प्रकृति र भावनाहरुसँगको शब्दसङ्गम ‘सहयात्री शब्दहरू ’

Breaknlinks
Breaknlinks

कविता जब प्रकृति, प्राकृतिक सुन्दरता र भावनाहरुको संगम बनेर आउँछ, त्यसले अवश्य पनि थप सुन्दरता लिएर आउँछ। कुनै गद्य वा पद्य साहित्य सिर्जनाका स्रोत भनेकै प्रकृति, सुन्दरता, बासनालगायत हुन्, जसको लागि ती वस्तुहरुलाई आत्मसाथ गर्न सक्ने गहिरो भावनाको खाँचो पर्दछ।

जब भावना वा रहरहरुले यस्ता काव्यिक तत्वहरुलाई मापन र मूल्यांङ्कन गर्दै जान्छ, साथै शब्दमा रुपान्तरण गर्दै जान्छ, तब अवश्य कवि दीपेन्द्रसिंह थापाको ‘सहयात्री शब्दहरु’ जस्ता कविता संग्रहले जन्म लिई साहित्यिक काव्यिक जगतमा मूर्तरुप पाउँछ।

कवि दीपेन्द्रसिंह थापाले जीवन, जगत, प्रेम, प्रकृति, देश, दुनिँया लगायत गहिरा भावनाहरुको संयोजन गरी ‘सहयात्री शब्दहरु’ सिर्जना गरेको पाइन्छ। उनका भावनाहरुको गहिराइ र शब्दहरुले पनि संगसंगै यात्रा गरेको छन्। छत्तिस कविताहरु रहेको कवि दीपेन्द्रसिंह थापाको ‘सहयात्री शब्दहरु’ कवितासंग्रहले विश्वशान्ति, मानवता, प्रेम, सद्भभावलगायत सन्देश दिन खोजेको छ भने वर्तमान शासन व्यवस्थाको वितृष्णा पनि पोखेको पाइन्छ।

‘एउटा आभास र आयाम भएर बाच्नुको अर्थ’ भन्दै ‘विन्दु’कवितामा जीवनविन्दु जीवन प्रारम्भ र प्राप्तिको लयमा लम्किरहेको कविताको रुपमा लिन सकिन्छ। ‘पहिचान र प्रश्न’ कवितामा ‘आफ्नै सिर्जनामा पनि रङ भर्न सक्यौं कि सकेनौं?’ भन्दै प्रतिप्रश्न गरेका कविले प्राकृतिक पहिचानमात्र अन्तिम पहिचान हो त्यो भन्दा बाहेक पाउनु, गुमाउनु, हुनु, नहुनु, लगायतले केही अर्थ राख्दैन भनी सन्देश दिन खोजेका छन। ‘राजमार्गकी राजकुमारी’ले राजमार्गमा हुने अनेक गतिविधि मध्ये तरुनी धन्दा एक हो भनी वर्णन गरेका छन्। ‘व्याप्ति’ कवितामा

‘आरम्भ नै नभई भएका अन्त्यहरु पनि त् छन् यहाँ,
अन्त्य नै नभई भएका आरम्भहरु पनि त छन् यहाँ’

भन्दै व्यङ्ग्यात्मक काव्यिक प्रस्तुति गरेका छन्। ‘स्वत्वको विघटन’ बिकासले निम्त्याएको वैभवता र सुन्दरताको बखानसंगै यसले गर्ने बिनासको चिरफार गरेको छ। ‘मन्त्रणा’मा ‘आकाश कहिलै छेकिनु हुन्न, प्रकाश कहिल्यै थुनिनु हुन्न्न’ भनि निषेधकविरुद्ध लेखिएको कविता पाइन्छ। ‘सानी छोरी र कविता’ र ‘आफैंसम्म यात्रा’ कवितामा जीवन भन्नु नै कविता हो र आनन्दानुभूतिको यात्रा आफैभित्र सयर गरी कोरेका कविताहरु हुन्।

‘माटो र मान्छे’ मा ‘माटोभन्दा बढी केही रोज्दिनँ म, मान्छे भन्दामाथि केही खोज्दिनँ म...शान्तिको सास...परेवा उडेको आकाश’ भन्दै जुनसुकै धर्म संस्कार माने पनि माटो र शान्ति सबैको साझा र अन्तिम गन्तव्य हो भन्ने सन्देश दिएका छन्। ‘आदिम तिर्खा’, ‘असमय आकृति’ र ‘पर्खालभित्र’ कविताहरु कतै शासक र कतै शासन व्यस्थाप्रतितीखो व्यंग्य गरेका छन्। पर्खालभित्र बस्नेहरु आफ्नै कुकर्मले असुरक्षित अनुभूति गर्ने र पर्खाल साथै सुरक्षा बढाइ रहने घोचपेच देखिन्छ। ‘पर्खाल बाहिर’ कविता स्वतन्त्रताको संकेत गर्दछ, भने ‘पुरातन नायक’ र ‘दृष्टि बिनाको दिन’ पुनारा शासक र निजका सन्तानहरु अहिले पनि त्यही शासन व्यवस्थाको धँङ्धङ्गी झार्दै कसरी अहंकार पोख्छन भन्ने दृष्टान्त राखेका छन्। ‘आस्था आढेर शिरमा‘दुख सुख त अनुभूति हो,
पग्लनु छ 
मनको याम 
अग्लनू छ 
जीवनको आयाम’, 
भन्दै अनुभूतिजन्य कुराहरु संग्रह गरी भावना शब्द संयोजन गरेका छन्। ‘फरक फूल’ कवितामा हरेक फूल फरक हुन्छन्, त्यसको सौन्दर्यता, सुगन्धतालगायत सबै मौसम, समय वा परिवेशअनुसार फरक वा समान हुन्छन् भन्दै प्रकृतिसंग रमाएका छन्।

