भुलभुले उर्थु चौतारा हुँदै रारा जाने वैकल्पिक बाटाे र कर्णाली राजमार्गकाे नाग्म गमगडी खण्ड जाेडिने ठाउँ हाे।
नाग्म हुँदै रारा जान खाेजियाे भने सिंगाे सिंजा उपत्यकाकाे अवलेकन गर्न सकिन्छ भने उर्थु चाैताराबाट जाँदा पटमारा, खाली पाटन र न्याउरीगाड, चाैथालगायत रारा जाने पुरानाे पैदल मार्ग अवलोकन गर्न सकिन्छ।
तर, सवारी साधनको आगमनले पैदल हिड्नेको आँट सदाको लागि लुटिसकेको छ। झण्डै चार घण्टामा रारा पुग्न सकिने याे छाेटाे बाटो स्तरउन्नती भइरहेकाे छ।
पुराना बजारहरु सबै सुकिसक्दा पनि भुलभुले गुल्जार छ। उर्थु चाैतारा हुँदै जाने छाेटाे बाटाे हाेस् या कर्णाली राजमार्गको नाग्म गमगडी खण्ड दुबै ठाउँबाट जाँदा याे विश्रामस्थल बनिदिन्छ। यसकारण पैदल मार्ग हुँदा बनेका सबै बजार सुकिसक्दा भुलभुले झन् चम्कदैछ।
भुलभुलेबाट थाेरै उकालाे गयाे भने डाबको चेकपोष्ट आइपुग्छ। त्यहाँ रारा राष्ट्रिय निकुञ्जको सेना बसेको छ। सेनाले गाडी चेक गरुन्जेल दक्षिणतिरकाे जंगलमा अवस्थित ऐतिहासिक महत्वका भाेजपत्रका रुखहरुले ध्यान खिच्छन्।
१० हजार ५ सय फिटको उचाईदेखि फाटफुट देखिने भएपनि भाेजपत्रकाे खास सुरुवात ११ हजार फिटदेखि हुन्छ। भोजपत्रका रुखबाट कागज जस्ता पत्र निस्कन्छन्।
विवाह र व्रतवन्ध आदि चाडपर्वमा भोज खुवाउँदा पनि भोजपत्रलाई प्रयोगमा ल्याइएको पाइन्छ। ठुल-ठुला भोजपत्रहरुलाई जोडेर त्रिपाल अथवा पालको आकारमा बिछाउने र आँटी छाउने काममा यसकाे प्रयाेग हुन्छ।
त्यस्तै स्याँखु (स्थानीय वर्षादी) बनाउन पनि याे उपयाेगी हुन्छ। जुन वर्षादकाे समयमा खेतीपाती गर्नेलाई निकै सहज हुन्छ। घाउ, चोट-पटक आदि लागेमा भोजपत्रको बैण्डेज बान्ने चलन पनि घाउँघरमा कायमै छ।
प्राचीन कालमा भोजपत्रमा लेखिन्थ्यो भन्ने बुढा पाकाहरु बताउँछन्। राजा महेन्द्र रारामा जाँदा त्यहाँका जनताले भोजपत्रमै अभिनन्दन-पत्र लेखी चढाएका थिए भन्ने कुराले यसकाे थप पुष्टि गर्छ।
चेक पाेष्टमा इन्ट्रीपश्चात अगाडि जुम्ला र मुगुको सिमाना गुच्ची लेक आउँछ। त्यहाँ लेकमा देखिने दृश्यले जाे काेहीकाे मन लाेभिन्छ। प्रकृतिक सौन्दर्यले सबैलाई माेहित बनाउँछ।
त्यसमाथि उस्तै उचाइ र बनोटका एकैनासे, लहरै लाइनमा परेड खेल्न लागेका सेनाजस्ता देखिने रुखका दृश्य पर्यटकका लागि रुचिकर बनिदिन्छन्।
वर्षायामा फुलेका विभिन्न रंगका फूलहरुले मन चंगा बनाउँछन्। सँगै बुकीका खाँदै खेलीरहेका घाेठाघाेडी र बचेराहरु देख्दा त्यहीँ बसाैं बसाैं हुन्छ।
सिमसिमे पानी र कुहिराेसँगै मन हराउने घुच्ची लेखकाेे दृश्य धित मरुन्जेल हेर्नका लागि एकछिन राेकिनै पर्छ।