'हामीसँग भएकै स्राेत साधनका राम्रा र मिठा परिकारहरु बनाउन सकिने रहेछ। तर, ज्ञान र सीप नहुँदा खेर गएकाे थाहै भएन। हामीले ग्राहकसँगकाे सम्बन्ध कस्ताे बनाउने भनेर जानेकै रहेनछाैं तर पर्यटक आउने मार्गमा हाेटल बनाएर बसेका छाैं।
ग्राहकलाई पाहुनाकाे रुपमा स्वागत गर्ने, सेवा गर्ने र फेरि पनि त्यही ठाउँमा आउँआउँ भन्ने बनाउन सक्दा नै बढीभन्दा आम्दानी लिन सकिने रहेछ। हाेटेलकाे काेठा सफा राख्ने, सफा खाने कुरा खुवाउने, सके प्राथमिक उपचारकाे व्यवस्था समेत गरिदिने हाे भने पाहुनाबाटै हाम्राे सेवाकाे प्रचार हुने रहेछ। पाहुना हामीलाई खाेज्दै आउँदा रहेछन्।'
पातरासी गाउँपालिका- ६ कि सूर्यदेवी बुढाले १० दिनसम्म साना हाेटेल तथा लज व्यवस्थापन सम्बन्धी तालिम लिएपछि सिकेका कुरालाई धाराप्रवाह रुपमा भनिन्। अब गाउँमा गएर आफूले सिकेको कुरा हेटेलमा लागू गरेर देखाउने उनकाे याेजना छ।
उनकाे जस्तै अनुभूति छ, चन्दननाथ- ३ खाेलीकाेटका गाेविन्द खत्रीकाे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअगाडि क्यान्टिन संचालन गरेर घर-घडेरी जाेड्न सफल व्यवसायीकाे रुपमा चिनिएका उनले फार्मेसी पढेका छन्।
लामाे समय क्यान्टिन संचालन गरेका उनले हाेटेल व्यवस्थापनबारे तालिम लिएका थिएनन्। तालिमबाट हाेटेल तथा लज व्यवस्थापनबारे धेरै ज्ञान लिन पाएकाे उनले बताए।
'जुम्लामा १५ वर्षपछि हाेटेल व्यवस्थापन सम्बन्धी तालिम संचालन भएकाे रहेछ। हामीले हाेटेल संचालन गरे पनि सेवा दिन विषयमा सिकेकै रहेनछाैं,' उनले भने, 'यतिबेला धेरै कुरा सिक्ने अवसर मिल्याे। अब व्यवहारमा लागू गरेर देखाउने हाे।'
जुम्लालगायत कर्णाली क्षेत्रका नागरिककाे रुखाे स्वभावका नै व्यवसाय फस्टाउन नसक्नुकाे मुख्य कारण भएकाे जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले बताए।
'हामी कहाँ आउने पर्यटकले यताका चर्चित खानाका परिकार, हाम्रो रहनसहन बुझ्न चाहन्छन्,' १० दिने तालिम समापन कार्यक्रममा बाेल्दै उनले भने, 'ग्राहक फर्किने गरी व्यवस्थापन गर्न सक्नु, मुस्कानसहितको सेवा दिनसक्नु हाम्रो दायित्व हाे भनि सम्झिनुपर्छ। अनि मात्र पर्यटक खुसी हुन्छन्। उनीहरु खुसी हुन सके मात्रै हामीले राम्राे आम्दानी लिन सक्छाैं।'
अहिले आफूले गरेकाे छु भनेर मात्रै नहुने भई अरुले पत्याइदिनुपर्ने समय भएकाले अरुले पत्याइदिने गरी सेवा दिनसक्नु नै सफल व्यवसाय भएकाे प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन्।
'जुम्ला हाेटेल व्यवसायकाे उच्चा सम्भावना भएकाे ठाउँ हाे। यस्ताे ठाउँमा हामीले सिफारिस गर्न याेग्य हाेटेल हुनुपर्छ,' उनले भनिन्, 'पर्यटकलाई फेरि–फेरि आउने वातावरण बनाउन सक्नुपर्छ। खाली चाउचाउ बेचेर हाम्राे प्रगति हुँदैन।'
तालिम सामाजिक विकास कार्यालय जुम्लाकाे आर्थिक सहयोग र गाे कर्णाली टुर्स एण्ड ट्राभल्स प्रा.लि.काे सहजिकरणमा संचालन भएकाे थियाे भने प्रशिक्षककाे व्यवस्था हाेटेल व्यवस्थापन सम्बन्धी एकमात्र सरकारी प्रतिष्ठान नाथुमले गरेकाे थियाे।
प्रशिक्षणका नाथुमले जनशक्ति उपलब्ध गराउने भएपछि मात्रै तालिम संचालन गर्ने तयारी भएकाे सामाजिक विकास कार्यालयका प्रमुख तुलराज चाैलागाइले बताए।
'अहिले जताततै मैदाजन्य खानेकुरा बाहेक अरु पाइदैन। लाेकल खाना खुवाउने हाेटल कमै छन्,' उनले भने, 'व्यवहारमा सुधार हुन सकेकाे हुनुपर्छ। व्यवहारमा परिवर्तनका लागि तालिम दिए उपयोगी ठहरिएला भनेर लगानी गरिएकाे हाे।'
हाेटेल व्यवसायीले किसान, उद्याेगीदेखि भारिया सबैलाई राेजगारी दिन सक्ने हुनाले आफू सेवा गर्ने ठाउँमा पुगेकाे सम्झिनुपर्ने मुख्य प्रशिक्षक अशाेक उपाध्यायले बताए।
'सबैले सबै सिक्न सक्दैन। जति सिकेकाे छ त्यति व्यवहारमा लागू गर्नु सकेमात्र हाेटेल व्यवासाय धेरै अगाडि बढ्न सक्छ,' उनले भने,'स्वस्थ्य र सुरक्षित खाना हुनुपर्छ। नेपाल उर्जा र पर्यटनकाे उच्च सम्भावना भएकाे देश हाे। सेवा गरे अनुसारकाे शुल्क लिने भएकाे हुनाले आम्दानी पनि बढ्छ।'
कार्यक्रममा जुम्लामा पर्यटकलाई लक्षित गरेर हाेटेल स्नाेल्याण्ड संचालनमा ल्याएका व्यवसायी ललितजंग महतले आफ्ना अनुभूति सुनाए।
'२० वर्षअगाडि हामीलाई हाेटेल संचालन सम्बन्धी कुनै ज्ञान थिएन। त्यसबेला हामी २० दिन पाेखरामा गएर तालिम लिएका थियाैं,' उनले भने, 'हस्पिटालिटी हाम्राे सबैभन्दा ठूलाे चुनाैती हाे। आफूले नै सुरुवात गरेन भने कुनै पनि व्यवसाय अगाडि बड्न सक्दैन।'
१० दिने तालिममा २६ जना सहभागी थिए। सहभागी सबै कुनै न कुनै माध्यमबाट व्यवसायमा लागेकाे हुनाले आफ्नाे व्यवसाय चुस्त बनाउने विश्वास लिइएकाे महतले थपे।