ध्रुब बस्याल
आम निर्वाचनको मिति तोकिएसँगै प्युठानी ‘लिडर’हरू सामाजिक सञ्जालदेखि आफूनिकट नेता–कार्यकर्तामार्फत् चुनावी प्रचारप्रसारमा जुटेका छन्।
चिया चौतारीदेखि पार्टी कार्यालयसम्म उम्मेदवारी र मत–मतान्तरको चर्चा चुलिँदै गएको छ। वामपन्थीको गढ मानिने प्युठानबाट नेपाली राष्ट्रिय राजनीतिको रंगमञ्चमा उदाएका कैयौँ नयाँ तथा पुराना कम्युनिष्ट नेताहरू छन्।
मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, वामदेव गौतम, लिलामणि पोखरेलजस्ता ‘क्रान्तिकारी’को जन्मथलोमा बेग्लै चुनावी चर्चा छ। त्यसो त नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट दर्जनौँ आकांक्षी देखिएका छन्।
‘कम्युनिष्ट किल्ला’का पुराना र वैचारिक नेता सिंह, वैद्य, गौतम र पोखरेलको जिल्लामा उम्मेदवारीकाे कुनै सुइँको छैन। ‘वाम आन्दोलनका शीर्ष प्युठानी नेताहरू कहाँबाट चुनाव लड्लान्’ सबैतिर चासो छ। तर झिमरूक वरिपरि कुनै चिन्ता–चर्चा छैन।
वाम विश्लेषकहरू भन्छन्, ‘उनीहरू किङ्ग होइनन्, किङ्ग मेकर हुन्।’ मोहनविक्रम र मोहन वैद्यको आम निर्वाचनप्रति पटक्कै रूचि छैन। वामदेवको न संगठन छ, न पार्टी। अनि लिलामणि काठमाडाैँ केन्द्रीत छन्। त्यसकारण पनि उनीहरू खासै चुनावी चर्चामा छैनन्।
केन्द्रदेखि प्रदेशसम्म सत्ता गठबन्धनको दबदबा छ। वाम लोकतान्त्रिक गठबन्धनको धमिलो छाँया प्युठानसम्मै छ। कांग्रेसभन्दा बलिया छन्, वामशक्ति। प्युठानमा कम्युनिष्टको राम्रो प्रभाव छ। अझ भनौँ- राष्ट्रिय जनमोर्चाको राम्रो पकड छ। त्यसो त जिल्लामा कांग्रेससहितको वाम लोकतान्त्रिक गठबन्धनको उत्तिकै चर्चा छ।
नेकपा (एमाले)विरुद्ध मोर्चाबन्दीका लागि तम्तयार छन्, दुर्गा पौडेल, कृष्णध्वज खड्का र डा. गोविन्दराज पोखरेल। तर प्रतिनिधिसभाका लागि आ–आफ्नै दाबी छन्।
गठबन्धनबाट दर्जनौँ आकांक्षी देखिएका छन्। सर्वत्र चासो छ- गठबन्धन कायम होला कि नहोला? प्रतिनिधिसभा र प्रदेशसभामा क–कसले टिकट पाउलान्? लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका प्रदेशस्तरीय नेताहरू एउटै मञ्चमा देखिएका छन्। तर प्युठान हालसम्म मौन छ।
कतिपय आकांक्षीले आफूखुसी उम्मेदवारी घोषणा गर्दै हिँडिरहेका छन्। प्युठानी नेताहरू टिकट माग्दै शक्तिकेन्द्र धाइरहेका छन्। उनीहरू आ–आफ्नो निर्वाचनक्षेत्र सुरक्षित गर्न दौडिरहेका छन्।
जिल्लामा एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र छ। अघिल्लो ०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा तत्कालीन उम्मेदवार दुर्गा पौडेलले जित हात पारेकी थिइन्।
पौडेलले ४१ हजार ५ सय १४ मत पाएकी थिइन्। पौडेलका निकटम प्रतिद्वन्द्वी हुन्, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द्रराज पोखरेल। उनले ३१ हजार २ सय ८६ मत प्राप्त गरेका थिए।
वाम शक्ति र कांग्रेसबीच अघिल्लो निर्वाचनमा १६ हजार २ सय २८ मतान्तर छ। त्यसो त कांग्रेसविरुद्ध जनमोर्चा, तत्कालीन एमाले र माओवादीको संयुक्त गठबन्धन बनेको थियो।
जिल्लामा फेरि गठबन्धन हुँदा यसपालि एमालेलाई चुनाव जित्न हम्मेहम्मे पर्नेछ। स्थानीय तह निर्वाचनको मतपरिणामको विश्लेषण गर्दा नेकपा (एमाले) पुच्छारमा देखिन्छ। त्यसकारण पनि आकांक्षीलाई ठुलो चुनौतीको रुपमा हेरिएको छ।
प्युठानमा पदका आकांक्षी तीव्र छन्। उनीहरू व्यक्तिगत रुपमा प्रचारबाजी र शीर्ष नेताको घरदैलो धाइरहेका छन्। गठबन्धन कायम हुँदा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाबाट कसले ‘टिकट’को बाजी मार्लान्? एकतिर जनमोर्चाको पकड छ। अर्कोतिर एमाले र कांग्रेसको प्रभाव पनि बढ्दो छ।
त्यस्तै, गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द्र पोखरेल, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीलगायत तीव्र आकांक्षी छन्।
यता नेकपा (एमाले)बाट पोलिटव्यूरो सदस्य सूर्य थापा पक्कापक्कीजस्तै छन्। तर स्थायी कमिटी सदस्य मणि थापालाई पनि दाबेदारका रुपमा हेरिएको छ।
त्यसैगरी, प्रदेशसभा (क–ख) तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता रोज राणा, माओवादी केन्द्रीय सदस्य कृष्णध्वज खड्का, केन्द्रीय सदस्य कृष्ण अधिकारी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य भाेज विक्रम बुढालगायतको चर्चा छ। खड्का लुम्बिनी प्रदेश सरकारका मन्त्रीसमेत हुन्।
यस्तै, एमालेबाट पूर्वसांसद धनबहादुर रायमाझी, प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल र पूर्वजिल्ला अध्यक्ष तुल्सीराम शर्मा, जिल्ला अध्यक्ष विजयविराज विष्टलगायत आकांक्षी छन्।
महासचिव शंकर पोखरेलनिकट रिजाल र कुनै समय वामदेव गौतमका खास पात्र मानिने शर्मा सबैभन्दा बलिया दाबेदार हुन्। तर प्रदेशसभा सदस्यका सन्दर्भमा भने राष्ट्रिय जनमोर्चाले रोचक मत प्रकट गरेको छ।
संघीयता विरोधी भएकाले आफ्नो वैचारिक मतलाई मध्यनजर गर्दै उम्मेदवारी नदिने नेताहरू बताउँछन्। स्वाभाविक रूपमा प्रदेशसभा ‘क’ र ‘ख’बाट नेपाली कांग्रेस र माओवादी केन्द्रले मौका पाउनेछन्।
प्युठानी एमालेहरू गठबन्धनको त्राशभित्र बाँचिरहेका छन्। उनीहरूले कांग्रेससहितको गठबन्धनको डर झेलिरहेका छन्। ‘हाम्रो संगठन नराम्रो होइन। यहाँ ३/४ वटा पार्टीहहरू मिलेपछि हामीहरू कमजोर नै देखिन्छौँ। त्यसमा गठबन्धनको ठुलो डर छ। तर पनि चुनाव लड्छौँ,’ एमाले प्युठानका एक पदाधिकारी भन्छन्।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया