प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ।
प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन्।
‘वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो?’ सांसद पोखरेलको प्रश्न छ। उनले विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ भनी प्रश्न गरे।
‘कहाँ छ आउने वित्तिकै नागरिकता दिने ? भारतमा ७ वर्ष छ। जहाँ पनि कम्तिमा ४/५ बर्ष छ’, उनले भने। सांसद पोखरेलको आग्रह छ, ‘कति पनि हुन्न विवाह गरेर आउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन। यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं।’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ बर्ष पछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो। तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ।
नयाँ विधेयकमाथि संसदमा छलफल सुरु भएको छ।