प्रत्येक वर्षझैँ
यस वर्ष पनि, नियमानुसार
आउनुभो दुर्गा, माता,
विजयादशमीको साइत पारेर।
अनि आफ्ना भक्तहरूका मनमा
उही भक्ति,
तर, मनमा कम शक्ति,
पूजाको थालमा जमरा बढी,
र टीका कम देखेर,
झन् आफू पुजिँदा,
आफूलाई चढाइएका नैवेद्यमा
फल कम फूल बढी देखेर,
पूजा सकिना साथ
'फेरि अर्को वर्ष आइहाल्छ नि,
अहिलेलाई जान्छु है' भने जस्तो गरी
भग्नमन दुर्गा भवानी
फिर्ता जानुभो,
एक दृष्टि–भक्तहरूका काँतर अनुहार,
र, जर्जर घरहरूमाथि पारेर!
सायद, आफ्नो आउनैपर्ने बाध्यतामाथि
झर्किनु पो भो कि भगवती!
'सायद, मैले गर्दा मेरा अभागी
भक्तहरूको झन् हुन गयो दुर्दशा'–
मनमनै फतफताउनु पो भो कि दुर्गा भवानी!
पूजा सकेर उठ्दा,
दुर्गा माताको प्रतिमाका आँखाहरू
अलिअलि रसाएको जस्तो लाग्याथ्यो मलाई,
कतै 'दसैँ भनेर म आएकी,
झन् दशा पो भैदिएछ क्यारे
यी मेरा कङ्गाल भक्तहरूका लागि!' भन्ठानी,
रुन त रोइनन् साँच्चीकै दुर्गा भवानी
भन्न सकिन्न है, भन्न सकिन्न!
कलियुग हो भन्दैमा, अति दुर्गति भएपछि भक्तहरूको
साक्षात् भगवती नरोए पनि
प्रतिमाका आँखाहरू पनि नरसाउलान्!
भन्न सकिन्न है, भन्न सकिन्न।
सुन्नुभो…नेपाली दाइ–भाइ हो
हजुरलाई होइन, हजुर सवारी
(कारको भयालबाट बजिया लखौँपतिले पो
'–के भन्या?' भनी सोधेको!
के लखपति पनि नेपाली हुन्छ र!!
अँ त, सुन्नुभो नेपाली दाइ–भाइहो!
आलु एक धार्नीको चौबीस रुपियाँ पुग्यो!!!
अब के खाने?…
झन् यस पटकको दसैँले त ‘भाइटीका’मा
दिने दक्षिणा पनि बाँकी छाडेन।
मर्द हुनु पनि कर्महारा हुनु रे’छ
आईमाई भएको भए–‘पर सरेकी छु’ भनेर
‘भाइटीका’ लाई नै एक वर्ष पर सारिदिन्थेँ मैले
लौ भैगो मैले पनि मान्ने…
जस्तो पर्ला, उस्तै टर्ला।
तर, अर्को वर्षको दसैँ नि?
बुझ्नुभो,
मैले के निर्णय गर्या’छु!
मैले त भगवतीलाई पनि सताइ सकेको छु!
आ! आफ्नै आमा त हुन् दुर्गा पनि!
आमासित पनि केको लोकाचार! हैन त?
भनिदिएँ मैले त–'अब उप्रान्त दुर्गा माता!
सुटुक्क आउनू
सुटुक्क जानू!
केलाई चाहियो र धूमधाम! होइन र दुर्गा आमा? बिनसित्तैमा।'
उहिले पो भगवतीको आगमनमा
धूमधाम गरेर चहाड मानिन्थ्यो,
जब, दसैँ भनेको मात्र पूजापाठ नभई
एक–एक सरो
नयाँ जुत्ता पनि हुन्थ्यो।
मासु खानेलाई
वर्षमा एकैपल्टलाई भए पनि
पेटभरि मासु पनि हुने गथ्र्यो दसैँ आउनु
वा मनाउन भनेको?
शाकाहारीलाई पनि
कम्तीमा एक डालो सेल, पुरी, हलुवा र
एक थाल मिठाई पनि हुने गथ्र्यो
दसैँ आउनु भनेको त!…
अब त दसैँ…
साँच्ची कै दशा भएको छ
न छोरालाई हङकङको ज्याकेट किनिदिन सकियो
न छोरीलाई बैङ्कके जुत्ता,
धरहरा–बजारबाट घटीघटाउ गरेर
कात्तिकको पेस्की तलबभित्र किनमेल
कटाउ गरियो।
खानामा सेलरोटी कहाँ पाउनु!
सप्तमीमा किनिराखेको पाउरोटी टोकियो,
फलफूल पनि खाइयो…
भोगटे बारीमै थियो,
एक दर्जन औँलाजत्रा केरा पनि,
सपरिवार खाइयो,
आठ रुपियाँ दर्जनमा किनेर!
मलाई त के! हाइ सन्चो छ
‘डाइबिटिजको रोगी
न मासुको भारी!
परिवारले पनि चित्त बुझायो
बूढा च्याङ्ग्राको छाला चपाएर।
अब तपाइँहरू नै भन्नोस,
यस्तोमा के काम चहाड आएर?
हुनेलाई तीन सय पैँसट्ठी दिन नै दसैँ छ,
नहुनेलाई वर्षभरि दशा छ।
हुनेलाई चारै छाक मासु छ,
नहुनेलाई आँखाभरि आँसु छ।
_____________________
भूपी शेरचन – हिन्दू साप्ताहिक पत्रिका (वर्ष ५, अंक २४)