‘निलो रङकी चरीप्रति’ कविताले शान्तिको सन्देश लिएर हिँड्नेको कथा कोरेका छन्। ‘माटो र मठाधीशहरु’ कवितामा ‘माटोकै टिका लगाउँछन् र माटोमै पिसाब गर्छन्, मातेका मठाधीशहरु’ भन्दै जुन माटोमा जन्मे हुर्के त्यही माटोलाई गरेको बितृष्णा ओकेलेछन्।

कालातीत शिखर’ कविताले योगदान गर्ने योद्धाको उचाई शिखरभन्दा पनि उचो हुन्छ भन्दै ‘के साँच्चै, सगरमाथाभन्दा अग्लो छैन, एउटा  योद्धाको उचाई’? भनि प्रश्न गरेका छन्।

‘उत्कर्षको अघिल्तिर’ कविताले आफ्नो कर्म, धर्म बाध्यताले निभाउने गर्दछ, त्योभन्दा पर त परन्तुमात्र रहन्छ भन्दै ‘मृत्यु र म’ कवितामा यदि मृत्युको भय नहुने हो भने मानव जीवनको पनि अस्थित्व गौण हुने थियो कि भनी लेखेका छन्। ‘जीवनका नाममा’ कवितामा भने जीवन बाँच्नु अर्थ कुर्ने प्रयास गरेका छन्।

‘परिवर्तन’, ‘अमुर्त्यपन’, ‘सिमान्त सन्दर्भ’ र ‘सिमसारको संगीत’ कविताले अमूर्त, अपूर्ण, अधुरोले भरिभराउ छ जिन्दगी, निरासाका गीतले मुल्यहीन सपनाको संगीतले सजिएको जिन्दगीको वर्णनव्यथा छ। ‘गर्व र ग्लानी’ कविताले विश्वमा गर्व गर्न लायक सबै चिज वस्तुहरु नेपालमा हुँदाहुदै पनि ग्लानी गर्न पर्ने शासक र पात्रहरु पनि यहिँ छन् भनि लेखिएको पाइन्छ।

‘सहयात्रा’ मा ‘आरम्भहरु, यात्राहरु, गतिहरु र गन्तव्यहरु’ जस्ताले संगसंगै यात्रा गर्दा पो जीवन जगतको गहिराई बुझ्न सकिन्छ र उचाई नाप्न सकिन्छ भनिएको छ। ‘नसा’ कविता छोटो छ तर कसैको मातमा वा लतमा नसा चढेपछि एकसुरे भएको जीवनको गहिराइ विन्दु कोरेका छन्।

यस्तै ‘स्पर्श’ कविताले प्रेम र जीवनको मधुरता कोरेको छ। ‘मेरी उनी’ कवितामा प्रेमिकालाई सम्बोधन गर्दै प्रेमका रेसाहरु कोरेका छन्। ‘चस्माको रङ’ कवितामा चस्मालाई सांकेतिक रुपमा परम्परागत हेराइ र उस्तै दृष्य भनी व्यंग्य गरेको छन्। ‘अक्षरहरुको आकाश’ कवितामा 
‘अक्षरहरु भनेका उज्यालोका आयामहरु हुन् 
 उज्यालो विना आकाश देख्नै सकिँदैन 
 अक्षरहरुले नबोकेको उचाइ 
उचाई जस्तो हुँदैन...’।
भनि अक्षर चेतना हो, अक्षर ज्योति हो, अक्षर उज्यालो हो, यो प्रज्ञा हो, भन्दै अक्षर र शिक्षालाई तौलभार रुपमा प्रस्तुत गरेका छन्। यस्तै अन्तिम कविता ‘बाटो’ ले जो जता गए पनि बाटो त्यही रहन्छ। जसले हिमाल, पहाड, तराइ जे-जे जोडेपनि, जे जस्ता यात्रीहरु हिँडाइ रहे पनि बाटो बाटै हुन्छ, उ एक सुरक्षित विगत पनि सधैँ वर्तमान बनिरहन्छ।

कवि दीपेन्द्रसिंह थापाको कवितासंग्रह जति पढ्यो त्यति रस बस्दै जन्छ, दोहोर्‍याइ-तेहेर्‍याइ पढ्न मन लाग्छ। समालोचकीय दृष्टिकोणबाट पठनीय र उत्तम कवितासंग्रह ‘सहयात्री शब्दहरु’ आमपाठक वार्गकालागिसुन्दर काव्यिक संग्रह हो। ‘शब्दहार क्रियसन्स’ले प्रकाशनमा ल्याएको यो कवितासंग्रह एक सय पच्चीस रुपैयाँमा देशभरिका पुस्तक पसलमा पाउन सकिन्छ, जसले पूर्ण काव्यिक स्वाद प्रदान गर्दछ।

(लेखक बसन्तराज पाध्याय, उच्च अदालत दिपायल डोटीका इजलाश अधिकृत तथा नेपाल सरकार न्याय सेवाका अधिकृत हुन्)

प्रकाशित मिति: : 2022-07-24 20:51:00

प्रतिकृया दिनुहोस्