आम निर्वाचनः नुवाकोटमा कसले मार्ला बाजी ?

BreaknLinks
BreaknLinks

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गरेसंगै उम्मेदवाहरूलाई चुनावी चटाराेले छोपिसकेको छ।

उम्मेदवारी दर्तासँगै नेताहरु चुनावी अभियानमा सक्रिय हुन थालेका छन्। पार्टीका कार्यकर्ताहरु पनि आ-आफ्ना उम्मेदवारहरूलाई जिताउने अभियानका साथ गाउँ-घरमा छिर्न थालिसकेका छन्।

यसै क्रममा आम निर्वाचनका लागि नुवाकोटमा पनि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइसकेका छन् भने नेताहरूले चुनावी अभियानलाई तीव्रता दिन थालेका छन्।

२ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा प्रतिनिधिसभातर्फ २९ र प्रदेशसभातर्फ ३७ जना गरी ६६ उम्मेदवारले आइतबार मनोनयन दर्ता गराएका छन्।

प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् भने  क्षेत्र नम्बर १ को प्रदेशसभा (क) तर्फ ७ जना र प्रदेशसभा (ख) तर्फ १० जनाले मनोनयन दर्ता गराएका छन्।

क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट पूर्व सांसद तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ र नेकपा (एमाले) का तर्फबाट पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सांसद बद्री मैनालीले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा ११ जनाले मनोनयन दर्ता गराएका छन्। जसमा सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका अजुर्ननरसिंह केसी र  नेकपा (एमाले) का नारायणप्रसाद खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै प्रतिनिधिसभातर्फ नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार उठाएर मनोनयन दर्ता गराएका छन्। अन्य पार्टी र स्वतन्त्र उम्मेदवारसमेत गरी कुल १८ जनाको मनोनयन दर्ता भएका छन्।

जसमा सत्तारुढ गबठन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमती प्रदेशसभाका पूर्वउपसभामुख तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङ र नेकपा (एमाले) ले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस त्यागेर पार्टी प्रवेश गरेका सुशील खड्कालाई उम्मेदवार बनाएको छ।

उसो त मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निकै रोचक हुने देखिन्छ। ०७४ मा भएको निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए।

०६४ को संविधान सभा निर्वाचनमा माओवादीको दबदबा रहेको अवस्थामा समेत जित निकालेको कांग्रेसले ०७४ मा सबै निर्वाचन क्षेत्रबाट हात धुनुपर्यो। एकातिर बाम गठबन्धन र अर्कोतिर जिल्लामा फितलो चुनावी रणनीति र पक्ष-पक्षबीचका गुट। जसले कांग्रेस ढाल्न राम्रौ सहयोग गर्यो।

यस्तै फितलो चुनावी व्यवस्थापनकै बीच प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ ३६ हजार ४ सय ७३ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. रामशरण महत २७ हजार ९ सय २० मतमै सिमित भएका थिए।

यता क्षेत्र नम्बर २ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारायणप्रसाद खतिवडाले ३६ हजार ८ सय ९२ मतसहित जित हासिल गर्दा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका थिए।

यद्यपि ०७४ मा भन्दा ०७९ को निर्वाचनको रणनीति फरक ढंगले अघि बढेको देखिन्छ। त्यतिबेला बाम गठबन्धनका साझेदार (एमाले–माओवादी) हाल एकै ठाउँमा छैनन्। त्यस्तै, पार्टीभित्रको आन्तरिक कलहका कारण एमाले दुई चिरा भयो। यता कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले आम निर्वाचनमा पनि तालमेल गरेर अघि बढेका छन्। उसो त गठबन्धनकै बलमा कांग्रेस ०७४ को बदला ०७९ मा लिने खेलमा छ।

प्रकाशित मिति: : 2022-10-12 14:02:00

प्रतिकृया दिनुहोस्