ताप्लेजुङ चुनावी चर्चा : योगेशलाई एमालेकै तिलकुमारको चुनौती

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृह जिल्ला ताप्लेजुङमा चुनावको चर्चा सुरु हुन थालेको छ। चुनावको मिति घोषणा भएसँगै उनले गृह जिल्लामा दौडधुप बढाएका छन्।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा उम्मेदवार बन्ने दौडमा पार्टीभित्रैबाट रस्साकस्सी चलिरहेको छ। एमालेका सचिव तथा पूर्वमन्त्री भट्टराईले पार्टीका कार्यकर्ता र नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाएका छन्।

२०७४ को निर्वाचनमा कांग्रेसविरुद्ध बाम गठबन्धन गरेका एमाले माओवादी अहिले अलग भएका छन्। यसपटक एमालेविरुद्ध माओवादीसहितको कांग्रेस, नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धन छ।

ताप्लेजुङमा एमालेबाट भट्टराईसहित तिलकुमार मेन्याङ्वोको नाम चर्चामा छ। मेन्याङ्वो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन्। नेकपा हुँदा माधव-प्रचण्ड समूहमा रहेका भट्टराई पार्टी विभाजन भएपछि एमालेमै फर्किएका थिए।

मेन्याङ्वो आफूले उम्मेदवार दिने बताइरहेका छन्। सचिव भट्टराईलाई आफ्नै पार्टीका नेताको चुनौती बढ्न थालेपछि ताप्लेजुङमा रोचक प्रतिस्पर्धा हुने आँकलन गर्न थालिएको छ।

२०६४ र २०७० सालको निर्वाचनमा काठमाडौँ–६ बाट पराजित भएका भट्टराई ०७४ को निर्वाचनमा ताप्लेजुङबाट विजयी भएका थिए। आदावासी समुदायको बाहुल्यता रहेको ताप्लेजुङमा एमालेले मेन्याङ्वोलाई नै उम्मेदवार बनाउनु पर्ने केही नेताहरुको माग भए पनि सिनियरका आधारमा भट्टराईले नै टिकट पाउने सम्भावना रहेको नेताहरु बताउँछन्।

२०७४ को निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले कांग्रेसका केशव दाहाललाई पराजित गरेका थिए।

यता सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा पराजित भएका केशव दाहाल आकांक्षी छन्। उनीसँगै पूर्वमन्त्री मणी लामा पनि आकांक्षी छन्।

देउवा निकट रहेका लामाको सम्भावना बलियो रहेको नेताहरुले बताएका छन्। नेपाली कांग्रेस ताप्लेजुङका जिल्ला सभापती गजेन्द्र तुम्मेहाङ र इच्छाराम गुरुङले पनि दावी गरिरहेका छन्।

यता माओवादी केन्द्रले भन्ने उम्मेदवार सिफारिस गरिसकेको छ। प्रतिनिधिसभा सदस्यतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोको नाम सिफारिस गरिएको छ।

यस्तो छ ०७४ को मत

२०७४ को निर्वाचनमा एमाले-माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका योगेश भट्टराईले कांग्रेसका केशव दाहाललाई फराकिलो मतान्तरले पराजित गरेका थिए। भट्टराईले दाहालको भन्दा १२ हजार ६०१ मत बढी ल्याएका थिए।

एमालेका भट्टराईले २९ हजार ४७९ मत ल्याउँदा उनका प्रतिद्वन्दी कांग्रेसका दाहालले १६ हजार ८८८ मत मात्र प्राप्त गरेका थिए।

प्रदेश निर्वाचन (क) मा पनि एमालेका बलबहादुर साम्सोहाङ विजयी भए। साम्सोहाङले कांग्रेसकी लिलादेवी बोखिम (लिम्बू) लाई पराजित गरेका थिए। साम्सोहाङले १५ हजार ४१७ मत ल्याउँदा लिम्बूले १० हजार ९७४ मत ल्याएकी थिइन्।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) मा पनि तत्कालीन माओवादीका टंक आङवुहाङ (लिम्बू) विजयी भएका थिए। २०७४ मा एमाले-माओवादीको वाम गठबन्धनका माओवादी उम्मेदवार रहेको आङवुहाङ नेकपा विभाजनपछि एमालेमै छन्। उनले प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीसमेत ग्रहण गरिसकेका छन्।

आङवुहाङले १२ हजार १९८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपेन्द्रकुमार सेन्दाङले ७ हजार ५८७ मत पाएका थिए।

स्थानीय तहको मत परिणाम

एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङमा गत स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध कांग्रेस, माओवादी, नेकपा समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए।

कांग्रेसले ४ पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ। कांग्रेसले जिल्लाको एउटा मात्र नगरपालिका फुङलिङ नगरपालिकासहित मिक्काखोला, मेरिङदेन र सिरिजंगा गाउँपालिकामा प्रमुख तथा फक्ताङलुङ र मौवाखेला गाउँपालिकामा उपप्रमुख जितेको छ।

एमालेले आठराई त्रिवेणी गाउँपालिका र पाथीभरा याङवाक गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जितेको छ। सिदिङ्वा गाउँपालिकामा प्रमुख जितेको एमालेले फुङलिङ नगरपालिकामा उपप्रमुख जितेको छ। माओवादीले फक्ताङलुङ र मौवाखेला गाउँपालिकामा प्रमुख तथा मिक्काखोला र सिरिजंगा गाउँपालिकामा उपप्रमुख जितेको छ।

नेकपा एस र स्वतन्त्रले क्रमशः मेरिङदेन र सिदिङ्वा गाउँपालिकामा उपप्रमुख जितेका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहमा वडाध्यक्षमा एमालेले २४ हजार २९५ मत ल्याएको छ। कांग्रेसले १८ हजार २८४ मत ल्याउँदा माओवादीले ४ हजार ४९७ नेकपा समाजवादीले १३०८ र जसपाले ९२३ मत ल्याएका छन्।

६१ वडा रहेको ताप्लेजुङमा एमाले एक्लैले २९ वडामा अध्यक्ष जितेको छ। कांग्रेसले १५, माओवादीले १०, नेकपा एसले २ वडामा वडाध्यक्ष जितेको छ। ताप्लेजुङमा स्वतन्त्रले ४ वडामा अध्यक्ष जितेको छ।

प्रकाशित मिति: : 2022-09-01 17:17:00

प्रतिकृया दिनुहोस्