यार्तुङमा जाँदा चारपाँग्रेले जब ठिनीमा लगेर ब्रेक लगायो

साढे दुई वर्षअघि मुस्ताङ यात्रामा थिएँ।

यार्तुङ मेलाको छेकोमा मुस्ताङ जाने मौका जुरेको थियो।

खेतीपाती सकाएर अन्न भित्राउने यामलाई मुस्ताङीहरु यार्तुङ पर्वका रुपमा मनाउँदा रहेछन्। कोरोनाकाल भन्दा ठ्याक्कै एक वर्षअघि थियो क्यार। असार, साउनकै बेला थियो।

म मात्रै थिइनँ। जम्बो टोली नै थियौं। अहिले अर्काइभमा खोज्दै जाँदा यात्राका यि सम्झनाहरु भेटिए।

पोखराबाट प्लेन चढ्दा बिहानको ९ बज्न आँटेको थियो। मलाई ठ्याक्कै समय याद आएन। प्लेन उड्दैन कि भन्दा भन्दै। धन्न, उड्यो। बिहानैदेखि पानी परिरहेको थियो। मौसम पनि खराब थियो। नत्र त्यो दिन मुस्ताङ जान नपाइने रहेछ। र, यो ब्लग लेख्न पनि नपाइने।

प्लेन चढेर मुस्ताङ पुगियो। चिलगाडीमा पहिलो पटक चढेको थिएँ। अलिअलि रोमाञ्चित पनि भइरहेको थिएँ। कताकता त्यै भित्तामा चिलगाडी ठोक्किने पो हो कि भनेर डर पनि लागिरहेको थियो।

जोमसोम विमानस्थलमा चिलगाडीले सफलतापूर्वक अवतरण गर्‍यो। ल्यान्ड गर्‍यो। फुत्तफुत्त झोला बोक्दै बाहिर निस्कियौं। मख्ख, छक्क, दंग सबै पर्‍यौं।

जोमसोम एअरपोर्टमा सफलतापूर्वक अवतरण गरिसकेपछि बाहिरपट्टी गेटमा चारपांग्रे हामीभन्दा पहिले नै पिक अप गर्न रेडी भएर बसेको रहेछ। हामी पनि फाटाफट चारपाँग्रेमाथि विराजमान भयौं। चारपाँग्रे अघि बढ्न थाल्यो। स–स्याना बुँट्यान बाहेक कही कतै अलिकति पनि एकथोपा पनि हरियाली नदेखेर म गम खाँदै तिन छक परि रहेको थिएँ। दंग परिरहेको थिएँ।

त्यो चारपाँग्रेले ठिनी भन्ने गाउँमा पुगेर ब्रेक लगायो। अघि जसरी चँढेका थियौं। त्यसैगरी फुत्तफुत्त बाहिर निस्कियौं। त्यहाँ भव्य स्वागतका लागि पूर्वतयारी भएको रहेछ। भव्य स्वागत ग्रहण गर्‍यौं।

पोखराबाट भुँडीमा पानी पनि नहुलि निस्केको हुनाले हुनुपर्छ। पेटमा शित युद्ध चल्न थालेको थियो।

खाना तयार हुँदै रहेछ।

त्यतिञ्जेल हामीलाई नुन चिया र हालु ज्युनार गर्नका लागि दिइयो। कपाकप आलु ज्युनार गरेर नुन चिया ग्रहण गरियो। एकै छिनपछि खाना पनि ग्रहण गरियो।

खाना ज्युनार गरिसकेपछि एकैछिन आराम फर्माइस गर्न लगाइयो। सबैजना बेडमा डङरङ लम्पसार पर्‍यो। कोही निदायौं। कोही मुहार पुस्तिकातिरै व्यस्त भयौं। त्यहाँ हामीले करिबन २ घण्टा आयु छोट्यायौं।

२ घण्टा आयु छोट्याए पछि ठिनीमै अवस्थित ११ सय वर्ष पुरानो कुछब तेरङा गुम्बाको अवलोकन गर्‍यौं। ऐतिहासिक किंवदती पनि सुन्यौ। अच्चम। तिनछक्क। दंग पर्‍यौ।

तपाईंलाई थाहै छ। परिवारको माइलो छोरा गुम्बालाई चढाइन्छ। आजकाल जेठा माइला, साइला, काइला, राइला, ग्वाइला, ठाइला आदी। इत्यादी शब्द लोप हुने उपक्रममा छन्। एक,दुई वटा भन्दा बढी सन्तान उत्पादन हुनै छाडे। त्यो गुम्बामा पनि माइलाको कमी भएको रहेछ।

