पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रामा पीपीआर

File photo
File photo

पोखरा महानगरपालिका र पशु प्राविधिकहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन्।

याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट भेडाच्यांग्रा ल्याएको छ।

प्राविधिकहरुले ति भेडा च्यांग्राको स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए।

उनका अनुसार अनुगमनका क्रममा केही भेडाच्यांग्रा अस्वस्थ देखिएको छ। ‘अस्वस्थ भेडाच्यांग्रा नबेच्नु भनेर निर्देशन दिएका छौं। केही बाहेक सबै स्वस्थ छन्, खानका लागि उपयुक्त छन्,’ उनले भने।

समितिले  १५ वटा भेडा, च्यांग्राको नमुना परीक्षण गरेकोमा केही भेडाच्यांग्रामा पीपीआर देखिएको थियो।

पशु प्राविधिक ढाकाराम पौडेलका अनुसार १५ वटा परीक्षण गर्दा एउटामा पीपीआर देखिएको छ। ‘आँखामा चिप्रा, नाकमा सिगान नभएको र नछेरेको हेरेर किन्नुहोला,’ उनले उपभोक्तालाई भने, ‘यो रोग मान्छेलाई त सर्दैन। तर स्वस्थ नै छान्नुपर्छ। हाम्रो चिन्ता यो रोग गाउँतिर नपुगोस् भन्ने हो।’

यसपालि भेडाच्यांग्राको मूल्य अत्यधिक बढेको छ। मूल्य निश्चित गर्न सके उपभोक्तालाई मर्का नपर्ने उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताए।

‘व्यवसायीलाई जति मन लाग्यो उति मुल्य पर्छ। यसको निर्धारण गर्ने एउटा विधि बनाइनुपर्छ,’ उनले भने, ‘सरोकारवाला निकायले भेडाच्यांग्राको मुल्य निर्धारण गर्नुपर्छ।’

प्रकाशित मिति: : 2022-09-30 13:20:00

प्रतिकृया दिनुहोस्