लुम्बिनी विकास कोषले गर्‍यो रिसोर्टलाई जग्गा दिने निर्णय खारेज

लुम्बिनी विकास कोषले रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरेको छ। 

गुरूयोजना विपरीत निर्णय भएको भन्दै आलोचना भएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मङगलबार बसेको परिषद् बैठकले उक्त निण्र्नयलाई खारेज गरेको हो।

बैठकले क्याम्पेन ग्राउण्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गते गरेको निर्णय खारेज गरेको हो। 

गुरूयोजना विपरीत ‘क्याम्पेन ग्राउण्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय भएको थियो।

परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय पनि गरेको छ। बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्री श्रेष्ठले लुम्बिनी जाने पर्यटकहरुलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको बताए।

यस्तै कोषको परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने बताउँदै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गर्ने निर्णय भएको बताइएको छ।   

प्रकाशित मिति: : 2022-08-02 21:09:00

प्रतिकृया दिनुहोस्