म्यादीकाे धौलागिरी गाउँपालिका वडा नं. ७ मा बुवा खड्कबहादुर थापा र आमा दिलमाया थापाको कोखबाट अति सामान्य परिवारमा जन्मेका केशव थापाको सानैदेखिको सपना थियो, खेलाडी बनेर देशको नाम चम्काउने।
त्यसैले उनी पढाइमा मात्र होइन, खेलकुदमा पनि उत्तिकै सक्रिय थिए। त्यतिमात्र होइन, उनी घरका काम गर्नमा पनि निकै सिपालु थिए।
उनको लागि जंगल गएर घाँस दाउरा ल्याउनु कुनै नौलो कुरा थिएन। एकदिन उनी घाँस काट्न रुखमाथि चढे। तर दुभार्ग्यबस २०६७ सालको पुसमा उनी रुखबाट झरेर भुइँमा बजारिए। जसकारण उनको मेरुदण्डमा चोट लाग्यो।
घाइते भएका उनी उपचारका लागि काठमाडौं आए। तर उनलाई मेरुदण्ड पक्षघात भयो, उनले हिँड्न सक्ने क्षमता नै गुमाए।
लामो उपचारपछि उनी म्यानुअल ह्वीलचियरको सहायताले हिँड्डुल गर्न सक्ने भए।
भर्खरै १९ वर्ष पुगेका उनी स्नातक तह पहिलो वर्ष पढ्दै थिए, त्यसैले उनलाई आफ्नोभन्दा पनि बढी पढाइको चिन्ता लाग्न थाल्यो। तर उनले हिम्मत हारेनन् र पढाइलाई निरन्तरता दिन थाले। उनले समाजशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्।
मेरुदण्ड पक्षाघात भनेको के हो?
मेरुदण्ड पक्षाघात एउटा जटिल र शारीरिक प्रकृतिको अवस्था हो। विभिन्न घटना, दुर्घटनाहरूका साथै मेरुदण्डमा टिबी, ट्युमर, क्यान्सरलगायत विभिन्न कारणले पनि यसको पक्षघात हुने गरेको पाइन्छ।
मेरुदण्डको पक्षघात भएपछि यसको जुन भागमा चोट लागेको हो वा अन्य कारणले सक्रंमित भएको हो, त्यो भागभन्दा तल अधिकांश व्यक्तिमा चेतना र शारीरिकको चलायमानता (प्यारालाइसिस) पुरै शून्य हुन जान्छ। जसको कारणले चोटको प्रकृतिअनुसार आधा भाग अवस्थाकाे पुरै पक्षघात भइ हिँडडुल गर्न नसक्ने, दिसा–पिसाब थाहा नहुनेलगायत अत्यन्तै जटिल समस्याहरू झेल्नु पर्दछ।
कसरी सुरू भयाे मेरुदण्डीय पक्षघात समूह नेपाल?
वि.स. २०७२ साल १२ गते शनिबारको दिन काठमाडौंमा एक्कासी भूकम्प गयो। भूकम्पले ठुल्ठुला भवनहरु भत्काए। कयौँको ज्यान लियो, धेरै मानिसहरू शारीरिक रुपमा अपाङ्गता भए भने मेरुदण्ड पक्षघात हुने व्यक्तिहरुको संख्या उत्तिकै भए।
त्यही भूकम्पमा मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरुको शिक्षालाई निरन्तरताको वातावरण बनाउनको लागि उनीलगायत सात जना मिलेर सामाजिक संस्था दर्ता गरे। जहाँबाट उनीहरूले मेरुदण्ड पक्षघातको कारण अपाङ्गता भएका विद्यार्थीहरुलाई आवासीय होस्टेल सञ्चालन सुरू गरे।
आफूहरूले जस्तो ‘ह्वीलचियर’ को सहारा लिने मानिसहरुको आत्मविश्वास बढाउनको लागि ‘मेरुदण्डीय पक्षघात समूह नेपाल’ को स्थापना गरेको उनले बताए।
‘सुरुमा अपाङ्गता भएकाहरुको आत्मविश्वास बढाउन जरुरी छ’, उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘त्यसैले हामीले मेरुदण्डीय पक्षघात समूह नेपाल खडा गरेका हौँ।’
मेरुदण्डीय पक्षघात समूह नेपालको उद्देश्य के हो?
