असन-इन्द्रचोक हुँदै चुरागल्ली पुगेपछि नजिकै पर्छ, यारखा टोल। त्यही टोलमा छ, विजय सन्दुराकारले सञ्चालन गर्दै आएको ‘वुड ब्लक प्रिन्ट हाउस।’
काठमाडौंका सन्दुराकारले वुड ब्लक प्रिन्ट गर्न थालेको पनि तीन दशक बितिसक्यो। उमेरले दुई बीस काटेका विजयको दैनिकी काठका ब्लकमा बुट्टा भरेर बित्छ।
उनी बिहान सात बजेदेखि बेलुका आठ बजेसम्म काठका ब्लकहरुमा विभिन्न बुट्टा बनाउनमै व्यस्त हुन्छन्। उनले १५ बर्षदेखि नै सिकेका थिए काठमा बुट्टा भरेर ब्लक प्रिन्ट गर्न। विजयको पुस्तौनी पेशा हो, वुड ब्लक प्रिन्ट गर्ने।
काठमा विभिन्न वस्तुको आकृति टाँस्ने अनि त्यसै आकृति अनुरुप तास्दै, मिलाउँदै जान्छन् र तिनै आकृतिलाई सुन्दर रुप दिन्छन्- विजय। उनी घरी काठमा बिरालो त घरी माछा, कछुवा, घोडा तथा अन्य वस्तुका आकृतिले काठलाई जीवन्त बनाउँछन्।
उनी सानै थिए, उनका बुबा काठकाे ब्लकमा बुट्टा भर्थे अनि उनी हेरिरहन्थे। ‘बुबाले काम गरेको हेरिरहन्थेँ, काठमा चित्रहरु बनाएको देख्दा खुब राम्रो लाग्थ्यो’, विगतलाई सम्झँदै उनले बिएल नेपाली सेवासँग भने, ‘म पनि रमाइलो मानीमानी हरेर बस्थेँ। पुस्तौनी पेशा भएर पनि होला सिक्न रहर लाग्यो। पछि बुबासँगै सिक्न थालेँ।’
विजयले काठमाडौंको पब्लिक युथ क्याम्पसबाट कक्षा १२ सम्म पढे। अनि जागिर खाने सोच बनाए। तर उनले आफ्नो पुर्ख्यौली पेशालाई अघि बढाउन चाहे। उनीसँगै उनका दाजुभाइ पनि यसै काममा सहभागी भए।
उनी आफ्नो पुर्ख्यौली काम सम्हाल्न पाएकोमा खुसी छन्। तर पछिल्लो समय वुड ब्लक प्रिन्ट हराउँदै गएकोमा दुःखी पनि छन्।
‘आफूले आँखा देखेसम्म काम गर्ने हो। आँखा देख्न छाडेपछि यो काम पनि मरेर जान्छ’, उनले भने, ‘पछिल्लो समय मान्छेहरू यस काममा रुचि राख्नै छाडिसके। यसबारे कसैलाई चासो पनि हुँदैन। अब काठमाडौंमा वुड ब्लक प्रिन्ट गर्ने हाम्रो परिवार मात्रै छ। हामीले पनि आँखा देख्न छाडेपछि यो काम मरेर जान्छ।’
वुड ब्लक प्रिन्ट गर्ने काम सजिलो नभएको उनी बताउँछन्। ‘सुरु सुरुमा काम गर्दा कुन ज्यावल(औजार) ले काम गर्ने भन्ने थाहा पाउन गाह्राे हुन्छ। एकै ठाउँमा बसेर एकैनाशले ध्यान दिएर काम गर्न सजिलो छैन’, उनी भन्छन्, ‘धेरै परिश्रम र मेहनत गर्ने मान्छेले मात्र यो काम गर्न सक्छ। यसै सिक्छु भनेर सकिने काम होइन।’
विगत तीस वर्षदेखि ब्लक हाउस सञ्चालन गर्दै आएका विजयको कला विदेशमा निर्यात हुने गर्दछ। नेपाल घुम्न आएका पर्यटक तथा बाहिरबाट अर्डर आउने उनको भनाई छ। ‘वुड ब्लक प्रिन्टको प्रचलन नेपालमा हराउँदै गएको छ। पछिल्लो समय वुड ब्लक प्रिन्ट नेपाल बाहिर जाने गर्छन्। बाहिरबाट घुम्न आएका व्यक्तिले मन पराएर लैजान्छन् र हामी मागअनुसार बनाएर पठाउने काम गर्छाैं’, उनी भन्छन्।
के हो वुड ब्लक प्रिन्ट?
वुड ब्लक प्रिन्ट भनेको काठमा कुँदिएका बुट्टाका खण्डहरुको माध्यमबाट छाप्ने प्रक्रिया हो। यसलाई सर्वप्रथम काठमा कुनै वस्तुको आकृति दिइन्छ र त्यसैअनुसार बुट्टाहरु मिलाउने गरिन्छ। त्यसलाई कामअनुसार कपडा, चिठी आदि जस्ता काममा छाप लगाउन वा बुट्टा बनाउन प्रयोग गरिन्छ।
वुडब्लक प्रिन्ट कपडा प्रिन्ट गर्ने सबैभन्दा पुरानो र सरल प्रवृति हो। जसमा अत्यधिक कलात्मक तरिकाले हातबाट काठलाई सजाइएको हुन्छ।
कसरी सुरुवात भयो वुड ब्लक प्रिन्ट?
‘खास वुड ब्लक प्रिन्ट गर्न चीनबाट थालिएको हो। पछि विस्तारै अरु ठाउँहरुमा पनि प्रचलनमा आयो’, विजयले भने, ‘मेरो परिवारमा वुड ब्लक प्रिन्ट गर्न बाजेहरुले थाले। बाजेहरुले गरेको कामलाई बाले थाल्नुभयो। पछि हामीले पनि निरन्तरता दिन थाल्यौँ।’
ब्लक प्रिन्टको लागि साना तथा मसिना ज्यावलको आवश्यकता पर्ने उनको भनाई छ। ‘काठका बुट्टाहरुमा काम गर्न धेरै प्रकारका ज्यावलहरुको आवश्कता पर्छ। बुट्टाको प्रकार हेरेर ज्यावल छुटाउनुपर्छ। जुन सियो जस्ता मसिना पनि हुन्छन्।’
कोभिड–१९ का कारण व्यापारमा भएका घाटाले काम गर्न नसकिएको उनको गुनासाे छ।
‘कोभिडभन्दा अघि यहाँ केही कामदार पनि थिए तर कोरोनाले काम गर्ने दिएन,’ उनले भने, ‘कोभिडले काम गरेर खाने मानिसलाई पनि काम गर्न दिएन। सबैतिर लकडाउन भयो। सामानको अर्डर आउन छाड्यो, काम पनि भएन। काम गर्दै आइरहेकाहरूले पनि छाड्नुपर्यो।’
पछिल्लो पुस्तमा वुड ब्लक प्रिन्टबारे ज्ञान तथा जानकारी हुनुपर्ने उनी बताउँछन्। ‘वुड ब्लक हाम्रो कला, संस्कृति हो। कलाकाैशलले भरिपूर्ण छ हाम्रो देश। जहाँ भएका हस्तकला तथा कला संस्कृतिलाई जोगाइ राख्नु हाम्रो कर्तव्य पनि हो। जुन पछिल्लो पुस्ताले बुझ्न जरुरी छ।