राम्रो सडक नबन्दा बिक्रीमा समस्या
उदयपुरका किसानहरुले तेजपत्ताबाट मनग्य आम्दानी गर्न थालेका छन्। जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने तेजपत्ता अर्थात् सिन्कौलीको पात जिल्लाको पहाडी क्षेत्रका किसानको आम्दानीको स्रोत बन्दै गएको हो।
किसानहरुले व्यावसायिक रूपमै तेजपत्ता खेती सुरु गर्न थालेपछि अन्य कृषकहरु पनि यस खेतितर्फ आकर्षित बन्न थालेका छन्। रौतामाई गाउँपालिकाका किसान जितुहर्क तामाङ एक लाख ५० हजारभन्दा बढी आम्दानी गरेको बताउँछन्। ‘बिक्रीको चिन्ता छैन्, कतिपय व्यवसायी घरमै आएर पाउलिँदै गरेको पातमै ठेक्का लिन्छन्,’ उनले भने, व्यापारीको विकल्पमा सहकारीले पनि तेजपत्ता किन्ने गरेका छन्।’
पानी र गोडमेलमा त्यति समय दिन नपर्ने भएकाले यो व्यवसाय सहज भएको उनको भनाइ छ। तामाङले आफ्नो बारीमा सय बोट तेजपत्ताबाट ६/६ महिनामा झण्डै एक लाख ५० हजार रुपैयाँको आम्दानी लिने गरेका छन्। जिल्लामै तेजपत्ताको उत्पादन र मूल्यमा पनि केही बुद्धी हुँदै गएको तर विकट क्षेत्रका किसानलाई बिक्रीमा भएको किसानहरुको बताउँछन्।
तेजपत्ता खासगरी उदयपुरको चुरे र महाभारत क्षेत्रमा बढी खेति हुने गरेको छ। जिल्लाको बिकट क्षेत्र मानिने रौता, आँपटार, भलायडाँडा, पोखरी, भुट्टार, नामेटार, खाँबु, साउने, जाल्पा चिलाउने, तावाश्री, वर्रे, डुम्रे, मयाँखु, हर्देनी, सिरिसे, सोरुङ छविसे लगायतका क्षेत्रमा तेजपत्ता खेती हुँदै आएको छ।
उदयपुरको तेजपात काठमाडाैँ, विराटनगर र भारतका बिभिन्न क्षेत्रमा बिक्री हुने गरेको छ। तर भौगोलिक विकटता र ढुवानीको साधनहरुको अभावका कारण समयमा बजारसम्म पुर्याउन नसक्दा कतिपय तेजपात सडेर खेरसमेत जाने गरेको किसानहरुको भनाइ छ।
वर्षभरि काम गर्दा पनि धान, मकै खेतीबाट राम्रो आम्दानी नहुँदा पछिल्लो समय विकट क्षेत्रका अधिकांस किसानहरु व्यवसायिक रुपमा तेजपात, सुन्तला, कागती, नासपाती लगायतका खेतीमा व्यस्त हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सरोजकान्त अधिकारीले बताए।
राम्रो बाटो नबन्दा बिक्रीमा समस्या
उदयपुरको दुर्गम क्षेत्रका किसानहरूको मुख्य आम्दानीको स्रोत रहेको तेजपत्ता बिक्री नभएपछि किसानहरू निराश बनेका छन्। सडक समस्याका कारण तेजपत्ता बिक्री नभएपछि किसानहरूले तेजपत्ता नकाटी बोटमै छाड्न थालेका छन्।
दुर्गम गाउँसम्म पुग्ने सडक नभएका कारण तेजपत्ता बिक्री गर्न नसकिएको कटारी नगरपालिका– १३ का मानबहादुर सुनुवारले गुनासो सुनाए। ‘हाम्रो जग्गा भिरालो छ, अरु बालीनाली खासै उत्पादन हुँदैन,’ उनी भन्छन्, ‘तेजपत्ताबाट आम्दानी हुन्छ होला भनेर लगायौँ अहिले नबिकेर बोटमै छाडेका छौँ।’
त्यस्तै उदयपुरगढी गाउँपालिका– २ का किसान भक्तबहादुर मगरले आफूहरुको उत्पादनले बजार नपाउँदा थप समस्या भएको बताए। ‘गाउँमा लाखौँको तेजपत्ता भए पनि बजारको समस्या हुँदा बिक्री भएको छैन्,’ उनले भने।
भौगोलिक विकटताका कारण ३/४ घण्टाको उकालो बाटो भारी बोकेर तेजपत्ता बजार पुर्याउँदा नबिक्ला कि भनेर चिन्ता गर्नुपर्ने उनले बताए।
के हो तेजपत्ता ?
तेजपत्ता एक प्रकारको जडीबुटी हो। यसलाई चिया वा तरकारीमा राखेर स्वाद लिन सकिन्छ। खानेकुरामा मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटी हो। सुगन्धित स्वाद हुने यसको पत्तामा आवश्यक पोषक तत्व र खनिज हुन्छ। यसमा भिटामिन ए र सी पाइन्छ।
औषधीय गुणयुक्त तेजपत्ता क्यान्सर जस्ता घातक रोगमा पनि फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ।
तेजपत्ताको विरुवा हुर्काउन पानी, गोडेमेलमा खासै मिहिनेत पनि पर्दैन। यसको खेती खासै झन्झटसलो हुँदैन किसानको बारी, पाखो वा भिरालो स्थान सबैतिर यसको खेती गर्न सकिन्छ।