गुम्बालाई हेरिसकेपछि मुस्ताङ र मनाङ जोड्ने निर्माणाधीन मोटरेबल बाटो हेर्न अलि माथिसम्म उक्लियौ। चार पाँग्रे अलिकति उकालो लागि सकेपछि त्यो भन्दा माथि जान सकेन। हामी त्यहीबाट फर्कियाैँ।

बेलुकीको खानापछि पाहुनाको स्वागतमा नाँचगानको कार्यक्रममा पनि राखिएको रहेछ। रमाइलै भयो। त्यही रात ठिनीमै अवस्थित थकाली समुदायको भेषभुषा, रहनसहनका बारेमा जानकारी पाइने संग्रहालय पनि अवलोकन गर्‍याैँ।

भोलिपल्ट बिहानै चियापानपछि ठिनी पर्तिर ढुम्बाताल जाने भयौं।

ढुम्बाताल गजबको रहेछ। हिउँदयाममा तालको पानी जमेर काइदाको हुने गर्छ। तालमाथि ठमठम हिँड्न फाइदा हुने गर्छ। हामी जाँदा भने ढुम्बा ताल शान्त थिइन्। सायद, हाम्रो मन जत्तिकै।

एकैछिन फोटो सेसनपछि हामी फक्र्यौ। लगत्तै मुक्तिनाथ प्रस्थान गर्नु थियो। फर्किँदा ठिनीको एक गुफामा पनि छिरेका थियौं। गुफाको नाम मेरो माइन्ड रेकर्डमा रेकर्ड भएनछ। त्यसलाई यत्तिकै छोडिदिनोस्।

ठिनीलाई बाइबाइ गर्दै हामी मुक्तिनाथतिर प्रस्थान गर्‍यौं। बाटोभरि पनि उस्तै। हरियाली कही कतै देखिन्नथ्यो। बडो गजबको ठाउँ। मिस्टेरियस्। कही कतै बोट बिरुवा नहुँदा पनि जाडो भने उखुमै हुने। क्या काइदा !

मुक्तिनाथमा यति अग्ला बिल्डिङ। बाफ्रे १ माथि हेर्दा टोपी नै खस्ला जस्ता। बिंग उभिएका थिए। तिनले हामीलाई नै हेरि रहेका थिए। मुक्तिनाथमा कुन्नि के जाति होटलमा बास बस्ने भयौं। पोको पुन्तुरो थन्क्याएर भुजा ज्युनार गर्‍यौं। त्यो दिन मन्दिर उक्लेनौं। यार्तुङ मेला सुरु हुँदै थियो। त्यहाँ घोडचढी खेल हेर्‍यौं। तारो हान्ने। सबै थोक हेरेर त्यो दिन बितायौं।

भोलिपल्ट,

बिहानै मन्दिर उक्लिने कुरा भयो। 

मन्दिर जाउ न त के छ र, 

मन्दिर उक्लियौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी पधारेपछि इन्डियन टुरिष्टको फ्लो नै बढेको रैछ नि त मुक्तिनाथमा। बाफ्रे कति धेरै आएका हुन्छ।

याद रहोस्,

मुक्तिनाथ चढ्न हतार नगर्नुस्। तपाईंको श्वास फुल्लिन् सक्छ। किनभने त्यहीका बासिन्दालाई त केही हुँदैन। तपाईं हामी जस्तो बाहिरबाट गएकाहरुलाई अक्सिजनको कमी हुन सक्छ नि त। बिस्तारै चढ्नुस्, हतार किस लिए।

मुक्तिनाथको १ सय ८ धारमा नुहाउन मन थियो। तर, साह्रो जाडो रैछ नि हौ। मैले त सकिनँ। तपाईंहरुले सके नुहाए भो।

फोटो खिच्नुस्। फूलपाती चढाउनुस्।

एकै छिनको फोटो सेसनपछि त्यहाँबाट हामी फर्कियौँ।

बेलुकीको लागि गुँड जोमसोम जानु थियो। त्यसको भोलिपल्ट त बिहानै पोखरा फर्किनुपर्ने। त्यो चिसो मरुभूमि बहुत गजबको छ। बेलाबखत म सम्झिरहेको हुन्छु।

प्रकाशित मिति: : 2022-07-06 21:00:00

प्रतिकृया दिनुहोस्