प्रहरीलाई नै गिज्याइरहेको ट्राफिक लाइट : बत्तीमुनि बसेर सिट्ठी फुरूरू

कमल प्रभात

काठमाडौं
Breaknlinks
Breaknlinks

काठमाडौं उपत्यकाका अधिकांश सडकमा ट्राफिक लाइट छन्। तर कतिपय त सञ्चालनमै आएकाे देखिँदैन। केही लाइटहरु भने सञ्चालनमा आए पनि चलेकै देखिँदैन। विषेश गरेर थापाथली चोक, सिंहदरबार अगाडि, नयाँ बानेश्वर चोकका ट्राफिक लाइटहरु बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म पहेँलो बत्तीमा मात्र झिपिक-झिपिक गरिरहेका हुन्छन्।

लाइटले सवारी साधनको ट्राफिक व्यवस्थापन गरिरहेका हुन्छन्। उपत्यकाको यात्रा गर्दा देखिने एउटा दृश्य हो, झिपझिप बल्ने लाइटको मुनि बसेर सिट्ठी फुक्ने ट्राफिक प्रहरी।

सामान्यतया ट्राफिक लाइट सवारी साधन व्यवस्थापन प्रविधिमार्फत गरिनु भन्ने अर्थ लाग्छ। तर नेपालमा भने प्रविधिको प्रयोगलाई प्रयोगभन्दा पनि देखाउने दाँतको रुपमा राखिएको छ। उपत्यकामा त झन १४ सय ट्राफिक प्रहरी सवारी साधनको दैनिक चापको व्यवस्थापन गरिरहेका हुन्छन्।

साविकको महानगरीय ट्राफिक महाशाखा र अहिले काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा समय–समयमा प्रमुखहरु फेरिँदा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन गर्छौँ वा जान्छौं भन्दै खोक्ने गरेका छन्। तर व्यवहारमा भने ‘हात्ती आयो हात्ती आयो पुस्स’ भएको छ।

नयाँ प्रमुखले प्रचारबाजीका लागि मात्र नारा प्रयोग गरेको देखिन्छ। प्रमुख भएर विदा हुँदा सरकारले स्रोतसाधन उपलब्ध नगराएको, जनतामा चेतना नआएको, सडक साँघुरो भएको भन्दै दोष लगाएर आफू पन्छिँदै जाने गरेका छन्।

तर उपत्यकामा सञ्चान भएका ट्राफिक लाइटको ‘सिङ्क्रोनाइज्’ कसरी गर्ने भन्नेतर्फ कसैको ध्यान गएको देखिँदैन। कहाँ ट्राफिक लाइट राख्नुपर्ने हो वा होइन भन्ने सामान्य काम पनि गरेको देखिँदैन।

अहिले उपत्यकामा भएका ट्राफिक लाइटहरु निरन्तर सञ्चालनमा नआउनु नेपालमा ‘सिङ्क्रोनाइज्’ प्रविधि नभएकाले समास्या उत्पन्न भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका सहप्रवक्ता बालनरसिंह राणाले बताए।

‘उहिले ट्राफिक लाइटमा देखिएको समस्या त्यसलाई सिङ्क्रोनाइज् गर्ने प्रविधि नभएर पनि हो,’ सहप्रवक्ता राणाले,‘हामीले त्यो प्रविधि ल्याउनको लागि छलफलमा छौं।’

उपत्यकामा ट्राफिक लाइट निरन्तर सञ्चालनमा नआउनु प्रविधिको अभावले भएको र सडकको अवस्थाले गर्दा भएको ट्राफिक प्रहरीको भनाइ छ। ट्राफिक लाइट ‘पिक आवर’ मा बन्द गरेर ‘म्यानअल्ली’ अर्थात प्रहरीले सवारी ट्राफिकको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको राणाले बताए।

‘ट्राफिक लाइट सञ्चालन गर्दा कतिपय अवस्थामा सवारी व्यवस्थापन गर्न असहज हुने भएकाले ‘पिक आवर’ मा बन्द गरेर ‘म्यानअल्ली’ सञ्चालन गर्नुपर्ने अवास्था छ,’ सहप्रवक्ता राणाले भने।

अहिले उपत्यकामा भएका ट्राफिक लाइट कुन ठाउँमा आवश्यक छ? कुन ठाउँमा आवश्यक छैन? भन्ने विषयमा अध्ययन गर्न ट्राफिक प्रहरीले एउटा टोली परिचालन गरेको छ। त्यसले सबै विषयको अनुसन्धान गरेर प्रतिवेदन आएपछि त्यसको व्यवस्थापन हुने सहप्रवक्ता राणाले दावी गरे।

बिना योजना उपत्यकाभरि ट्राफिक लाइटै-लाइट

उपत्यकामा बिना योजना वैज्ञानिक अध्ययनअनुसार सडक विभागले ट्राफिक लाइट जडान गरिरहेको छ। ट्राफिक लाइटै-लाइट भएर पनि उपत्यकाको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त छ।

‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी कार्ययोजना–२०७८’ अन्तर्गत ग्वार्को, सातदोबाटो, चापागाउँ दोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, जावलाखेल चोक, दमकल मोड, कानदेवतास्थान, बल्खु चोक, थापाथली, माइतीघर, काठमाडौं प्लाजा, कमलादी मोड, जय नेपाल चोक, सिँहदोवाटो, नागपोखरी, इटालियन एम्बेस्सी मोड, छालगणेश, बालमन्दिर मोड, ज्ञानेश्वर ओरालो चोक, मैतीदेवी चोक, मैतीदेवी मोड, डिल्ली बजार, कलंकी, नयाँबाटो, टेकु, भोटेबाहाल, सोह्रखुट्टे चोक, गल्कुपाखा, डिडिसि मोड, केशर महल, खानी विभाग, दरबार मार्ग दक्षिण गेट र महेन्द्र शालीक चोकमा लाइट राख्ने योजना भएको छ। त्यसमा पनि कतिपय स्थानमा सञ्चालनमा आएका छन् भने कतिपय स्थानमा जडानसमेत भएका छैनन्।

कठमाडौं उपत्यका ट्रापिक कार्यालयका अनुसार अहिले उपत्यकामा जडान भएकामध्ये ४० वटा सञ्चालनमा छन्। १३ वटा ट्राफिक लाइट सञ्चालनको तयारी र ७ वटा स्थानमा जडान हुन बाँकी छन्।

ट्राफिक नदेखे राताे बत्तीमै हुइँकाउँछन् गाडी

सञ्चालनमा भएका ट्राफिक लाइटको प्रयोग सवारी चालकले गर्ने गरेका छैनन्। पिक आवरभन्दा अन्य समयमा सडकमा ट्राफिक प्रहरी नदेखे रातो बत्तीमै गाडी हुँइकाउने गरेका छन्।

‘प्रहरीले सिट्ठी फुकेन भने रातो बत्तीमा पनि गाडी हुइँकाउँछन्। रातो बत्तीमा राकिनसमेत मान्दैनन्, त्यस कारणले ट्राफिक बस्नु परेको हो,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता राणाले भने।

पुरानो भएकाले काम गर्न सकेको छैन : वेदबहादुर भुजेल, सडक विभाग ट्राफिक लाइट प्रमुख

उपत्यकामा भएका ट्राफिक लाइटहरु पुरानो प्रविधिको भएका कारणले राम्रोसँग सञ्चालनमा आउन नसकेको सडक विभागका ट्राफिक लाइट प्रमुख बेदबहादुर भुजेलले बताए।

उनका अनुसार उपत्यकामा अहिले भएका अधिकांश लाइटहरु पुरानो आइसोलेटड प्रकृतिका छन्। तिनीहरुलाई एकअर्कामा इन्टरकनेक्सन गर्न सकिँदैन। त्यसैले उपत्यकाका सबै ठाउँमा समान हिसाबले ट्राफिक लाइटको व्यवस्थापन गर्न नकिएको बताए।

‘हामी अहिले अध्ययनमै छौं, उपत्यकाका रुटलाई कसरी लाइट व्यवस्थापन गरेर चलाउन सकिन्छ भन्ने अनुसन्धान गरिरहेका छौं,’ भुजेलले भने।

ऐनअनुसार उपत्यकामा विभिन्न खाले रुट भएकाले एउटा रुटका लागि एउटै प्रकृतिको सफ्टवयर चाहिने हुँदा ल्याउने चरणमा रहेको छ। ‘उपत्यकाभरिको ट्राफिक लाइटलाई जाम नहुने गरी सञ्चालन गर्न सफ्टवयर आवश्यकता पर्छ, त्यो हामी ल्याउने प्रकृयामा छौं,’ भुजेलले भने।

उनका अनुसार हरेक चोकमा ट्राफिक लाइट राख्नुपर्छ। तर त्यसकाे सञ्चालनमा भने चुनाैती देखिन्छ। उपत्यकामा प्रत्येक ५०/६० मिटरको दुरी एउटा चोक भएकाले त्यसलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण छ।

अनुसन्धान नगरिकन ट्राफिक लाइट राख्दा समस्या देखिएको छः सिताराम हाछेथु, पूर्व प्रहरी निरीक्षक

उपत्यकामा जथाभावी ट्राफिक लाइट राख्दा समस्या देखिएको पूर्व ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सिताराम हाछेथुले बताए।

उनका अनुसार ४ लेन भएको सडकमा आइकन्ट्याक हुने गरी राख्नुपर्ने हुन्छ। साँगुरा सडकमा एकतर्फी बनाउँदा जामको व्यवस्थापन हुनसक्ने उनले बताए।

‘हाम्रोमा ट्राफिक लाइट अव्यवस्थित तरिकाले राखिएको छ। सामान्यतया साँगुरा गल्लीमा ट्राफिक लाइट राख्नु हुँदैन,’ पूर्व इन्स्पेक्टर हाछेथुले भने, ‘सानो सडकमा एकतर्फी बनाउने हो।’

उपत्यकामा महानरपालिका, वडा कार्यालय र स्थानीय टोल समितिले जथाभावी ट्राफिक लाइट प्रयाेग गर्दा लाइटहरुको सिङ्क्रोनाइज् गर्न समस्या आएको छ। ट्राफिक लाइट देशभरमा एउटै खालको हुनुपर्छ, जसले सवारी चालक झुक्किँदैनन्,  दुर्घटना नहुने र जाम नहुने हाछेथुले बताए।

‘हामी कहाँ कतै साना त कतै ठूला लाइटहरु छन्, जसले गर्दा गाडी चलाउने मान्छे झुक्किने अवस्था छ। त्यस्तो हुनुहुँदैन, सबै ठाउँमा एकै प्रकारको लाइट राख्नुपर्छ,’ हाछेथुले भने।

प्रकाशित मिति: : 2022-08-07 20:46:00

प्रतिकृया दिनुहोस्