एकल महिला समूहले गर्‍याे अगुवा महिलालाई सम्मान (भिडियाेसहित)

मानव अधिकारको लागि महिला, एकल महिला समूहले अगुवा महिलाहरुलाई सम्मान गरेको छ। 

एकल महिला समूहले बुधबार छहारी भवन हात्तीगौडामा विभिन्न क्षेत्रमा रहेर राष्ट्र र समाजलाई सेवा पुर्याउँदै आएका महिलाहरुलाई सम्मान गरेको हो।

समाजमा सामाजिक, आर्थिक, राजनैतिक तथा न्यायमा पहुँच र आम नेपाली महिलाहरुको हक अधिकारका लागि आवाज उठाइरहेका महिलाहरुलाई अभिनन्दन गरेको एकल महिला समूहकी संस्थापक तथा  राष्ट्रिय मानव अधिकार आयोगकी लिली थापाले बताइन्।

समाजमा महिलाहरुले योगदान गरेको भन्दै उनले पाँच दशकअघिको कुरा स्मरण गर्दै भनिन्, ‘जेलमा परेका अहिलेका नेताहरुलाई मैँचा दिदिले चिठ्ठी दिएर उहाँहरुको मदत गर्नुभयो, र अहिले उहीँ नेताहरु चर्चित हुनुहुन्छ,तर उहीँ मैँचा दिदिको नाम कहीँ छैन, कसैले चिन्दैन।’

महिलाको साहारा बन्दै 'एकल महिला समूह' (भिडियो)

महिलालाई भन्दा पुरुषलाई प्राथमिकता दिएको बताउँदै उनले ‘हिर्ज स्टोरी’ भएको बताइन्। ‘सधैँ हिर्ज स्टोरी हुन्छ, तर अब हामीले ‘हर स्टोरी’ अर्थात् उनको स्टोरी भन्ने बनाउनुपर्छ’ उनले कार्यक्रममा बोल्दै भनिन्, ‘पुरुष भन्दा महिला कम छैनन्।’

समाजमा टेवा पुर्याएका महिलाहरुलाई मध्यनजर गरेर एकल महिला समूहले गरेको उक्त कार्यक्रममा १३ जना अग्रज महिलाहरु सम्मान भएका थिए।

सम्मान हुनेमा भद्रकुमारी घले, अष्टलक्ष्मी शाक्य, अम्बिका क्षेष्ठ, मिना आचार्य, शान्ता मानवी, दुर्गा घिमिरे, तुला राणा, साबित्री थापा, साबित्री अर्याल, श्रदा पोखरेल, चाँदनी जोशी, लक्ष्मी केसरी मानन्धर रहेका छन्।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थिती रहेको साे कार्यक्रममा हस्तकला मेला समेत भएको थियो। एकल महिलाहरूले बनाएका सामानहरु राखेर मेला गरिएकाे संस्थाकी प्रबन्धक राजीन रायमाझीले बताइन्। 

श्रीमानको निधनपछि बदलिएको बिमलाको जीवन (भिडियो)

‘हरितालिका तीजलाई मध्य नजर गरेर यहाँका एकल महिलाहरूले आफ्नै हातबाट बुनेका कपडाहरु प्रदर्शनमा राखेका हाैँ’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘यहाँका सबै महिलाहरु सक्षम हुनुहुन्छ।’

कस्तो संस्था हो, एकल महिला समूह? 

०५२ सालदेखि सञ्चालनमा आएकाे उक्त संस्थाले अन्यायमा परेका महिलालाई न्याय दिलाउँदै आएको छ। 

पिछडिएका महिलालाई समावेशी कार्यक्रममा सहभागी गराउनका साथै संस्थाले महिलालाई स्वरोजगार पनि बनाइरहेकाे छ। 

संस्थाले सयौं बेरोजगारी महिलालाई रोजगार बनाइसकेको छ। उक्त संस्थाको उदेश्य नै बेरोजगार महिलालाई रोजगार दिनु हो।
 

प्रकाशित मिति: : 2022-08-24 17:30:00

प्रतिकृया दिनुहोस्