दाङमा युवतीलाई झुक्याएर बिहे गराउन केटाकाे घरमा पुर्‍याएपछि‍‍‍...

Symbolic photo
Symbolic photo

दाङको घोराही उपमहानगरपालिका–१० की रोशनी लामिछानेले साउन २ गते आफ्नो घरमा साथीलाई बोलाइन्। मेहन्दी लगाउने बहानामा उनले साथीलाई बोलाएकी थिइन्।

उनीहरुले मेहेन्दी लगाउँदै गर्दा एउटा स्कार्पियो गाडी आयो। तुलसीपुर–७ का २८ वर्षीय शिशिर वादी गाडी लिएर आएका थिए। गाडी आएपछि रोशनी र उनकी ४० वर्षीया आमा सीता केसी लामिछाने मिलेर युवतीलाई बलजफ्ती गाडीमा बसाले। गाडी गुड्यो।

उनीहरुले ती युवतीलाई तुलसीपुर–७ बस्ने ३५ वर्षीय प्रकाश वलीको घरमा लग्न गाडी चलाए। दायाँ र बायाँ आमा–छोरी बसे र बीचमा ती युवतीलाई राखे। तर युवती प्रकाशको घरमा जान चाहँदैन थिइन्।

गाडी चलेकै समयमा युवतीले आफूलाई प्रकाशको घरमा बलजफ्ती लग्न लागिएको म्यासेज आफ्नो बुवालाई पठाइन्। उक्त कुरा उनको बुवाले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जानकारी गराए। अनि प्रहरी प्रकाशको घरमा पुग्यो। घरमा पुग्ने समयमा युवतीलाई लगिसकिएको थियो।

प्रहरीले उनलाई त्यहाँबाट उद्धार गरेर घरमा पुर्यायो।

अनि के भयो?

त्यसपछि प्रहरीले घटनाका बारेमा सोधपुछ गर्यो। अनि खुल्यो युवतीलाई प्रकाशको घरमा बलजफ्ती पुर्याउनुको उदेश्य। प्रकाशको घरमा लग्नुका पछाडि विवाह गराउने उदेश्य रहेको सीताले बताएकी छन्।

प्रहरी स्रोतका अनुसार केटा र केटीबीच मंसिरमा विवाह गर्ने सामान्य कुरा चलेको थियो। विवाह गर्ने कुरा चलेकै भरमा सीताले युवतीलाई किन अपहरण गरिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।

स्रोतका अनुसार सीता युवतीकी अन्टी नाता पर्छिन्।

युवतीले आफूलाई अपहरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी छन्। उनले साथी रोशनी, रोशनीकी आमा सीता र गाडी चालकविरुद्ध मुद्धा दर्ता गराएकी हुन्।

मुद्धा दर्तापछि तीन जनालाई पक्राउ गरेर अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिए।

अपहरणको बारेमा आफूलाई थाहा नभएको केटा पक्ष (प्रकाश वली) ले प्रहरीलाई बताएको छ।

प्रकाशित मिति: : 2022-07-22 14:50:00

प्रतिकृया दिनुहोस्