रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाउँँ गाउँपालिका (बसन्तपुर डाँडासम्म) पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ।
हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने जानकारी दिएका छन्। कुल ४ अर्ब ७१ करोडको लागतमा सो परियोजना सम्पन्न हुन लागेको हो।
करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने पाल्पाको बसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माणको चरणमा रहेका छन्।
हाल केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब चार सय मिटर पहुँच मार्गको निर्माण कार्य सम्पन्न भएको छ। तल्लो स्टेसनको सब–स्ट्रक्चरको निर्माणकार्य करिब सम्पन्न भई सुपर स्टक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको हो।
नौवटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ।
केवलकार सञ्चालन आएपछि पाल्पाको तिनाउँ गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा स्थापित बसन्तपुर, नुवाकोट क्षेत्रको विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा लिईएको तिनाउँ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिएका छन्।
तराई र पहाडलाई सजिलै जोड्ने माध्यमको रुपमा केवलकार बनेकाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन्। पालिकाले सो क्षेत्रमा पूर्वधार निर्माणको लागि बजेटसमेत विनियोजन समेत गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका छन्।
केबलकार सञ्चालनमा आएपछि समग्र लुम्बिनी प्रदेशको पर्यटनमा टेवा पुग्ने आँकलन गरेको शेयर सदस्य तेजप्रसाद सुनारले जानकारी दिएका छन्। भारतसँगको सिमा दूरी नजिक भएकोले पनि बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने उनले बताएका छन्।
केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।