वाम-लाेकतान्त्रिक गठबन्धनबीच अधिकांश जिल्लामा टिकट बाँडफाँट भएपनि राेल्पाकाे प्रदेशसभा 'ख'मा भने किचलो कायमै छ। माओवादीकाे प्रभाव क्षेत्र निएको राेल्पामा नेपाली कांग्रेसले एउटा प्रदेशमा दाबी गरेकाे छ।
त्यसाे त माओवादी उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन छाेड्न तयार छैनन्। प्रदेशसभा 'ख' कांग्रेसले पाउन लागेको चर्चासँगै माओवादी नेता-कार्यकर्ताहरूले व्यापक असन्तुष्टि पाेख्न थालेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् कांग्रेसलाई मतदान गर्न नसकिने बताएका छन्।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा तथा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहनिकट मानिएका युवा नेता दियाेजित ओलीले रोल्पामा कांग्रेसलाई प्रदेशको टिकट कुनै पनि हालतमा नदिने दाबी गरेका छन्।
उनी सामाजिक सञ्जालमा लेख्छन्,'रोल्पाली जनताले बरु हात काटेर फाल्छन् तर कांग्रेसमा भोट हाल्दैनन् र हामी रोल्पामा काङ्ग्रेसलाई प्रदेशको टिकट कुनै पनि हालतमा दिँदैनौँ! कांग्रेसले गठबन्धनको आडमा औँलो दिँदा कुम नै निल्ने प्रवृत्ति बन्द गरोस्।'