सत्तारुढ गठबन्धन : प्रतिनिधिसभातर्फको क्षेत्र बाँडफाँट अन्तिम चरणमा, प्रदेशसभाको शनिबार सकिने

फाइल तस्विर
फाइल तस्विर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ।

पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ। जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। शीर्ष नेताको आजको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विषयमा छलफल भयो।

प्रतिनिधिसभातर्फको करिब अन्तिम भएकाले प्रदेशसभाका विषयमा छलफल भइरहेको छ। प्रदेशसभाको बाँकी छलफल शनिबार गर्ने निष्कर्षकासाथ आजको बैठक केहीबेरअघि सकिएको जानकारी पनि उनले दिए। निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुप दिन निर्णायक वार्तामा नेताहरु जुटेका थिए।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ। त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ। यसका लागि अब एक दिनमात्र बाँकी रहेकाले पनि शनिबार बिहानै सहमतिलाई अन्तिम रुप दिने तयारी गरिएको छ।

जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि छलफल गरिरहेका छन्। लोसपा पनि भोलिको गठबन्धन बैठकमा सहभागी हुनसक्ने जनाइएको छ। सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-10-07 22:05:00

प्रतिकृया दिनुहोस्