उठ्दै गाउँहरू

आकाश नखुलेको दिनै खल्लो।

के नमिलेको, के नमिलेको जस्तो। बर्खायाममा घरको यादले अलि बढी नोस्टाल्जियामा लैजान्छ।

डेरा अघिल्तिरको डाँडाले सधैं घरको याद ताजा बनाउँछ।

बिहान उठ्ने बित्तिकै तुवालो हटेर आकाश खुल्छ। मेरो दिन पनि खुल्छ। तब न दिन दिन जस्तो।

०००

बर्खामासमा यात्राको सौभाग्य कमै मिल्छ।

यसपाला मिल्यो। तनहुँको मिछुर्लुङसम्मको। आदिवासी जनजाति पत्रकारहरुको संस्था (फोनिज)को एक कार्यक्रमको मेसोमा तनहुँ जाने मेसो मिलेको थियो। स्याङ्जा, कास्की, बागलुङ, तनहुँ, नवलपुरका पत्रकार साथीहरु थियौं, यात्रामा।

पोखराबाट जम्मा भएर हिँड्दा २ बजिसकेको थियो।

सबै जना भेला हुँदा निकै भुलिसकेका थियौं। जान इच्छुक सकभर कोही नछुटोस् भनेर सजग थियौं। २, ३ बजेपछि त पोखरामा पानी परिहाल्छ बर्खायाममा।

धन्न,

पानी परेको थिएन।

पोखराबाट बस चढेको झण्डै साढे दुई घण्टै लाग्यो मिर्छुलुङ पुग्न।

खैरेनीटारबाट पृथ्वीराजमार्ग छोडेर भीमाद बजार पुग्नै लाग्दा गाडीले एकैछिन ब्रेक लगायो। भिमाद बजार छाडेर उकाले लागेको ४५ मिनेटमा मिर्छुलुङ पुग्यौं।

गाउँकै बाटो भए पनि त्यति अप्ठ्यारो होइन, मिर्छुलुङ। पोखराबाट स्कुटर, बाइकमा पनि सजिलै जान सकिन्छ।

०००

सबै जना गाडीबाट ओर्लियौं।

स–साना थुम्काजस्ता पहाडका पानोरोमा भ्यु'ले तृप्त बनाए। चारैतिर हरियाली, साँच्चै भन्ने हो भने गाउँले मोहित पारिरहेको थियो।

गाउँ छिर्‍यौं। भिमाद– ५ मा पर्दो रहेछ, मिर्छुलुङ।

स– साना चिटिक्क परेका घर। सफा आँगन। बिजुलीबत्तिदेखि इन्टरनेटका तारसमेत पुगिसकेको रहेछ। मुल सडकबाट ५, ७ सय मिटरभित्र लागेपछि मगर लाफा भिलेज रिसोर्टमा थियो, कार्यक्रम स्थल। मगर संस्कृति जगेर्ना गर्न प्रताप रानाले सुरु गरेको भिलेजबारे पोखरा हुँदै थाहा पाएको थिएँ। साँच्चै गाउँले बिर्सनै खोजेको, सहरले कहिलेकसो सम्झिने संस्कृति जोगाउन कम्मर कसेर लागि परेका रहेछन् प्रताप रानाका दम्पती। हामीभन्दा पहिले अरु आगन्तुक पनि पुगिसकेका थिए भिलेज अवलोकन गर्न। भिलेज प्रवेश गर्नुअघि टीका/माला लगाएर स्वागत पायौं। खासमा मिर्छुलुङमा प्रकृतिक सुन्दरताले मात्रै होइन। यहाँको संस्कृतिले पनि लोभ्याइरहेको थियो।

 

०००

हामी जानुअघि नै खाजा तयार भइसकेको रहेछ।

उसिनेको मकै। गाउँकै खुर्सानीमा पिनेको अचार। साँच्चै स्वादिलो थियो। साथीहरु फुरुङ भए।

खाजा खाइसकेपछि नजिकैको थुम्कोमा भ्युटावर बनेको रहेछ। त्यतै लाग्यौं। देश तथा विदेशमा बस्ने सहयोगीहरुसँग चन्दा संकलन गरेर भ्युटावर त बन्यो। तर, भ्युटावर बनाउनुको फाइदा गाउँका लागि एउटै देखिनँ मैले। गाउँलाई हेर्न उचाईं चढिरहनु पर्दैन। गाउँ आफैं अग्लो हो। 
खैर, ग्रामीण पर्यटनलाई सघाउनका लागि भ्युटावर बनेको रहेछ। 

०००

कार्यक्रम सकियो। 

बेलुकाको खाना मगर लाफा भिलेजमै तयार पारिएको थियो।

खानापछि नाँचगानको कार्यक्रम पनि थियो।

नाँचगानको कार्यक्रम ढिला सुरु भयो। निद्राले च्यापेपछि खप्नै नसकेर रिखि भाइ र म सुत्न लाग्यौं। सबैलाई गाउँकै होमस्टेमा बस्ने व्यवस्था मिलाइएको थियो।

कतिहुस्सु भने आफू बसेकै होमस्टेका बुवा आमाको नामै सोध्न बिर्सिएछ। 

०००

रातभरि पानी परेको थियो। बिहान ९ बजेसम्म पनि बिसाएको थिएन।

पानी रोकिने छाँटकाँट नदेखेपछि रुझ्दै निस्कियौं।

खाजा हामी बसेको घरभन्दा मास्तिर तयार हुँदै रहेछ। कोदोको रोटी र अचार। निकै स्वादिलो।

खाजा तयार गर्न भ्याइनभ्याइ थियो। हामी करिब ५० जना थियौं।

सबै जना नउठि सकेकाले। त्यहाँ जम्मा भएकाले खायौँ। नखाएका साथीहरु आउँदै थिए।

२०७२ सालमा खोलिएको होमस्टे मिर्छुलुङका ७२ घरमा रहेछ। ११ घर दलित परिवारबाहेक बाँकी सबै मगर गाउँ रहेछ। भू-कम्पपछि होमस्टेले उठ्दै गरेका गाउँलाई कोरोना महामारीले नराम्रोसँग गलायो। होमस्टे व्यवस्थाप समितिका अध्यक्ष नरेन्द्र रानामगरले फेरि गाउँ उठ्दै गरेको सुनाए। होमस्टेमा कोदोको रोटी, गोलभेडाको अचार, मासको बारा, ढिँडो, सिस्नु, गुन्द्रुक, मौसमी तरकारीसँगै लोकल मासुको तिक्खर स्वाद चाख्न पाइन्छ। मिछुर्लुङमा अतिथिका लागि विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत मगर समुदायको कौरा र नचरी नाच पनि प्रदर्शन हुन्छ। लोप हुने अवस्थामा रहेको कौरा नाचलाई जोगाउने अभिभारा नयाँ पुस्तालाई सुम्पदै रहेछ, मिर्छुलुङ। मैले मिस गरेकोमा थकथकी भो।

अर्को पटक यात्राको संयोग जुरे अवश्य कौरा नाँच हेर्ने छु।

प्रकाशित मिति: : 2022-07-16 21:26:00

प्रतिकृया दिनुहोस्