मार्गरेट थ्याचरको अविच्छिन्न ११ वर्षे शासनकालका बेला बेलायतमा विपक्षी लेबर पार्टी आफ्नो राजनीतिक औचित्य पुष्टि गर्नुपर्ने संकटबाट गुज्रिँदै थियो । फेरि पनि कन्जर्भेटिभहरुकै बोलवाला हुने हो कि भन्ने डर लेबरका नेता कार्यकर्तामा थियो । तर विकल्पको बाटो के होला भन्नेमा उनीहरु एकदमै दुविधाग्रस्त थिए ।
टोनी ब्लेयरले आफ्नो पहलमा एउटा नयाँ प्रस्ताव अघि सारे : नागरिकको मनमा भविष्यमुखी केही कल्पनाहरु भरिदिने । आसन्न सरकारमा हामी जाँदैछौं भन्ने सन्देशसहित उनले प्रवुद्ध, विज्ञ र उत्साही युवाहरुको टोली बनाए । त्यसको नाम थियो, ‘नेशनल पोलिसी फोरम ।’ ब्लेयरभन्दा अघिल्ला नेता जोन स्मिथले यसको अगुवाइ गरे ।
आगामी बेलायतको मार्गचित्र कस्तो हुने भन्नेबारे त्यसले मिहीन अध्ययन गर्यो । पार्टीभित्रका मान्छेमात्रै होइन, बाहिरका तीक्ष्ण दिमागहरु घुमाउरो पारामा लेबर पार्टीको छातामुनि देखिन थाले । लेबर पार्टीले जनमत पायो भने कसरी सरकार चलाउनेछ भन्नेबारे केस्रा–केस्रा योजना बनायो, नेसनल पोलिसी फोरमले ।