उपसभामुख निर्वाचन : संसदमा अंकगणित, अनिर्णित लोसपा

फाइल तस्विर
फाइल तस्विर

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २ सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्।

एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन्। उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात् हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ।

सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन्। चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन्। १३४ मत भए बहुमत पुग्ने हुँदा कांग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ।

अनिर्णित लोसपा

१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन। लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने छ।

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन्।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।

प्रकाशित मिति: : 2022-07-15 07:59:00

प्रतिकृया दिनुहोस्