पत्रकारहरुले पेशागत दक्षता राख्दै सही सूचना प्रवाह गर्नुपर्छ : ईश्वर पोखरेल 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पत्रकारहरुले पेशागत दक्षता राख्दै सही सूचना प्रवाह गर्नुपर्ने बताएका छन्। 

बुधबार प्रेस चौतारी नेपाल, मोरङले विराटनगरमा आयोजना गरेको शालिग्राम–मन्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोह एवं जबज र आजको सान्दर्भिकता विषयक अन्तर–संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले मिडियाहरुले सहि सूचना प्रवाह गर्नुपर्ने बताए।

नेपालका ठुला मिडियाहरुले सत्यतथ्यमा आधारित नभई गलत कुरालाई सम्प्रेषण गरिरहेको आरोप लगाएका छन्। 

तत्कालिन नेकपा एमाले र माओवादीबीचको एकतालाई स्मरण गर्दै पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमालेका कार्यकर्ता कब्जा गर्न खाजेपछि पार्टी विघटन भएको बताए। 

‘पार्टी एकीकरणको समयमा प्रचण्डले तत्कालिन एमालेका साथीहरुलाई आफ्नै पार्टीको विपक्षमा उभिन उक्साने काम गरिरहनु भयो,’ उनले भने, ‘प्रचण्ड कमरेड अन्तरविरोधका खेलाडी हुन्।’ 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले माओवादीसँग एमालेले एकता गर्दा पार्टी बन्ध्याकरणको स्थीतिमा पुगेको बताए। 

‘मओवादीको आफ्नो विचार, संगठन समाप्त भएपछि केही एमालेका नेताहरुको बुई चढेर प्रचण्डले पटकपटक पार्टी अध्यक्षमाथि आरोप लगाए,’ पोखरेलले भने, ‘२०७७ साल कार्तिक २८ गते केपी ओलीमाथि लगाइएको आरोप पत्र इतिहासमा एउटा षडयन्त्र दस्तावेज भएको छ।’

सोही कार्यक्रममा प्रेस चौतारी मोरङले स्थापना गरेको शालिग्राम–मन्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन्।

उक्त पुरस्कार कारोना महामारीका कारण दुई वर्षदेखि वितरण हुन सकेको थिएन्।

२०७७ सालको यज्ञराज शर्मा र २०७८ को लिलाराज भट्टराईलाई पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी २१ हजार रहेको छ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईँटेल, प्रदेश १ का अध्यक्ष अविजाल विष्ट, पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजीव खनाल लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित मिति: : 2022-07-06 19:26:00

प्रतिकृया दिनुहोस्