेष्ठका समेत बागी बने।

त्यसपछि झण्डै एक दशक चुनाव हुन सकेन। देश गृहयुद्धको दलदलबाट उम्केपछि २०६४ मा भएकाे पहिलाे संविधान सभाकाे निर्वाचनमा माओवादी पक्षमा जनलहर थियाे। उसले खलंगा र महत गाविस बाहिरका नरेश भण्डारीलाई उम्मेदवार बनायाे। उनका प्रतिस्पर्धी नेकपा एमालेका डिल्ली महत र कांग्रेसका दिनबन्धु श्रेष्ठ थिए। जित माओवादीकाे भएपनि उम्मेदवारी दिनलाई बजार र महत गाउँ छुटेन।

२०७० काे दाेस्राे संविधान सभाकाे निर्वाचनमा माओवादीकाे पासा पल्टियाे। उसले उम्मेदवार बनाएका गजेन्द्र बहादुर महत (कार्मा) महत गाउँकै भएपनि चुनाव हारे। इतिहासमा तेस्राे पटक सिंजाले फेरि उम्मेदवारकाे रुपमा पदम राेकायालाई पायाे। एमालेकाे सांगठनिक उपस्थिति बलियाे भएपनि विविध कारणले हार बेहाेर्नु पर्‍यो। त्याे चुनाव नेपाली कांग्रेसका ललितजंग शाहीले बाजी मारे। उनी अहिले चलेकाे भाषामा भन्दा खलंगा बजारकाे काेर एरियाका हुन्।

बहुदलीय व्यवस्था प्राप्तिपछि कहिल्यै नहारेका कम्युनिष्टलाई शाहीले नमिठाे हार चखाए। हारकाे ह्याट्रिक हुनबाट जाेगिएका उनले कम्युनिष्टकाे गड भत्काउने जस पाए र नेपाली कांग्रेसकाे इतिहास लेखाए। त्यसयता कांग्रेस बलियाे भएपनि जितकाे निरन्तरता भने हुन सकेन। कारण थियाे, २०७४ को निर्वाचनमा भएकाे बाम गठबन्धन।

जनतामा आशाकाे दियाे बालेकाे बाम एकताकाे बलबाट राजनीतिमा पुन: महत गाविसकाे उदय भयाे। विजयी भए, गजेन्द्र बहादुर महत (कार्मा)। इतिहासमा विजयी हासिल गरेर हाेस् वा उम्मेदवार मात्रै बनेर भएपनि राजनीतिकाे केन्द्र बजार र महत गाविस मात्रै भयाे।

भेग, क्षेत्रकाे हिसाबले महत्व राख्ने मतदाता संख्या हुँदा र इतिहासमा शक्ति केन्द्र भइकन पनि सिंजा दलीय राजनीतिकाे केन्द्र बन्न सकेन। चाैधबीस भेगकाे पूर्ण प्रतिनिधित्व नभए पनि आंशिक रुपमा नरेश भण्डारीले उक्त भेगकाे प्रतिनिधित्व गर्न सके। त्यसबाहेक शृङ्खलाबद्ध रुपमा शक्ति केन्द्र खलंगा र महत गाविस नै भयाे।

तर मंसिर ४ गते हुने निर्वाचनबाट भने इतिहासमा पहिलो पटक खलंगा र महत गाविसकाे प्रतिनिधित्व हुने छैन। सांसद चुन्ने अभ्यास सुरु भएको साढे छ दशकपछि  यसपालि आएर बल्ल बाहिरकाे प्रतिनिधित्व निश्चित भएकाे छ।

अहिले चुनावी मैदानमा सिंजा दराका ज्ञानेन्द्र शाही छन् भने पान सय दराका रतननाथ याेगी र गाेमा कुँवर छन्। राप्रपा, एमाले र गठबन्धनकाे त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएकाे निर्वाचनबाट जाेसुकै विजयी भएपनि प्रतिनिधित्व बजार वा साविककाे महत गाविसकाे हुने छैन।

प्रकाशित मिति: : 2022-10-30 11:23:00

प्रतिकृया दिनुहोस्