सुनसरीमा गठबन्धन नहुँदा पनि कांग्रेसलाई सहज, एमालेलाई सकस

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देशभर दलहरु चुनावको तयारीमा होमिएका छन्।

आगामी निर्वाचनका लागि एमालेविरुद्ध पाँचदलीय गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा सिट बाँडफाँटको गृहकार्य थालेको छ।

ठुला दलहरूसंगै साना दलरू पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित हुन थालेका छन्। चुनावको नतिजा कस्तो आउला भनेर चासो र लेखाजोखासहितको अनुमान गर्न थालिएको छ।

४ निर्वाचन क्षेत्र रहेको सुनसरीमा पनि दलहरु चुनावको तयारीमा जुटेका छन्। सुनसरीमा २०७४ को निर्वाचनमा कांग्रेसले ३ र वाम गठबन्धनले १ सिट जितेको थियो।

सुनसरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका थिए। क्षेत्र नम्बर २, ३ र ४ बाट कांग्रेसका क्रमशः सीताराम महतो, विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए।

सुनसरी १ मा पूर्व मुख्यमन्त्रीदेखि अशोक राईसम्मको चर्चा

सुनसरीको क्षेत्र नम्बर १ बाट २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई निर्वाचित भए। २०७४ मा कांग्रेसको सहयोगमा अशोक राई उम्मेदवार बनेका थिए।

तत्कालीन संघीय समाजवादी फोरमका अशोक राई एमालेका जयकुमार राईसँग फराकिलो मतान्तरले पराजित भए। जयकुमारले ४४ हजार ५२८ मत ल्याउँदा उनका प्रतिस्पर्धी अशोक राईले २२ हजार सय २३ मत पाएका थिए।

सुनसरी १ बाट यसपालि प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य प्रतिनिभिसभामा चुनाव लड्ने तयारीमा छन्। टिकट हात पार्नका लागि उनले पार्टीभित्रैबाट प्रदेश १ का सभामुखसमेत रहेका प्रदीपकुमार भण्डारीको चुनौती सामना गर्नुपर्नेछ। वहालवाला संसद जयकुमार राई पनि टिकट लिने दौडमा छन्।

गठबन्धनले यस क्षेत्रमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईलाई उम्मेदवार बनाउने चर्चा छ। राईले केही दिनअघि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। गठबन्धनको अर्को दल नेपाली कांग्रेसका मीन विश्वकर्मा पनि टिकट हत्याउने दौडमा छन्। विश्वकर्मा हाल समानुपातिक सांसद छन्।

२ मा नयाँ अनुहारको चर्चा

२०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसका सीताराम महतोले वाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदीलाई पराजित गरेका थिए। महतोले ४१ हजार ४९५ मत ल्याउँदा माओवादीका सुवेदीले ३५ हजार ३४९ मत पाएका थिए।

यसपटक कांग्रेसले युवा उम्मेदवारलाई टिकट दिने चर्चा छ। यो क्षेत्रमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र राजीव ढुंगानालाई उम्मेदवार बनाउने चर्चा छ। ढुंगाना नेविसंघका पूर्व सभापति हुन्। वहालवाला सांसद महतो पनि देउवा पक्षकै नेता हुन्। उनले पनि आकांक्षा देखाइरहेको बताइएको छ।

एमालेका भीम आचार्य क्षेत्र नम्बर १ बाट नपाएको खण्डमा २ बाट उम्मेदवार बन्ने चर्चा छ। एमालेबाट रेवतीरमण भण्डारीको पनि चर्चा छ।

यस क्षेत्रमा माओवादीबाट सरस्वती पोखरेलको पनि चर्चा छ। उनी हाल प्रदेशसभाकी उपसभामुख हुन्।

३ मा गच्छदारको विकल्प खोज्दै कांग्रेस

सुनसरी क्षेत्र नम्बर ३ का सांसद विजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बित अवस्थामा छन्। विशेष अदालतमा विचाराधीन रहेको मुद्धाबाट सफाइ पाएमात्र गच्छदार उम्मेदवार बन्न सक्छन्। उम्मेदवारी मनोनयनअघि नै फैसला भएर सफाइ नपाएको खण्डमा कांग्रेसले गच्छदारको विकल्प खोज्नुपर्ने छ।

२०७४ को निर्वाचनमा एमालेकी भगवती चौधरी गच्छदारसँग झिनो मतले पराजित भएकी थिइन्। गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन्।

यस पटक पनि एमालेले चौधरीलाई नै उम्मेदवार बनाउने निश्चित जस्तै छ। पटकपटक गच्छदारसँग पराजित चौधरी गच्छदारको अनुपस्थितिमा बाजी मार्ने दाउमा छिन्।

कांग्रेसले भने प्रदेश १ का संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य राजीव कोइरालालाई उम्मेदवार बनाउने चर्चा छ। तर, कोइराला मुख्यमन्त्री बन्ने दाउमा रहेकाले उनी पुनः प्रदेशमै दोहोरिने सम्भावना छ।

सुनसरी ४ मा कार्की र कुसियत

०७४ मा सुनसरी ४ बाट निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की अहिले सञ्चार मन्त्री छन्। कार्कीले अघिल्लो निर्वाचनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए। श्रेष्ठले २५ हजार ७५० मत पाएका थिए भने कार्कीले ३२ हजार ३४७ मत पाएका थिए। श्रेष्ठ निर्वाचनकै मुखमा राप्रपाबाट एमाले प्रवेश गरेका थिए।

सञ्चारमन्त्री कार्की र राष्ट्रपति विद्यादेवी भण्डारी नातेदार हुन्। कार्की र भण्डारी फुपु-मामाका छाेराछोरी हुन्। ७४ को निर्वाचनमा भर्खर राप्रपा त्यागेर एमालेमा आएका श्रेष्ठलाई टिकट दिएर आफ्नो नातेदारलाई जिताउन सहयोग गरेको राष्ट्रपति भण्डारीमाथि आरोपसमेत लागेको थियो।

यस क्षेत्रमा यसपटक एमालेले प्रदेश सांसद जगदिश कुसियतलाई उम्मेदवार बनाउने चर्चा रहेको छ।

यस्तो छ स्थानीय तह निर्वाचनको परिणाम

१२ पालिका रहेको सुनसरीमा स्थानीय तहको मत परिणामअनुसार कांग्रेस बलियो देखिएको छ। कांग्रेस एक्लैको बाहुल्यता रहेको सुनसरीमा गठबन्धन हुँदा एमालेलाई चुनाव जित्न सहज छैन।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार सुनसरीमा कांग्रेसले १२ मध्ये ७ पालिकामा प्रमुख जितेको छ। ६ पालिकामा उपप्रमुख जितेको छ।

एमालेले तीन पालिकामा प्रमुखसहित ५ पालिकामा उपप्रमुख जितेको छ। सुनसरी जसपा र स्वतन्त्रले एक/एक पालिका प्रमुख जित्दा माओवादीले एउटा उपप्रमुख मात्र जितेको छ।

प्रकाशित मिति: : 2022-08-15 19:30:00

प्रतिकृया दिनुहोस्