टापुमाथि आक्रमण गर्न तम्सियाे चीन, अमेरिका भन्छ– ताइवान सुरक्षित छ

Photo - AFP
Photo - AFP

चिनियाँ सैन्य अभ्यासले ताइवानमाथि दिनदिनै थप त्राश थपिरहेको छ। शक्तिशाली जनमुक्ति सेनाले समुन्द्रदेखि आकाशसम्म कब्जा जमाएको छ।

त्यसो त चीनले ताइवान टापुमाथि आक्रमणको तयारी तीव्र पारेको ताइवानका शीर्ष कूटनीतिज्ञले बताएका छन्। तर बेइजिङले आफ्नो द्वन्द्व मार्ग विस्तारै बदल्ने अमेरिकी रक्षा विभागका शीर्ष अधिकारीको दाबी छ।

उनी भन्छन्, ‘चिनियाँ राष्ट्रपति युद्धको चाहँदैनन्। उनी फेरिएका छन्। आफ्नो योजना परिवर्तन गर्न खोजिरहेका छन्। ताइवान सुरक्षित छ।’ 

गत हप्ता अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सैन्य अभ्यासको आतंक मच्चाएको छ। टापुलाई चारैतिरबाट घेरेको छ। सैन्य अभ्यासले चीन–ताइवानबीच थप द्वन्द्व निम्त्याउने जानकारहरू बताउँछन्।

जनमुक्ति सेनाको डरलाग्दो सैन्य अभ्यासलाई ‘ताइवानमाथि आक्रमण गर्नुपूर्व’को पूर्ण तयारी मान्छन्। चिनियाँ हर्कतले ताइवानीहरू त्रसित छन्। ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनको वास्तविक मनसाय बेग्लै रहेको खुलासा गरेका छन्।

‘ताइवानप्रति बेइजिङले देखाएको व्यवहार एउटा बहाना मात्र हो। चिनियाँ महत्वाकांक्षा र प्रभाव ताइवानभन्दा निकै टाढासम्म फैलिएको छ,’ मन्त्री वुले भने।

प्रजातान्त्रिक टापु–राष्ट्र ताइवानबाट सभामुख पेलोसी अमेरिका फर्केलगतै चीनले प्रारम्भिक सैन्य अभ्यासअन्तर्गत थप हवाई र नौ सेना तैनाथ गरेको छ। बेइजिङले आफ्नो हिस्सा दाबी गर्दै ताइवानमाथि सैन्य दबाब जारी राखेको हो।

दक्षिण चीन सागर, पहेंलो सागर र बोहाइ सागरमा अर्को महिनासम्म सैन्य अभ्यासको नयाँ शैली चल्ने चिनियाँ अधिकारीले जनाएका छन्। चिनियाँ जनमुक्ति सेना– पीएलएको पूर्वी थिएटर कमाण्डले ताइवान वरपरको समुन्द्री र हवाई क्षेत्रमा नाकाबन्दी गरेको छ।

पीएलएले सोमबार ताइवान वरपरको समुन्द्रमा १३ युद्धपोत, कैयौँ लडाकु विमानसहित एन्टी–पनडुब्बी र समुन्द्री भागमा उतारेको थियो। अभ्यासमा संलग्न सैन्य उपकरणमध्ये आधाले ताइवान स्ट्रेटको मध्य–रेखा पार गरेको ताइवानले जनाएको छ।

अमेरिकी नीतिका रक्षा–सचिव कोलिन काहलले चीनले ताइवानलाई कब्जा गर्न सक्छ भन्नेमा विश्वास गर्दैनन्। उनी भन्छन्, ‘आगामी दुई वर्षमा चीनले ताइवानलाई सैन्य रूपमा कब्जा गर्न सक्दैन तर यसक्षेत्रमा अर्को एउटा नयाँ योजना बनाउँछ। चीनले स्पष्ट रूपमा ताइवानमाथि जबरजस्ती गर्न खोजेको छ। यत्ति भनौँ, चीन आफूले खनेको खाल्डोमा आफैँ पर्नेछ।’

ताइवान छेउछाउ सैन्य आतंक मच्चाइरहेको चीनप्रति आफूहरू चिन्तित नभएको अमेरिकी राष्ट्रपति जो बाइडेनले स्पष्ट पारेका छन्। तर उनी चिनियाँ गतिबिधिप्रति भने थप चिन्तित छन्।

‘जहाँसम्म अन्तर्राष्ट्रिय कानुनले अनुमति दिन्छ, त्यहाँसम्म उडान जारी राख्छौँ’ भन्ने अमेरिकी चेतावनीप्रति चिनियाँ अधिकारीहरू दुःखी छन्। उनीहरू भन्छन्, ‘अमेरिकाले अब यस्तो भाषा नबोलोस्। यो राम्रो संकेत होइन।’

रक्षा सचिव काहलले सभामुख पेलोसीको ताइवान भ्रमणका क्रममा चुपचाप देखिएको पेन्टागनको मौन कूटनीति पनि झल्काउने प्रयास गरेका छन्। बेइजिङले सभामुख पेलोसीको भ्रमणप्रति क्रोधित प्रतिक्रिया दिँदै ‘सबैभन्दा बलियो प्रतिकार’को धम्की दिइरहेको छ।

पीएलएले पहिलोपटक ताइवानको मुख्य टापुमा मिसाइल प्रहार गरेको गर्यो। त्यो मिसाइल ताइवानको किनार हुँदै जापानको विशेष आर्थिक क्षेत्रमा खसेको थियो। अमेरिकी सेनाले यस क्षेत्रमा युद्धपोत र विमान तैनाथ गरेर चिनियाँ हर्कतको गतिलो जवाफ दिएको छ।

प्रकाशित मिति: : 2022-08-10 12:23:00

प्रतिकृया दिनुहोस्