केपी ओलीको अनैतिक राजनीतिले स्वतन्त्र चुनाव लड्नु पर्‍याे : प्रभु साह

रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओलीको अनैतिक राजनीतिले आफूहरु स्वतन्त्र चुनाव लड्नु परेकाे बताएका छन्।

फतुवा विजयपुर नगरपालिका -१, घुसुकपुरमा आयोजित दिपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले साम्प्रदायिक शक्तिलाई मधेसको जिम्मा दिने केपी ओलीको गलत कदमको विरुद्ध मधेसलगायतका क्षेत्रमा विद्रोहस्वरुप स्वतन्त्र उम्मेदवारहरु चुनावमा होमिएको बताए।

विगतमा जसपाले देशमा मधेसी-पहाडीबीच साम्प्रदायिकता फैलाउने, गौर हत्याकाण्डजस्ता आपराधिक गतिविधिमा संलग्न र मधेसलाई भ्रष्टाचारको अखाडा बनाउने जनता समाजवादी पार्टीको सम्पूर्ण अपराधको जिम्मा एमालेको काँधमा बोकाउने काम ओलीले गरेको भन्दै पूर्वमन्त्री साहले अनैतिक राजनीतिको हिस्सा बन्नुभन्दा स्वतन्त्र हुन उचित लागेकोले एमालेको टिकटबाट चुनाव नलडेको बताए।

एमालेले नीतिगत रुपमा एक्लै चुनाव लड्ने निर्णय गरेको विषय कोट्याउँदै साहले कुर्सीका लागि ओलीले सबैथोक ठिक भनेर जसपा, राप्रपालगायतका शक्तिलाई बोक्नु अनैतिकताको पराकाष्ठा भएको बताए।

'यहाँहरु सम्पूर्णलाई थाहा छ, जसपा कस्तो पार्टी हो। यो त्यही पार्टी हो जसले मधेसी र पहाडीको बीचमा साम्प्रदायिकता भड्काई मधेसमा विध्वंस मच्चाएको थियो। गौर हत्याकाण्ड जस्तो नरसंहारमार्फत दर्जनौंको हत्या गरेको थियो, सयौंलाई घाइते बनाएको थियो। यो त्यही पार्टी हो जसले ५ वर्ष देखि मधेस प्रदेश सरकारमार्फत घोटाला माथि घोटाला गर्दै आएको छ, जसको विरुद्ध हामी लड्दै आएका छौं।'

पूर्वमन्त्री साहले भने, 'अरु त अरु गठबन्धन हुनुभन्दा एक हप्ता अगाडि मात्र जसपाले राष्ट्रपतिको पुतला जनाएको थियो, ओलीको पुत्ला जलाई एमाले बहिष्कार गर्न आह्वान गरेको थियो। यो कुरा आम जनसमुदायको अगाडि नै छ।'

'एमालेको कुरा गर्नुहुन्छ भने कुनै दलसंग सहकार्य नगरी एक्लै चुनाव लड्ने नीतिगत निर्णय गरेको थियो। तर सत्ताका लागि जे पनि गर्न पछि नहट्ने केपी ओलीको गुण रहेछ, त्यो हामीलाई थाहा थिएन। ओलीले मधेसलाई भ्रष्टाचारको अखाडा बनाएको जसपालाई मधेसको जिम्मा दिन खोजेपछि मैले त्यस्तो नगर्न पटकपटक आग्रह गरिरहँदा समेत ओलीले वास्ता गर्नुभएन। नैतिकता गुमाइसकेका केपी ओलीलाई त्यस्ता शक्तिहरुसंगको गठजोड सहज थियो, तर मेरो लागि विष पिउनु सरह थियो, मैले सकिन। ओलीको अनैतिक राजनीतिका कारण मसहित दर्जनौ नेताहरुले स्वतन्त्र उम्मेदवारी दियौं।'

नेकपा एमालेको स्थायी कमिटी सदस्य रहेका साहले ओलीले जसपासंग गठबन्धन गरेपछि उनले एमालेको टिकट लत्याएर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए, भने रौतहट क्षेत्र नम्बर २ मा किरण साहले उम्मेदवारी दिएका थिए।

उनीसँगै रौतहट क्षेत्र नम्बर ३(क) बाट केशव चौधरी, ३(ख) बाट केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, २(ख) बाट प्रदेश सदस्य राजन यादव(मनोज), १(ख) बाट राजेश चौधरी, ४(ख) रवि जयसवालले प्रदेशसभामा उम्मेदवारी दिएका छन्।

रौतहट बाहेक मधेसका अन्य जिल्लामा समेत उनको प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। पूर्वमन्त्री साहले अहिले "स्वतन्त्र उम्मेदवार जिताउ अभियान" संचालन गरेका छन्।

प्रकाशित मिति: : 2022-10-21 14:11:00

प्रतिकृया दिनुहोस्