रुपान्तरण

BreaknLinks
BreaknLinks

आगोमा रुपान्तरित भएपछि
आफूतिर जम्मै पानी बगेर वेगमा आइरहेको देख्थे

पानीमा रुपान्तरित भएपछि
आफूबाट जम्मै आगो भागेर दनदन सल्किरहेको देख्थे

धर्तीमा रुपान्तरित भएपछि
भूकम्प, आँधी, पहिरो र भुइँचालो विष्फोट बनाएर 
आफूतिर आकाश आइरहेको पाउँथे

आकाशमा रुपान्तरित भएपछि
प्रकाश, वर्षा, चट्याङ र कुइरो अभिव्यक्त गराएर 
आफूइतर धर्ती गइरहेको पाउँथे

प्रतिक्षालयमा रुपान्तरित भएपछि
आफूमा सारा अन्धकार लुकाइ 
धपक्क बलेर जडवत उभिएको ल्यामपोष्टलाई हेर्ने गर्थे

ल्यामपोष्टमा रुपान्तरित भएपछि
आफैँलाई पूर्णतया थकाएर अरुलाई आराम दिइ
थचक्क बसेको प्रतिक्षालयलाई हेर्ने गर्थे 

सहरमा रुपान्तरित भएपछि
आफूले अरुलाई देख्न छाडेको हुनाले
आफूलाई झन्झन् नदेख्ने बनाउँदै गएको महशुस भइरहन्थ्यो

गाउँमा रुपान्तरित भएपछि
आफूलाई सहरले देख्न छाडेकोले 
आफैँलाई नै सहर बनाउन लागेको महशुस भइरहन्थ्यो

हो यसरी रुपान्तरित हुन थालेदेखिबाट नै
मैले बुझेको हुँ अर्काको अस्तित्व
अर्काको अस्तित्व आफू भइन्जेल थाहा नपाइने रहेछ
थाहा पाउन अर्कामा रुपान्तरित हुनै पर्ने रहेछ 
र जब अर्कामा रुपान्तरित भइन्छ    
हामीले स्वतः आफ्नो पनि अस्तित्व थाहा पाइहाल्ने रहेछौं

रुपान्तरण आवश्यक छ
त्यसकारणले मृत्यु जन्ममा रुपान्तरित हुनुपर्छ
र जन्म मृत्युमा रुपान्तरित हुनुपर्छ
रुपान्तरित भएपछि उनीहरु बुझ्ने छन्
किन हामी सँगै जन्मिन्छौं?
तर किन सँगै मर्दैनौ?

नदी किनारमा रुपान्तरित हुनुपर्छ
र किनार नदीमा रुपान्तरित हुनुपर्छ
रुपान्तरित भएपछि उनीहरुले बुझ्ने छन्
कति सकस छ 
कसैलाई अबिरल बगाइरहनु पर्दा? 
झन् कति सकस छ
आफैँ अबिरल बगिरहनु पर्दा?

धुलो हावामा रुपान्तरित हुनुपर्छ
र हावा धुलोमा रुपान्तरित हुनुपर्छ
रुपान्तरित भएपछि उनीहरु बल्ल बुझ्ने छन्,
कत्ति गाह्रो हुने गर्दछ
जब कसै गरेर पनि एकै ठाँउमा अडिन नसक्दा?
झन् कति गाह्राे हुने गर्दछ
जब कसैले एकाएक उडाइदिँदा?

रुपान्तरण आवश्यक छ
हो यसरी हरेक चिज रुपान्तरित हुन आवश्यक छ
रुपान्तरित नभएर नै  
यहाँ एकअर्काको अस्तित्व अधिनस्थ पार्ने 
घिनलाग्दो खेल खेलिँदैछ
अहो अस्तित्व नै नामेट पारिदिने खेल!
अहो अस्तित्व नै संकट हुने खेल!

त्यसकारणले रुपान्तरण आवश्यक छ
हो म पनि रुपान्तरित हुन अत्यन्त आवश्यक छ
यसर्थ यो पटक राक्षसबाट मानिसमा रुपान्तरित हुँदैछु
मानिस भएर राक्षस कस्तो हुन्छ? हेर्नु छ,
राक्षस भएर मानिस कस्तो हुन्छ? जो हेरिसकेको छु!

अस्तु !

प्रकाशित मिति: : 2022-09-10 13:00:00

प्रतिकृया दिनुहोस्

    Sarai ramro rupantrit 👌👌🔥

    • एक बर्ष अगाडि
    • Akash Modanwal