आठ वर्षअघि सुरु भएको उक्त संस्थाको मुख्य उद्देश्य भनेकै अपाङ्गताहरुको आत्मविश्वास बढाउनु हो। तर संस्थाले अपाङ्गता भएका भाइबहिनीहरूको आत्मविश्वास मात्र होइन, उनीहरुलाई ‘प्लस टु’ सम्मको शिक्षा पनि दिने गरेको छ।
अहिले संस्थामा १० देखि २० वर्षसम्मका १५ जना मेरुदण्ड पक्षघात भएका ह्वीलचियर प्रयोगकर्ता भाइबहिनीहरु छन्। जसको मेडिकललगायत खानपिनको हेरचाहमा संस्थाका महासचिवसमेत रहेका केशवसहित संस्थाका सदस्यहरू खटिरहेका छन्।
‘जो भाइबहिनी अपाङ्गता हुनुभएको छ, उनीहरुलाई यहाँ ल्याउँछौँ अनि कक्षा १२ सम्म अध्ययनको व्यवस्था गरी समाजमा पुनर्स्थापना बनाउन सहयोग गर्दछौँ’, उनले भने, ‘हाम्रो संस्थाको उद्देश्य लामो समयसम्म भाइबहिनीहरुलाई यहीँ राख्ने होइन, बरु यहाँ सक्षम बनाएर आफ्नो अवस्थालाई पूर्ण रुपमा स्वीकारेर जीवन अगाडि बढाउन् भन्ने हो।’
आफ्नो संस्थाबाट गएका १७ जना भाइबाहिनीहरु अहिले कोही जागिर त कोही अध्ययन गर्दै गरेको उनी बताउँछन्। ‘यहाँबाट गएका कुनै भाइबहिनी काममा लागिरहेका छन्, कोही खेलकुदमा आवद्ध छन्’, उनले भने।
टेबल टेनिस च्याम्पियन केशव
आफू सपाङ्गबाट अपाङ्गता भएपछि उनी नेपाल अपाङ्ग संघ नेपालको खगेन्द्र नवजीवन गृहमा बस्न थाले। त्यहीँबाट उनले सिके बास्केट बल र टेबल टेनिस खेल्न।
खेल्नमा रुचि राख्ने उनी पारा टेबल टेनिस च्याम्पियनसमेत भए। त्यतिमात्र नभइ उनले अन्तर्राष्ट्रिय स्तरका थुप्रै खेलहरु खेलिसकेका छन्।
२०१४ मा बंगलादेशमा भएको एशकन इन्टरनेशनल टेबल टेनिसमा उनले ‘गोल्ड मेडल’ नै हात पारिसकेका छन्। त्यसैगरी उनी जापान, ताइवान, पोल्याण्ड, थाइल्याण्डलगायतका ठाउँहरुमा खेल खेल्न गइसकेका छन्।
भुटानबाट इन्टरनेशल पारा टेबल टेनिस कोच लेभल वानको तालिम लिएका उनी कोचका रुपमा समेत परिचित छन्।
थापाले अपाङ्गता मात्र होइन, सपाङ्गलाई समेत प्रशिक्षण दिँदै आएका छन्। त्यसैले त उनले आफ्नो संस्थाका भाइबहिनीलाई सधैँ हौसला दिने गरेका छन्।
मेरुदण्डीय पक्षघात समूह नेपालमा के छ समस्या?
सपाङ्गहरुले जस्तो अपाङ्गता भएकाहरुले पनि राम्रोसँग पढ्न पाउनुपर्ने उनको चाहना हो। तर हालैसम्म पनि धेरै ठाउँहरु अपाङ्गमैत्री नभएकाले आफूहरुलाई समस्या भएको उनले बताए।
संस्थाका भाइबहिनीहरुले चाहेअनुसारको विद्यालयमा पढ्न नपाउनु नै मेरुदण्डीय पक्षघात समूह नेपालको मुख्य समस्या भएको उनी बताउँछन्।
‘हामी जस्ताको लागि अपाङ्गमैत्री स्कुल वा कलेज बनेको छैन, जसले गर्दा पढ्न पाउने हाम्रो विकल्प नै छैन’, उनले भने।
त्यसैगरी घरबाहिर निस्किएर कत्तै जाँदासमेत अपाङ्गमैत्री शौचालय नभएको बताउँदै उनले भने, ‘हाम्रो लागि शौचालय पनि समस्याको विषय हो।’
कसरी चलिरहेको छ मेरुदण्डीय पक्षघात समूह नेपाल?
१५ जना किशोरकिशोरी भएको उक्त संस्था राष्ट्रिय संस्था र अन्तर्राष्ट्रिय व्यक्तिलगायत मनकारी दाताहरुको कारण चलिरहेको संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद भण्डारी बताउँछन्।
स्थानीय गोकर्णेश्वर नगरपालिकाले पनि वार्षिक सहयोग गर्दै आइरहेकाे उनले बताए।
‘हामीले केटा र केटीहरुका लागि छुटाछुट्टै घरको ग्राउन्ड फ्लोर भाडामा लिएका छौँ। २ जना केयर टेकरहरुले विद्यार्थीहरुलाई रेखदेख गर्ने, खाना पकाउने, खुवाउने तथा सरसफाइ गर्ने कार्यहरु गर्नुहुन्छ’, उनले भने।
के चाहन्छ मेरुदण्डीय पक्षघात समूह नेपाल?
विगत सात वर्षदेखि सञ्चालनमा आएको संस्थाले मासिक हजारौँ रुपैयाँ कोठा भाडा तिर्दै आइरहेको छ। त्यसैले संस्थाको आफ्नै भवन बनुन् भन्ने उनी चाहन्छन्।
‘अहिले हामीले १५ जनालाई आवासीय व्यवस्थासहितको अध्ययनको व्यवस्था गर्दै आइरहेका छौँ र आगामी दिनहरुमा आफ्नै भवन बनाएर ३५ जनालाई सुविधा दिन चाहन्छौँ’, ५३ वर्षीय भण्डारी भन्छन्, ‘त्यसको लागि हामीलाई सबै जनाले सहयोग गर्न जरुरी छ।’