आम चुनाव : पूर्वी रुकुममा गठबन्धनबीच चर्किँदै आन्तरिक द्वन्द्व

BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा पूर्वी रुकुममा सत्ता गठबन्धन मुद्दा पेचिलो बन्दै गएको छ।

गठबन्धनको लागि केन्द्रीय स्तरबाट स्थानीय तहको निर्वाचनदेखि नै निर्देशन आइसकेको छ। तर स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले भने पूर्वी रुकुम आफ्नो लालकिल्ला भनेर गठबन्धन गरेन, जुन कुरा उसले चुनावको नतिजाबाट पनि प्रमाणीत गरेर देखायो। तर आम चुनाव नजिकिँदै गर्दा भने गठबन्धन मुद्दा पेचिलो बन्दै गएको देखिन्छ।

२०७४ सालको प्रतिनिधिसभाको चुनावमा माओवादी केन्द्र उम्मेदवार कमला रोकाले १० हजार ४३४ मत ल्याएकी थिइन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हरिशङ्कर घर्ती मगरले ४ हजार ४०६ मत लिएका थिए।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर (क) बाट माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर वलीले ५ हजार ४२७ मत लिएर विजयी भएका थिए। उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका द्रुत कुमार पुन मगरले २ हजार १४४ मत प्राप्त गरेका थिए।

त्यस्तै क्षेत्रनम्बर (ख) बाट माओवादी केन्द्रबाट पूर्णबहादुर घर्तीले ५ हजार ८१६ मत ल्याइ प्रदेशसभाको प्रत्यक्षतर्फ विजयी भएका थिए। उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दत्तबहादुर बस्नेतले जम्मा ३ हजार १११ मत प्राप्त गरेका थिए।

२०७४ सालको चुनावी नतिजा हेर्दा पूर्वी रुकुम प्रदेश र प्रतिनिधिसभा माओवादी केन्द्रकै लालकिल्ला हो। तर केन्द्रबाट आएको गठबन्धनको नाराले भने अहिले चुनावी द्वन्द्व सिर्जना गरेको छ।

केन्द्र सरकारमा समेत गठबन्धनको सिट बाँडफाँट टुंगिएकाे छैन। रुकुम पूर्वमा दर्ता भएका सबै दलले आफ्नो प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। यसैबीचमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच आन्तरिक द्वन्द्व चर्किएको छ।

माओवादी केन्द्रले सबै सिट आफ्नो पोल्टामा पार्न लागिपरेको छ भने कांग्रेस ४०-६० सिट माग गर्दै आएको छ। यसरी चर्किएको द्वन्द साम्य पार्न कांग्रेसलाई एक सिट अनिवार्य दिनुपर्ने अवस्थाको सिर्जना भएको देखिन्छ।

रुकुम पूर्वमा गठबन्धन नगरे नेकपा एमाले र नेपाली कांग्रेसबीच तालमेल हुँदा माओवादी केन्द्रलाई धक्का लाग्ने देखिन्छ। जसरी केन्द्रमा गठबन्धनबीचमा सिट भागबन्डा मिलेको छैन, त्यस्तै पूर्वी रुकुममा समेत गठबन्धनको लफडा बढिरहेकै छ।

एकातिर माओवादीहरु लालकिल्लाको साख जोगाइराख्न लागिपरेका छन् भने अर्कोतर्फ कांग्रेस र एमाले माओवादीको लालकिल्लाको पर्खाल भत्काउन चाहन्छ।

प्रकाशित मिति: : 2022-09-26 17:51:00

प्रतिकृया दिनुहोस्