अन्तर्राष्ट्रिय राजनीतिमा आएको परिवर्तनसँगै विदेश नीति पनि परिवर्तनशील हुन्छ, बनाइनुपर्छ । अन्तर्राष्ट्रियस्तरको अन्तरनिर्भरता र मूलतः अर्थव्यवस्था परिवर्तन हुँदै जाँदा विदेश नीति पनि परिवर्तन हुँदै जान्छ ।
हामीले असंलग्नतापछि विदेश नीतिमा आधारभूत परिवर्तन ल्याउन सकेका छैनौँ । त्यसकारण हाम्रो विदेश नीतिको आधारभूत सिद्धान्त ‘आउटडेटेड’ भइसकेको छ । यसमा नयाँ विमर्श आवश्यक छ ।
महेन्द्रकालीन हाम्रा राष्ट्रिय चासो र आजका राष्ट्रिय चासो फरक छन् । कतिपय सन्दर्भ त आधारभूत रूपमै फेरिएका छन् । कर्जादाता र अनुदानदाताको त्यसवेला हाम्रो अर्थतन्त्रमा ठूलो महत्व थिएन । दुनियाँमा हाम्रो जनसंख्या यसरी सम्मिलन भएको थिएन । त्यसवेला उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र बार्सा प्याक्टको भर्टिकल द्वन्द्व थियो ।
त्यो द्वन्द्व नेपालतिर फर्केर आउनेभन्दा पनि युरोप र मध्यएसियातिर केन्द्रित थियो । त्यसवेला आजको चीनको उदय भइसकेको थिएन । यति मात्र नभई चीनको नेपाल चासो तिब्बत मामिला र एक चीन नीतिबाहिर निस्केको थिएन । अहिले आएका परिवर्तनमा हामीले आफूलाई कसरी अनुकूलन गर्ने र त्यसमा हाम्रो विदेश नीति कसरी समायोजित हुने भन्नेमा आधारभूत रूपमा परिवर्तन गर्नु आवश्यक छ ।